उदार राजतन्त्र, अनुदार तालिवानतन्त्र

उदार राजतन्त्र, अनुदार तालिवानतन्त्र

ब्रिटिसको उद्देश्य अफगानिस्तानलाई कब्जा गर्नेभन्दा पनि अफगानिस्तानमा रसियाको प्रभाव पर्न नदिने रणनीति थियो।


मध्य एसियाको प्रवेशद्वार मानिने अफगानिस्तानसँग अशान्त इतिहासको कालखण्ड छ। साम्राज्यवादी शक्तिहरूको आक्रमणविरुद्ध प्रतिरोध अफगानीहरूको पहिचान मानिन्छ। बाह्य आक्रमणविरुद्ध एक भएर लड्ने र त्यसमा विजय हासिल गरेपछि एकअर्काविरुद्ध लडेर पुनः बाहिरी हस्तक्षेप निम्त्याउने अफगानीहरूको अर्को दुःखद् पाटो पनि छ। ३३० बीसीमा अफगानिस्तान कब्जा गरेका प्राचीन ग्रिकका सम्राट् अलेक्जेन्डर द ग्रेटदेखि तेह्रौं  शताब्दीका मंगोल सम्राट् चंगेज खानले अफगानी भूभागलाई कब्जा गरेका थिए। दुरानी वंशका प्रथम सम्राट् अहमद साह दुरानीले १७४७ मा आधुनिक अफगान राष्ट्रको स्थापना गरेका थिए। अहमद साहले मर्नुअघि छोरा तैमुर साहलाई लेखेको चिठीमा भनेका थिए, ‘विदेशीहरूलाई कहिल्यै कुनै अधिकार र बाटो नदिनु। यदि तिमीले थोरै अधिकार र बाटो दियौं भने तिमीले आफ्नै हातले जनताको विनाशका लागि बाटो खोल्नुसरह हुनेछ।’

प्रतिरोध अफगानी राष्ट्रवादको पर्याय बनेको कारणले नै कब्जा गर्न गएका शक्तिशाली साम्राज्यहरू हार व्यहोरेर फर्किएका छन्। भारतको विशाल भूगोललाई उपनिवेश बनाएका ब्रिटिसले सन् १८३९ देखि १९१९ सम्म झन्डै एक शताब्दीका युद्ध गर्दा पनि अफगानिस्तानलाई पूर्णरूपमा कब्जा गर्न सकेन। सन् १९७९ अफगानिस्तान छिरेको सोभियत युनियनको सेना एक दशकको युद्ध लडेर १९८९ मा खाली हात फर्कियो। पछिल्लो पटक आतंकवादविरुद्धको लडाइँ भन्दै २००१ मा अफगानिस्तान पसेको अमेरिकी सेना दुई दशकपछि घर फर्किएको छ। धेरैले यसलाई भियतनाम युद्धपछिको अमेरिकाले व्यहोरेको नराम्रो हार भनेका छन्।

साम्राज्यहरू माथि जित हासिल गरेका अफगानीहरू आन्तरिक राजनीतिक खिचातानी, शक्ति संघर्ष र धार्मिक अतिवादका कारण आफैंसँग पटकपटक हारेका छन्। ब्रिटिसले अफगानिस्तानमाथि तीन पटक आक्रमण गरेको थियो। सन् १८३९ देखि १८४२ मा भएको पहिलो एङ्ग्लो अफगान युद्धमा उसले नराम्रो हार व्यहोरेको थियो। सन् १८७८ देखि १८८० मा भएको दोस्रो युद्धमा कन्दहारलगायतका केही भाग कब्जा गर्न सफल भएको थियो। उसले आफूले भनेको मान्ने राजा अमिर अब्दुर रहमान खानलाई सत्तासीन गरायो। ब्रिटिसको उद्देश्य अफगानिस्तानलाई कब्जा गर्नेभन्दा पनि अफगानिस्तानमा रसियाको प्रभाव पर्न नदिने रणनीति थियो। ब्रिटिसले शासन अमिरले गर्ने तर विदेश नीति आफूले भनेबमोजिम हुने सर्त राख्यो र अमिर अब्दुर रहमाल खानले त्यसै गरे।

मुजाहिद्दिन लडाकुहरूले नजिबुल्लाहलाई सत्ताच्युत गरेपछि उनीहरूको साझा शत्रु रहेन। सत्ताको लालच, नेतृत्वको महत्त्वकांक्षा, फरक जातीय र आदिवासी पृष्ठभूमिका आधारमा उनीहरू विभाजित भए।

१८७९ नोभेम्बर ३० मा बेलायती पत्रिका पञ्चमा प्रकाशित जोन टनियलको कार्टुनले खुब चर्चा पाएको थियो। उक्त कार्टुनको बीचमा अफगानी अमिर उभिएका थिए। उनको दायाँतर्पm रसियालाई भालुको रूपमा र बायाँतर्फ बेलायतलाई सिंहको रूपमा चित्रण गरिएको थियो। क्याप्सनमा अफगानी अमिर ‘मलाई मेरा मित्रहरूबाट बचाऊ’ भनिरहेका थिए। अफगानिस्तानले उत्तरतर्फको रसियन साम्राज्य र दक्षिणका ब्रिटिस साम्राज्यको वफरजोनका रूपमा काम गरेको थियो।

१९१९ मा अमिर अमनुल्लाह खानले ब्रिटिस साम्राज्यविरुद्ध स्वतन्त्रताको लडाइँ लडे। जितपश्चात् सन् १९१९ अफगानिस्तान, ब्रिटिस संरक्षित राष्ट्रबाट स्वतन्त्र राष्ट्र बन्यो। अमिर अमनुल्लाह खान उदार र प्रगतिशील राजा थिए। उनले बहुविवाहका विरुद्धमा अभियान चलाए। छात्राहरूका लागि शिक्षाको व्यवस्था गरे। महिलाका लागि समान हकका लागि काम गरे, महिलालाई सम्बन्धबिच्छेदको अधिकार दिए। स्त्रीहरूले बुर्काले शरीर ढाक्नै पर्ने कुरा इस्लाममा नलेखिएको भन्दै महिलालाई बुर्का लगाउन नपर्ने घोषणा गरिदिए। राजाको प्रगतिशील कदमहरूले इस्लाम खतरामा रहेको भन्दै राजाविरुद्ध धार्मिक कट्टरपन्थी समूहले विद्रोह गरे। गृहयुद्धको रूप लिएपछि राजा अमनुल्लाह भागेर ब्रिटिस इन्डियाको शरणमा गए।

सन् १९३३ मा मोहम्मद जाहिर साह राजा बने जो चालीस वर्षसम्म राजा भए। राजा जाहिर साहको कार्यकाल शान्तिपूर्ण र स्थिर थियो। फ्रान्समा अध्ययन गरेका जाहिर साहले संवैधानिक राजतन्त्रको व्यवस्था गरेर प्रधानमन्त्रीय पद्धतिको सुरुआत गरेका थिए। उनले महिलालाई समान शिक्षा, मताधिकार र राजनीतिक सहभागिताको अवसर दिए। सामाजिक पुनर्संरचना र आर्थिक विकासमा महत्वपूर्ण काम गरेका थिए। ६० को दशकमा अफगानिस्तानमा कम्युनिस्ट र इस्लामिक गरी आइडोलोजीको विकास भएको थियो। १९७३ मा कुनै समय जाहिर साहका मातहतमा प्रधानमन्त्री रहेका उनका चचेरा भाइ दाउद खानले सेना र कम्युनिस्ट पार्टी, पिपुल्स डेमोक्र्याटिक पार्टी अफ अफगानिस्तान (पीडीपीए) को सहयोगमा रक्तपातविहीन सत्तापलट गरी आफूलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गरे।

दाउदले अफगानिस्तानलाई गणतान्त्रिक देश त बनाए तर संसद् र न्यायपालिकालाई विघटन गरेर तानाशाहका रूपमा शासन चलाउन थाले। तानाशाह भए पनि उनले सामाजिक र आर्थिक पुनर्संरचना गरे। भारत र अमेरिकासँग पनि सम्बन्ध सुधार गरे। शीतयुद्धको समयमा दाउद खानले असंलग्न परराष्ट्रको नीति अवलम्बन गरे जुन रसियालाई मन परेको थिएन।  १९७७ मा दाउद खानले आफ्नै नेतृत्वको नेसनल रिभोलुसनरी पार्टी बनाए। इस्लामिक कट्टरपन्थीहरूलाई खुसी पार्न नयाँ संविधान पनि ल्याए। दाउद खानले कम्युनिस्ट पार्टीबाट खतरा देखेपछि सत्तामा रहन उनीहरूको सफाया गर्ने गलत कदम चलाए।

१९७८ अप्रिल १७ मा पीडीपीएका ट्रेड युनियन नेता मिर अकवर खिबरको अज्ञात समूहद्वारा हत्या भयो। पीडीपीएले सोभियत युनियन र सेनाको सहायतामा दाउद खानविरुद्ध सत्ता ‘कु’ गरे र उनी मारिए। त्यो घटनालाई सौर क्रान्ति भनिन्छ। सौर क्रान्तिपछि पीडीपीएका नेता नुर मोहम्मद तराकी राष्ट्रपति बने। उलीे एक वर्षको अन्तरालमा भूमिसुधार, साक्षरता अभियान, दाइजो प्रथाको अन्त, न्यायिक अधिकारलाई धार्मिक नेता मुल्लाहबाट नागरिक अदालतमा स्थानान्तरण, कमरा प्रथाको अन्त्यजस्ता कयौं क्रान्तिकारी काम गरे। पीडीपीएभित्र सहरी मध्यमवर्र्गीय राष्ट्रवादी समूहको प्रतिनिधित्व गर्ने पर्छम खेमा र ग्रामीण निम्नवर्गीय समूहको प्रतिनिधित्व गर्ने खल्क खेमाका बीचको शक्ति संघर्ष बढ्यो।

६० को दशकदेखि समानान्तर रूपमा विकास हुँदै गएको दुई आइडोलोजी इस्लाम र कम्युनिस्टका बीचमा पनि कडा संघर्ष हुन थाल्यो। पीडीपीएले ल्याएको आमूल परिवर्तनले परम्परागत धर्म र संस्कृतिमा प्रहार भएको भन्दै धार्मिक कट्टरपन्थी समूहले सरकारविरुद्ध गुरिल्ला युद्धको घोषणा गरे। आपसी शक्ति संघर्षका कारण पर्छम खेमाका नेता हफिजुल्लाह आमिनको प्लटिङमा मोहम्मद तराकीको हत्या भयो। राजनीतिक अन्योलतामा फस्यो। यस्तो अवस्थामा इस्लामिस्ट समूहले सत्ता कब्जा गर्नुभन्दा पहिले सोभियत संघले हस्तक्षेप गर्‍यो।  १ लाख २० हजार सोभियत सेना अफगानिस्तान पस्यो। अफिजुल्लाह अमिनको हत्या गरी अर्का कम्युनिस्ट नेता वव्राक करमललाई सत्तामा बसायो। सोभियत युनियनको अफगानिस्तानमाथिको आक्रमणको कारण आइडोलोजिकल र भूराजनीतिक थियो, कमजोर बन्दै गएको कम्युनिस्ट विचारधाराको वर्चस्व कायम राख्ने र अमेरिकाको प्रभावलाई रोक्ने।

कार्टरपछि राष्ट्रपति बनेका रोनाल्ड रेगनले त झन् अपरेसनलाई झन तीव्रता दिए। पाकिस्तानमार्फत हातहतियार, तालिम र आर्थिक सहयोग गर्न थाले। सोभियतविरुद्धको लडेको मुजाहिद्दिनलाई सघाउन अमेरिकाले झन्डै एक अर्ब अमेरिकी डलर खर्च गर्‍यो। अमेरिकासँगै पाकिस्तान, साउदी अरब र अन्य अरबिक राष्ट्रहरूले पनि मुजाहिद्दिनलाई सहयोग गरे। सन् १९८८ अप्रिलमा सोभियत राष्ट्रपति मिखाइल गोर्भाचोभले अफगानिस्तानको युद्धमा जित हासिल नहुने निष्कर्ष निकाल्दै प्रो सोभियत राष्ट्रपति मोहम्मद नजिबुल्लाहलाई सत्ता सुम्पेरसेना फिर्ता बोलाए। अमेरिका र सोभियत संघको सहभागितामा पाकिस्तान र अफगानिस्तानका बीचमा अफगानिस्तानको स्थितिको व्यवस्थापन गर्न जेनेभा सम्झौतामा हस्ताक्षर भयो।

सोभियत सेनाको वापसीपछि पनि कठपुतली सरकार भन्दै मुजाहिद्दिनका विभिन्न समूह नजिबुल्लाहविरुद्ध लडिरहे। रसिया शक्तिशाली रहुन्जेल नजिबुल्लाहको सत्ता पनि टिक्यो तर सन् १९९१ मा रसियाको पतन भएपछि उनको सरकार पनि ढल्यो।  सन् १९९१ मा शीतयुद्धको विधिवत् अन्तपछि अफगानिस्तान अमेरिकी विदेश मामलाको प्राथमिकतामा परेन। उसले मुजाहिद्दनलाई दिँदै आएको सम्पूर्ण सहयोग बन्द गर्‍यो। आणविक हतियार विकास गरेको थाहा पाएपछि अमेरिका र पाकिस्तानको सम्बन्धमा पनि केही दूरी बढ्यो। 

मुजाहिद्दिन लडाकुहरूले नजिबुल्लाहलाई सत्ताच्युत गरेपछि उनीहरूको साझा शत्रु रहेन। सत्ताको लालच, नेतृत्वको महत्वाकांक्षा, फरक जातीय र आदिवासी पृष्ठभूमिका आधारमा उनीहरू विभाजित भए। एकआपसमा भिड्न थाले। उनीहरूको आपसी शक्ति संघर्षले गृहयुद्ध सुरु भयो। काबुल रणभूमिमा परिणत भयो। विभिन्न समूहका मुजाहिद्दिन र तिनले प्रतिनिधित्व गर्ने जातीय समूहका बीचमा संघर्ष भइरहँदा कट्टरपन्थी धार्मिक विद्यार्थीको एउटा समूह बन्यो। धार्मिक नेता, मुल्लाह र स्कलरहरूको त्यो समूहले अफगानिस्तानलाई अति कडा इस्लामिक शासनले मात्र एकता र स्थायित्वमा बाँध्न सक्ने निष्कर्ष निकाल्यो। सन् १९९४ मा तालिवानको जन्म भयो। इस्लामिक कानुनलाई संस्थागत गर्ने, देशलाई युद्धमुक्त गराउने, सामाजिक पुनर्संरचना गर्ने, भ्रष्टाचार उन्मूलन गर्ने र राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्ने उद्देश्यसहित फतवा जारी गर्‍यो। कान्दहार कब्जाबाट यात्रा सुरु गरेको तालिवानले दुई वर्षभित्रमा सारा अफगानिस्तान कब्जा गर्न सफल भयो। मुल्लाह मोहम्मद ओमर तालिवानको सर्वोच्च नेता बने। अफगानिस्तानलाई इस्लामिक इमरेट्स अफ अफगानिस्तान नामकरण गरियो।

तालिवानले अफगानिस्तानलाई मध्ययुगीन अँध्यारो सुरुङतिर धकेल्यो। कठोर सरिया कानुन लागू गरेर महिलामाथि चरम दमन गरियो। कुनै पुरुषको साथ बेगर महिलालाई घरबाट बाहिर निस्कन बन्देज लगाइयो। महिलाले बुर्काले अनिवार्य शरीर ढाक्नुपर्ने, १० वर्षभन्दा बढी उमेरका छोरीहरूले स्कुल जान नपाउने भए। बाहिर काम गर्न प्रतिबन्ध लगाइयो। महिलाले व्यभिचारलगायतका कुनै अपराध गरेको थाहा पाइएमा सार्वजनिक स्थलमा ढुंगाले हानेर मारिन थालियो। पुरुषका निम्ति पठान ड्रेस र लामो दाह्री अनिवार्य गरियो। तालिवान सरकारले टेलिभिजन, चलचित्र हेर्नदेखि फुटबल, चेसलगायतका खेलहरू खेल्नमा प्रतिबन्ध लगायो। विदेशीको आगमनमा रोक, एनजीओ, तथा संयुक्त राष्ट्रसंघका कार्यालयहरू समेत बन्द गर्‍यो।

तालिवानीहरू पास्तुन राष्ट्रवादवाट प्रेरित अतिवादी सुन्नी मुस्लिमहरू थिए। उनीहरूले हजारा समुदायका सिया मुस्लिमको हत्या गर्न थाले। अल्पसंख्यक क्रिश्चियनहरूलाई उत्पीडन गर्न थाले। हिन्दूहरूलाई मुस्लिमबाट अलग राख्न पहिचानपत्रको व्यवस्था गरे। अफगानिस्तानको सांस्कृतिक महत्व बोकेको छैटौं शताब्दीको वमियानस्थित बुद्धका शालिकहरूलाई भत्काए। तालिवानको अत्याचारविरुद्ध पूर्वमुजाहिद्दिनका विभिन्न इस्लामिक संगठनहरूको गठबन्धन नर्देन एलाइन्सले प्रतिरोध गर्‍यो। तर, तालिवानसँग हार्‍यो। त्यसका नेता अहमद साह मसुद मारिए। सन् १९९६ देखि २००१ सम्मको तालिवानको शासनकाललाई सारा विश्वले विरोध गरिरहँदा पाकिस्तान, साउदी अरब र संयुक्त अरब इमिरेट्सले भने समर्थन गरेका थिए।

क्रमश...


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.