गाउँघरमा सक्रिय रेडक्रसकर्मीहरू
तानसेन : स्वस्थ्य, सफा, सुन्दर बनाउँदै आम मानिसलाई खुसी र निरोगी बनाउन रेडक्रर्मीहरु पाल्पाको गाउँमा खटिएका छन्। स्वच्छ सफा खानेपानीको व्यवस्था नभएको गाउँमा स्वच्छ खानेपानीको व्यवस्था गर्दै घरमा सरसफाईमा रेडक्रसकर्मीहरु पाल्पाको गाउँमा खटिएका हुन्।
गाउँमा न्युन आयश्रोत भएका, गरिव, अशिक्षित, दलित र जनजाती परिवारहरुको सहयोगको लागी रेडक्रसकर्मीहरु खटिदै आएका छन्। पाल्पाको दोभान र कचल गाउँका विभिन्न टोलमा पुगेर विगत दुई वर्षदेखी पाल्पाका रेडक्रसकर्मीहरु सरसफाई देखी जनचेतननाको काममा परिचालित भएका छन्।
अष्ट्रियन रेडक्रसको आर्थिक सहयोग, केन्द्र रेडक्रसको समन्वय र जिल्ला रेडक्रस पाल्पाको व्यवस्थापनमा तिनाउँ गाउँपालिका १ कचल र २ दोभानका १ हजार ६ सय ८० घरपरिवारमा समावेशी खानेपानी, सरसफाई तथा स्वास्थ्य प्रवद्धन कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटी पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम कार्कीले बताए।
स्वास्थ्य सम्वन्धी कार्यक्रम पर्चा पम्पलेट बोकेर रेडक्रमीहरु दोभान र कचलको घरघरमा पुगेका छन्। दुवै गाउँको खानेपानी सुविधा नभएका १ सय ८० घरपरिवारमा एक घर एक धारा निर्माण गरी वितरण भएको छ। खोलाको पानीमा निर्भर भएका दोभान र कचलका गरिव जनताहरु निशुल्क धारा आएपछि खुसी भएका छन्।
स्वच्छ खानेपानी, सफा शौचालय, जुठा तथा फोहोर भाँडाकुडा माझ्ने तथा सुकाउने तरीका र स्थानको बारेमा रेडक्रसकर्मीहरुले सहयोग गरेको रेडक्रस पाल्पाका सुपरभाईजर वल बहादुर सिंह ठकुरीले बताए। रेडक्रसकर्मीले घर-घरमा मात्र होईन वालवालिकाहरुलाई लक्षित गरी विद्यालयहरुमा पनि सफा पानी र शौचालयको निर्माण गरेका छन्।
घर-घरमा निर्माण भएका शौचालयको प्रयोग, शौचालय प्रयोगपछी सावुनपानीले मिची-मिची हातधुने तरिकाले गाउँनै पुर्ण सरसफाई उन्मुख भएको छ।
शौचालयको सही प्रयोग र नियमित सावुनपानीले हातधुनै अभियानकै कारण पछिल्लो दुई वर्षयता झाडापखालाजन्य रोगहरु कमी आएको तिनाउँ गाउँपालिका दोभान नुवाकोटकी हरिकला कुमालले बताईन। शौचालय नभएका गरिव परिवारमा शौचालय निर्माणदेखी मर्मत सम्भार सम्मको सहयोग रेडक्रसकर्मीले गरेका छन्।
रेडक्रसकर्मीहरुले परियोजनामार्फत सरसफाई मात्र होईन अति न्युन आम्दानी भएका घरपरिवारको छनौट गरी आम्दानीका श्रोतहरुको व्यवस्थापन गरेका छन्। परियोजनाले १६ घरपरिवारमा बंगुर, ७ घरपरिवारमा बाख्रा, ३ घर परिवारमा स्थानीय जातका कुखुरा, युवती तथा महिलाको लागी सिलाई कटाई तथा श्रृङ्गार पसल सञ्चालनको लागी सहयोग गरेको छ।
परियोजना सञ्चालनसँगै कोरोना सक्रमणले कुनै गाउँ घरपरिवार अछुतो नरहेको अवस्थामा जनचेतना, माईकिङ्ग, प्रर्चा प्लेट संगै माक्स, सेनेटाईजर, फोहरोे व्यवस्थापनको लागी बाल्टी वितरण गरी कोभिड नियन्त्रणमा समेत रेडक्रसकर्मी जुटेका छन्।
कोरोनाको कारण कम आम्दानी भएका गरिव, जनजाती तथा दलित परिवारका दिर्घरोगीहरुको औषधी तथा पोष्टिक आहारको खरिदको लागी परियोजनाले दुई दुई हजार रुपैयाँ नगद सहयोग गरेको छ। विमा नभएका, अस्पतालको विरामी कार्डको आधारमा ५० वर्ष उमेर पार गरेका दिर्घरोगीहरु लाई परियोजनाले औषधी खरिदको लागी रकम सहयोग गरेको हो ।
कचल र दोभानका २ सय दिर्घरोगीहरुलाई दुई हजारका दरले औषधी खरिदको लागी रकम वितरण गरिएको रेडक्रस पाल्पाका लेखापाल सुवास तामाङले बताए।
रेडक्रस पाल्पाले विभिन्न अस्पताल, सामुदायिक अस्पताल तथा गाउँघर क्लिनिक तथा स्वास्थ्य चौकीहरुमा माक्स, सेनेटाईजर, पञ्जा, पिपिई सेट, ज्वरो नाप्ने थर्माेमिटर, अक्सिजन प्लस लगायतका स्वास्थ्य सामाग्रीहरु सहयोग गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !