आगोले पोलेर घाइते गुरुङको हेलिकोप्टरबाट उद्दार
गोरखा : आगोले पोलेर घाइते भएकी गोरखाको धार्चे गाउँपालिका २ रुञ्चेतकी गर्बी गुरुङको मंगलबार हेलिकोप्टरबाट उद्धार गरिएको छ । राजेन्द्र बजगाई, धावा ग्याल्जेन लामा र सागर गुरुङले घाइतेको उद्धार गरी उपचारको व्यवस्था मिलाएका हुन् ।
गोरखा छेकम्पार घर भइ काठमाडौंमा व्यवसाय गरिरहेका धावा ग्याल्जेन लामा र लाप्राकका सागर गुरुङको समन्वयमा मंगलबार बिहान घरमै पुगेर घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याएको छ । त्यस्तै गोरखा मसेल घर भइ हाल काठमाडौंमा व्यवसाय गर्ने राजेन्द्र बजगाईँले उनको उपचारको व्यवस्था गरेका हुन्।
‘आगोले पोलेर गम्भीर घाइते भएको तर उपचार गर्ने खर्च अभावमा चारदिनदेखि घरमै थला परेर बसेको जानकारी पाएपछि बिहान नौ बजे हेलिकोप्टर लिएर रुञ्चेत पुग्यौँ’, धावाग्याल्जेनले अन्नपूर्णलाई भने, ‘उहाँलाई सकुशल उद्धार गरी अस्पताल पुर्याएको हो।'
घाइतेलाई उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । उनको उपचारको प्रबन्ध आफूले मिलाएको व्यवसायी बजगाईँले बताए । ‘घाइतेको ज्यान बचाउनु प्रधान कुरा हो’, उनले भने, ‘त्यसका लागि जति खर्च लाग्छ म बन्दोबस्त गर्नेछु ।’
गत असोज १ गते गोठमा आगोलागी हुँदा गोठभित्र सुतिरहेकी ४५ वर्षीया गुरुङ घाइते भएकी थिइन् । सो घटनामा परी उनको १४ वटा बाख्रा पनि आगोमा परेर मरेका थिए।
प्रतिक्रिया दिनुहोस !