मुनि नदी, माथि सहर

मुनि नदी, माथि सहर

काठमाडौं : कमलादीको काठमाडौं प्लाजा पछाडि क्षेत्रबाट नारायणहिटी दरबारसम्म टुकुचा नदी गायब छ। जहाँ नदी अतिक्रमण गरी त्यसमाथि ठूलाठूला भवन, व्यापारिक प्रतिष्ठान, घर ठड्याएका छन्। यस्ता सयौं रोपनी सार्वजनिक सम्पत्ति हडपेर व्यक्तिले आफ्नो नाममा पारेका छन्।

काठमाडौं महानगरपालिका–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ हात्तीसार क्षेत्रमा मात्रै ५० भन्दा बढी ठूला घर टुकुचामाथि बनिसकेको बताउँछन्। लक्ष्मी बैंक, जयनेपाल हल, सिद्धार्थ बैंक, सन नेपाल लाइफ इन्स्योरेन्सलगायत दर्जनौं व्यापारिक प्रतिष्ठानका भवन टुकुचामाथि ठडिएका छन्।

हात्तीसारमा भेटिएका चित्रबहादुर श्रेष्ठले टुचुका ‘अन्डरग्रान्ड’ बगिरहेको सुनाए। ‘हात्तीसार क्षेत्रमा टुकुचा देखिँदैन। यहाँ मुनि–मुनि गएको छ’, श्रेष्ठले भने। ‘अरू त यहाँ केही पाउनु हुन्न। यो मंगलभन्दा तल टुकुचा लगिएको छ। माथि त केही  अस्तित्वमा नै देखिँदैन’, टुकुचा कहाँ छ भन्ने प्रश्नमा उनले भने, ‘बाहिरबाट त कहाँ देखिनु ? यहाँ त घर मात्रै देख्नुहुन्छ। यहाँ टुकुचामाथिको सबै जग्गा अतिक्रमण भइरहेको छ।’  

नारायणहिटी संग्रहालय (पुरानो राजदरबार) क्षेत्र। उत्तरतर्फको किया मोटरको सोरुम छेउबाट टुकुचा नदी संग्रहालय क्षेत्रमा छिरेको छ। संग्रहालयभित्र कुलोजस्तो मात्र रहेको जनाइएको छ। त्यहाँबाट काठमाडौं प्लाजाको पछाडि आधा किलोमिटरभन्दा बढी क्षेत्रसम्म यो नदी नै गायब छ।

नारायणहिटी दरबारको उत्तरतर्फ किया मोटरको सोरुमबाट टुकुचा छिरेको छ। दरबारभित्र कुलोजस्तो मात्र रहेको जनाइएको छ। त्यहाँबाट काठमाडौं प्लाजाको पछाडि आधा किलोमिटरभन्दा बढी क्षेत्रसम्म नदी गायब छ। 

मैले आफू मन्त्री भएका बेला टुकुचाको स्वरूपमा केही गर्न सकिन्छ कि भनेर प्रयास गरेँ। टुकुचाको नापी नक्सा नै थिएन। खोज्न लगाएँ। मैले नै ड्रोनबाट फोटो खिच्न लगाएँ। अध्ययन गरेर प्रतिवेदन तयार पारिएको छ।’

रामवीर मानन्धर, पूर्वराज्यमन्त्री

नारायणहिटी अगाडि भेटिएका उत्तम पौडेलले यो क्षेत्रमा आफूले खोला नदेखेको बताए। ‘मैले त यता टुकुचा देखेको छैन’, पौडेलले भने, ‘नारायणहिटीको उत्तर ढोकानजिक कियाको सोरुमबाट पसेको र काठमाडौं प्लाजाको पछाडि निस्किएको चाहिँ देखेको छु। बीचमा कहीँ पनि देखेको छैन। भूमिगत रूपमा लगिएको छ रे भन्ने सुनेको छु। लक्ष्मी बैंक तल त छ रे।’ 

दिनेशराज पन्त, इतिहासविद् 
काठमाडौंका लागि टुकुचा एक सभ्यता हो। यसको नाममै विशेष महत्व छ।  नेवारीमा तुखुचा र संस्कृतमा इच्छुमति भनिन्छ। ‘तु’ भनेको उखु, ‘खु’ भनेको नदी र ‘चा’ भनेको सानो वा छुद्र हो। अर्थात् यो नदीको अर्थ सानो उखु नदी हो। यो नदी जीवनदायनी नदी हो। हामी केटाकेटी हुँदा कलकल पानी आउँथ्यो। अतिक्रमणले नदी खुम्चिएको छ। प्रदूषित भएको छ। 

यस्तै, गैरीधारा, बालुवाटार क्षेत्रमा पनि नदी देखिँदैन। बालुवाटारमा भेटिएकी एक प्रहरी सहायक निरीक्षकले यो क्षेत्रमा टुकुचामाथि ठूला घर, बैंक, व्यापारिक प्रतिष्ठान बनेको बताइन्। उनले नाम नखुलाउने सर्तमा भनिन्, ‘यहाँ त अलिकति देखिन्छ। अगाडि छैन। खोजेर भेट्नु हुन्न।’

सिंहदरबार पुलमुनिबाट ढलजस्तै गरी टुकुचामा मिसाइएको फोहोर पानी निस्किरहेको देखिन्छ। त्यहाँबाट अगाडि भृकुटीमण्डप प्रदर्शनीमार्गमा दुवैतिर अतिक्रमण भई कुलाको आकारमा परिणत भएको छ। बागबजारको शंकरदेव क्याम्पसछेउ बिरुप अवस्थामा छ। बागबजार, प्रज्ञा भवन छेउबाट कमलादीको काठमाडौं प्लाजाको पछाडिसम्म भने टुकुचा देखिन्छ। 

नरोत्तम वैद्य, प्रदेशसभा सदस्य
जनसंख्या वृद्धिसँगै अव्यस्थित बसोबासले नदी अतिक्रमण हुँदै आएको छ। कतिपय स्थानमा अहिले पनि नदी जमिनमुनिबाट लगिएको छ। अर्थात् नदीको अस्तित्व नै छैन। यस्तो हँुदै गयो भने नदीको पूरै अस्तित्व समाप्त हुन्छ। अब यो नदी बढाउन राज्यको ध्यान केन्द्रित हुनुपर्छ। 

भरतलाल श्रेष्ठ, वडाध्यक्ष, काठमाडौं महानगरपालिका–१  
मेरै वडामा टुकुचाको अस्तित्व छैन। नदी नै गायब छ। खोलामाथिको जग्गा नै नापी कार्यालयले व्यक्तिको नाम दर्ता गराइदिएको छ। नापीकै त्रुटिका कारणले पनि टुकुचाको अस्तिस्व संकटमा परेको छ। महानगरपालिकाले पटक–पटक अतिक्रमण हटाउन र खोलामाथिको जग्गा खोज्ने प्रयास पनि नगरेको होइन। तर, त्यसले पूर्णता पाउन सकेको छैन। 

सम्पदाकर्मी सन्तु महर्जन काठमाडौंमा यो नदी कहाँ छ भनेर खोज्नुपर्ने अवस्था आएको बताउँछन्। ‘टुकुचा अहिले कहाँ नदी छ र ? खोला हुँदै कुलोजस्तो भएको छ’, महर्जन भन्छन्, ‘कतिपय ठाउँमा टुकुचा नै भेटिँदैन। अतिक्रमण भएर सकिसक्यो।’

वडाध्यक्ष श्रेष्ठ महानगरपालिकाले टुकुचा खोज्ने प्रयास गरेको पनि भूमाफियाका अगाडि केही सीप नलागेको सुनाउँछन्। उनका अनुसार टुकुचामाथिको जग्गा नापी कार्यालयले नै व्यक्तिका नाममा कायम गरिदिएको छ। नापी नक्सामा नदीको नामनिसाना नै छैन। 

महानगरपालिकाले २०६६ मा पहिलो पटक टुकुचाको गायब जग्गा खोज्ने प्रयास गरेको थियो। उसले टुकुचा खोज्न भन्दै २०७५ चैत २९ मा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्र पठाएको थियो। महानगरपालिकाले कित्ता नम्बर ४२२८, ४२२७, १७१० र १७११ मिचिएको जनाएको थियो । लक्ष्मी बैंक, एसबीएल डेभलपर्सका साथै केही व्यक्तिको नाममा टुकुचामाथिको जग्गा दर्ता भएको जनाइएको छ। अतिक्रमणकारी, माफिया, अतिक्रमित क्षेत्रका बासिन्दाको दबाबमा टुकुचा खोज्न समस्या भइरहेको जनप्रतिनिधि स्वीकार गर्छन्।

रवीन्द्र बोहरा, आयोजना प्रमुख, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति
टुकुचा बागमतीको सहायक नदी हो। हामीले अरू नदीजस्तै टुकुचामा दुवैतर्फ करिडोर बनाउने प्रयास गरिरहेका छौं। डीपीआर पनि तयार भएको छ। नदीका दुवैतिर जमिन मिचिएकाले करिडोर कायम गर्न सकेका छैनौं। करिडोर विस्तार गर्न नदीका दुवैतिर कम्तीमा २०/२० मिटर खाली हुनुपर्छ। टुकुचा नै खुम्चिएको छ। दुवै किनारमा खाली जमिन छैन।  

बागमतीका प्रदेशसभा सदस्य नरोत्तम वैद्य जनसंख्या वृद्धि र अव्यवस्थित बसोबाससँगै अतिक्रमण बढेको बताउँछन्। ‘पहिले खुला वातावरण थियो। नदीहरू स्वतन्त्र रूपमा आफ्नो बाटोमा बग्थे’, सांसद वैद्य भन्छन्, ‘बिस्तारै जनसंख्या बढ्यो। अव्यस्थित बसोबास भयो। अहिले टुकुचा यो अवस्थामा आएको छ।’ 

कहिलेदेखि भयो अतिक्रमण ? 
टुकुचा अतिक्रमण राणाकालदेखि नै हुन थालेको हो। त्यस बेला यो नदीको पश्चिम–दक्षिण मोहडाबाट दरबारमार्गसम्मको जग्गा एकै व्यक्तिको नाममा थियो। जसलाई लाल दरबार भनेर चिन्निथ्यो । उक्त दरबार वीर शमशेरले बनाएका थिए। त्यही बेला नारायणहिटीबाट कमलादीमा काठमाडौं प्लाजाको पछाडिसम्म नदीलाई  भूमिगत गरेको जनाइएको छ। 

वडाध्यक्ष श्रेष्ठ राणाकालमै टुकुचालाई जमिनमुनिबाट लगेको थाहा पाएको बताउँछन्। प्रजातन्त्र आएसँगै लाल दरबार मासियो। खोलामाथिको जग्गामा माफियाको नजर प¥यो। जग्गा टुक्रा–टुक्रा पारेर बेचियो। त्यसमाथि ठूलाठूला भवन बनाइयो। ‘खोला पुरिएको होइन, खोलामाथि नै घर बनाएका हुन्’, श्रेष्ठ भन्छन्। 

त्यसबेला भएको गल्तीलाई नापी कार्यालयले सदर गरिदिँदा नदी गायब भएको उनको ठहर छ। ‘नापी नक्सामा नै छैन टुकुचा’, उनी भन्छन्, ‘नारायणहिटी दरबारको कम्पाउन्डमा नदी खुला छ। यसपछि नारायणहिटी र नागपोखरीको बीचको सडक हुँदै जयनेपाल हलको मुनिबाट गएको छ।’ तर, जमिनमुनि कहाँ छ भनेर थाहा नहुने उनी बताउँछन्। भन्छन्, ‘एकै चोटी काठमाडौं प्लाजाको पछाडि मात्रै देखिन्छ। माथि छ, तल पनि देखिन्छ। तर, बीचमा छैन।’  

इतिहासविद् दिनेशराज पन्त राजधानीको जीवनदायनी नदीमा खेलवाड गरिएको बताउँछन्। आफूले बाल्मीकि क्याम्पस, कमलपोखरीको कृष्ण पाउरोटीनजिकको क्षेत्रमा कलकल पानी बगेको देखेको उनी सुनाउँछन्। ‘हाम्रो मामाघर डिल्लीबजारमा छ। केटाकेटीमा त्यहाँ जाँदा टुकुचामा कलकल पानी बगेको मैले नै कतिपटक देखेको थिएँ’, उनी भन्छन्, ‘वाल्मीकिमा पढाउन जाँदा पनि पानीको मुस्लो नै देखिन्थ्यो।’

काठमाडौंकै बासिन्दा रामवीर मानन्धरले आफू सहरी विकास राज्यमन्त्री भएका बेला टुकुचा संरक्षण गर्न २० करोड बजेट छुट्ट्याए। नदीको हराएको क्षेत्रको फोटो ड्रोनबाट खिच्न लगाए। ‘टुकुचाको स्वरूपमा केही गर्न सकिन्छ भनेर प्रयास गरेँ। टुकुचाको यथार्थ कुरा पनि पुस्तकमा समावेश गराएको छु। यो सबै मन्त्रालयमा छ’, पूर्वराज्यमन्त्री मानन्धर भन्छन्, ‘मन्त्रालयले कुनै काम सुरु गरेको छ वा छैन, मैले बुझेको छैन।’ प्रदेशसभा सदस्य वैद्य टुकुचा बचाउन राज्यले ध्यान दिनुपर्ने बताउँछन्।  

हात्तीसार क्षेत्रमा पनि टुकुचा नदी गायब छ। त्यहाँ ढलको मंगलभन्दा मुनि टुकुचा नदी बगेको स्थानीय बताउँछन्।

मध्यसहर डुबानको कारक टुकुचा  
सहरको मध्यभाग डुबान हुनुमा टुकुचा अतिक्रमण नै मुख्य कारक देखिन्छ। खोलालाई घरमुनि पारिएपछि डुबानको जोखिम उत्तिकै हुने स्थानीय बताउँछन्। ‘खोला मुनि–मुनि गएको छ। बाढी आउँदा ठूलो क्षति हुन सक्छ’, स्थानीय चित्रनारायण श्रेष्ठले भने, ‘पुतलीसडक क्षेत्रमा पानी पर्ने बित्तिकै डुबान हुनुको प्रमुख कारण नै टुकुचा अतिक्रमण हो। एकातिर जमिनमुनि छ, देखिने ठाउँमा पनि दायाँ–बायाँ पूरै अतिक्रमण भएको छ। खोलाले आफ्नो बाटो, धार खोज्दा ठूला दुर्घटना हुन सक्छ।’ 

७३ वर्षीय इतिहासविद् पन्तका अनुसार पहिला आठ दिनसम्म लगातार पानी पर्दा पनि डुबान हुँदैनथ्यो। ‘तर अहिले एकै दिन मुसलधारे पानी प¥यो भने डुबान भइहाल्छ’, पन्त भन्छन्, ‘यो नदीमा भएको छेडखानी नै हो।’ प्रकृतिमाथि खेलवाड हुँदा विपद्को सामना गर्नुपरिरहेको उनको ठम्याइ छ। 

करिडोर बनाउन ठाउँ अभाव
काठमाडौं उपत्यकामा नदीका दायाँ–बायाँ करिडोर सडक बनिरहेका छन्। टुकुचामा भने दुवै किनारा अतिक्रमणका कारण समस्या भइरहेको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख रवीन्द्र बोहरा नदी मिचिएका कारण टुकुचा करिडोर बनाउन नसकिएको बताउँछन्। करिडोर कायम गर्न दुवैतिर २०/२० मिटर हुनुपर्छ। नदी पनि कम्तीमा १० मिटर हुनुपर्छ। ‘तर धेरै ठाउँमा नदी अतिस्वमा नै छैन’, बोहोरा भन्छन्, ‘भएको ठाउँमा ३ देखि ८ मिटर मात्रै चौडा छ।’

संघीय राजधानी काठमाडौंको बीच भागबाट बग्छ टुकुचा। जुन काठमाडौंको सभ्यतासँग जोडिएको छ। संस्कृतमा ‘इक्षुमती’ र नेवारीमा ‘तुखुचा’ (उखु खोला) भनिने गरिन्छ। तुखुचा अपभ्रंश भएर टुकुचा भएको इतिहासविद् पन्त बताउँछन्। 

बूढानीलकण्ठ र महाराजगन्जको बीचबाट आएको टुकुचा बालुवाटार, गैरीधारा, हात्तीसार, कमलादी, बागबजार, प्रदर्शनीमार्ग हुँदै थापाथली पुगेर कालमोचन घाटमा बागमती नदीमा मिसिन्छ। यो बागमतीको सहायक नदीका रूपमा रहेको छ। राजधानीको सभ्यता टुचुका खुम्च्याएर प्रकृतिमाथि नै खेलवाड गरिएको पन्त बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.