अपराधीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै ढल्केबर

अपराधीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै ढल्केबर

ढल्केबर(धनुषा) : शहरोन्मुख बन्दै गरेको धनुषाको ढल्केबरमा डरलाग्दो अपराधीक प्रवृत्ति मौलाउँदै गएको छ। बलात्कार, हत्या,चोरी, लुटपाट जस्ता घटना बढ्दै गएको हो। 

प्रदेश २ को राजधानी जनकपुरधामको प्रवेशद्वार हो ढल्केवर। जहाँ एउटा हिंसात्मक घटना सेलाउन नपाउँदै अर्को घटना हुन्छ। 

पछिल्लो तीन वर्ष यता यहाँ देशलाई नै स्तबध बनाउने घटना घटे। पूर्व—पश्चिम राजमार्गमा अवस्थित ढल्केबरको सुरक्षा अवस्था कमजोर बन्दै गएको स्थानीयको भनाइ छ। इलाका प्रहरी कार्यालय नजिकै यस्ता घटना हुन्छन्।

बढ्दो अपराधीक गतिविधिले असुरक्षित महशुस गरिरहेको स्थानीयवासी बताउँछन्। 

घटना–१

सालीसँग प्रेम बसेपछि धनुषाको मिथिला नगरपालिका वडा नम्बर–९ लालभिट्टीका २८ वर्षीय हरि चौहानले श्रीमतीको हत्या गरे। सालीको उक्साहटमा उनले २५ वर्षीया पत्नी विणा चौहान लामाको जीवनमा पूर्णबिराम लगाइदिए।

आफ्नी कान्छी साली गंगासँगको प्रेम सम्बन्धमा श्रीमती विणा बाधक बनेपछि चौहानले विणालाई बलो काट्ने बहानामा लालगढ सामुदायिक वनस्थित मगर्नी खोलामा लगेर उसैले लगाएको शलले घाँटी बेरेर हत्या गरे। उनको शव चार दिनपछि जंगलमा गाडेको अवस्थामा प्रहरीले २०७७ वैशाख २१ सोमबार अबेर राति उत्खनन् गरेर निकालेको थियो। 

हरि र उनकी कान्छी साली पुर्पक्षका लागि थुनामा छन्।

घटना–२

टिपरले किचेर हत्या गरिएका पर्यावरण अभियन्ता दिलिप महतो।

अवैध खोला उत्खननको विरोध गर्न गएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश भनिने दिलीप महतोको क्रसर डनले टिपरले किचेर हत्या गरे। २५ पुष २०७६ मा औरही खोलामा उनको निर्मम हत्या भयो। कोखामा फलामको लिभरले घोचेर घाइते बनाइयो। बेहोस भएपछि लिकमा राखेर टिपर चलाएर किचियो।

दिलीपको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र उनका कामदारलाई पक्रियो। घटनामा संलग्न भएका उद्योगी महतो, टिपर चालक महोत्तरी बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ३४ वर्षीय मुनिन्द्र महतो, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका–१२ बिजलपुराका २२ वर्षीय जितेन्द्रकुमार महतो जेलमा छन्। 
 
यहि केसमा ढल्केबरका तत्कालीन इन्सपेक्टर रामकुमार यादवले मुचुल्कै विना शव उठाएर दुर्घटनाको रुप दिन खोजेको स्थानीयले आरोप लगाएपछि उनलाई ६ महिनाका लागि निलम्बित गरिएको थियो। कारबाहीमा परेका यादव केही महिनाअघि डिएसपीमा बढुवा भइसकेका छन्।

घटना–३

अढाइ वर्षीय आर्यन साहको शव फेला परेको घटनास्थल।

मिथिला नगरपालिका–६ ढल्केवरका अढाइ वर्षीय बालक आर्यन साहको प्रहरी कार्यालय नजिकै घाँटी रेटेर हत्यो गरियो। प्रहरीले स्वीको पनि पाएन। २०७६ वैशाख २४ गते बिहान उनको हत्या भएको थियो। 

शक्तिशाली तान्त्रिक बन्ने भन्दै मन्त्रसिद्धिका लागि स्थानीय ५५ वर्षीय शत्रुधन महतोले चमेली देवीलाई बली चढाउन आर्यन भनिने समीरकुमार साहको घाँटी रेटी हत्या गरे।

घर अगाडि खेल्दै गरेका उनलाई चकलेट दिएर लगेका थिए। घरमा बन्धक  बनाएर राति करिब २ बजे हत्या गरिएको थियो। प्रहरी कार्यालयको  फूलबारी पछाडि उनको शव फेला परेको थियो। महतोसँगै उनका गुरु भनिएका जंगली महतोलाई समेत पक्राउ गरेको थियो। तर पछि अदालतले जंगलीलाई रिहा गर्‍यो। शत्रुधन भने जलेश्वर कारागारमा जेलजीवन बिताइरहेका छन्।

घटना–४

आर्थिक लेनदेन र जग्गा विवादले ठूलोरुप लियो। ९ पुष, २०७५ मा मिथिला नगरपालिका–९ बडहरीमा जेठाजुले खुकुरी प्रहार गरी बुहारीको हत्या गरे। जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाका श्रीप्रसाद पञ्जियारले आफ्नी भाइबुहारी रानीदेवी पञ्जियारको ज्यान लिए।

आँपको बगैँचामा उनले निर्मम हत्या गरेर फरार भए। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएकी रानीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा उनले संसार छाडिन्। आरोपी श्रीप्रसाद जेल जीवन बिताइरहेका छन्।

घटना–५

एघार वर्षीया बालिका रेश्मा भनिने दुतीया रसाइलीको हत्याको घटना सम्झिंदै जीउ सिरिङ्ग हुन्छ। १ फागुन २०७५ मा मिथिला नगरपालिका–३ हरिहरपुर मगरटोलकी उनको बलात्कारपछि जलाएर हत्या गरियो। 

छिमेकीको छोरीको विवाहमा उनी राती नाच्दै थिइन्। वैवाहिक कार्यक्रममा सरिक हुन मामा घर आएका धनुषाको बटेश्वर गाउँपालिका–४ बेंगारी टोलका २२ वर्षीय निरन जर्घामगरले रसाइलीलाई बलात्कारपछि हत्या गरे।

लाइन कटेको मौका छोपी उनले बालिकालाई गाउँ नजिकैको उखु बारीमा लगेर बलात्कारपछि घाँटी थिचेर  हत्या गरे। लागुऔषधको अमली रहेका मगरले घटना लुकाउन शवलाई जलाएका थिए। मगर अहिले जेलसजाय भोगिरहेका छन्।

घटना–६

राजमार्ग नजिकै कच्ची बाटोमा भारतीय गाडीभित्र अपरिचित व्यक्तिको लाश भेटियो। अन्तैबाट हत्या गरेर १९ माघ २०७५ मा मिथिला नगरपालिका–३ स्थित हरिहरपुरमा हत्या गरेर फालेर अवस्थामा गाडीभित्र पुरुषको शव भेटिएको थियो। बिआर ०७ पीए ५०८७ नम्बरको स्कार्पियो गाडीमा शंकास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले हेटौंडाबाट प्रशिक्षित कुकुर ल्याएर अनुसन्धान थालेका थिए। घटनामा संलग्नहरु अझै पक्राउ परेका छैनन्।

यी त केही प्रतिनिधि घटना मात्रै हुन्। प्रहरीले दिएको तथ्यांक अनुसार ढल्केबर इलाका क्षेत्रभित्र आर्थिक वर्ष २०७५/०७६ मा १ जना, ०७६/७७ मा २ जना र ०७७/७८ मा १ जनाको हत्या भएको छ। यस्तै आर्थिक वर्ष २०७५/०७६ मा तीनजना, ०७६/७७ मा ६ जना र ०७७/७८ मा ६ जना महिलामाथि बलात्कारको घटना भएको प्रहरीको तथ्यांक छ। तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनयता मात्रै २ जना महिलामाथि बलात्कारको घटना भएको हो।

लागुऔषधतर्फ आर्थिक वर्ष २०७५/०७६ मा तीनजना, ०७६/७७ मा ९ जना र ०७७/७८ मा ६३ बोतल कोरेक्स र ३२० ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरेर कारबाही दायरामा ल्याएको तथ्यांक छ। 

यस्तै पछिल्लो आर्थिक वर्षहरुमा चोरीको घटनामा व्यापक वृद्धि हुँदै गएको देखिन्छ। इप्रका ढल्केबरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा तीन, ०७६र७७ मा ६ र ०७७र७८ मा १२ ठाउँमा चोरीको घटना भएको छ। चालु आर्थिक वर्षको दुई महिनामै ३ चोरीको घटनामा प्रतिवादीहरुलाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ। दर्जनौं ठाउँमा चोरी भए पनि पीडिले जाहेरी दिन नखोजेपछि अनुसन्धानमा समस्या भएको प्रहरी श्रोतको भनाइ छ।

प्रहरीको तथ्यांक अनुसार पछिल्लो तीनवर्षमा ४ जनालाई हातहतियारसहित पक्राउ गरेको छ।

कोरोनाकाल यता जघन्य अपराधका घटनाहरुमा केही कमी आए पनि स्थानीयको मनमा त्राश भने कायमै छ। पछिल्लो केही दिनयता ढल्केबर क्षेत्रमा लुटपाट तथा चोरीको घटनामा वृद्धि भएको छ। दिउँसै सुन पसलबाट चोरी भएपछि स्थानीयहरु असुरक्षित महसुस गरिरहेका छन्।

गत भदौ १८ गते ढल्केवरस्थित रहेको गणेश लक्ष्मी ज्वेलर्सबाट ५० तोला चाँदीको गरगहना चोरी भएको पसल सञ्चालक शिवजी साहले दावी गरेका थिए। चोरीमा संलग्न र चोरीका गहना किन्ने दुईजनालाई प्रहरी १२ तोला चाँदीसहित पक्राउ गरेर मुद्दा चलायो।

त्यसअघि नेपाल विधुत प्राधिकरणको प्रसारण निर्देशनालय ढल्केबरको प्रांगणबाट झण्डै ३ क्विन्टल तामाको तार चोरी भएको थियो। गत भदौ ५ गते चोरी कार्यमा संलग्न र तार खरिद गर्ने पसलसञ्चालक सहित दुई जना पक्राउ परे। उनीहरुमाथि प्रहरीले चोरी कसुरमा मुद्दा चलाएको छ। महिनादिन भित्रै ढल्केबरको दर्जनौं ठाउँमा चोरी भएका छन्।

दिनदहाडै चोरीको घटनाले स्थानीय प्रहरीप्रशासनमाथि प्रश्न चिन्ह खडा भएको ढल्केवरका स्थानीय रमेश दास बताउँछन्।‘बढ्दौ अपराधलाई रोक्न लागुऔषध नियन्त्रण आवश्यक छ’, मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका उपाध्यक्ष संतोष कुमार महतो भन्छन्,‘स्थानीय केही औषधी व्यवसायीले नै लागुऔषध बिक्री वितरण गरेपछि शान्ति सुरक्षामा चुनौती थपिएको छ।’

चोरी तथा विभिन्न किसिमका अपराधका घटना नियन्त्रण गर्न मोबाइल गस्ती, प्रहरीको क्वीक रेस्पोन्स टिम परिचालन गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरको दावी छ।

युवावर्गहरुमा लकडाउनले बढेको बेरोजगारी र बढ्दो लागुऔषध सेवन गर्न अर्थ जुटाउन पछिल्लो समय चोरीको घटना वृद्धि भएको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदी बताउँछन्। उनले चोरी कार्यमा अधिकांश १६ देखि ३० वर्ष उमेर समुहका युवाहरुको संलग्नता देखिएको बताए। पछिल्ला चोरीका घटनाहरुमा अनुसन्धानको क्रममा दर्जन बढीलाई पक्राउ गरिएको उनको भनाइ छ। त्यसमध्ये ८ जनालाई चोरी कसुरमा मुद्दा चलाइएको छ।

‘राति ११ बजेपछि अनावश्यक हिँडडुल गर्नेहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिन्छौं। चोरहरु मोटरसाइकलको प्रयोग गर्न थालेपछि मोटरसाइकल चेकजाँचमा समेत कडाई गरेका छौं’, प्रहरी निरीक्षक सुवेदी भन्छन्, ‘शान्ति सुरक्षामा हामी संवेदनशील छौं। यस्तो अवस्थामा त्रसित नभइ नागरिक सचेत हुनुपर्ने देखिन्छ।’

सुरक्षा व्यवस्था चुस्त बनाउन मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिकासँग समन्वय गरेर नगरभित्र सिसिटिभी क्यामरा जडान गर्न प्रहरीले प्रारम्भिक प्रक्रिया सुरु गरेको छ।

मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका र गणेशमान चारनाथ नगरपालिकामा गरी कुल जनसंख्या १ लाख ३० हजारको हाराहारीमा छ। त्यस क्षेत्रमा दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा छन्। झण्डै दुई हजारको संख्यामा साना तथा ठूला पसल व्यवसायी व्यवसाय गरिरहेका छन्। तर पछिल्ला चोरीको घटनाक्रमले सबै असुरक्षित महसुश गरिरहेको मिथिला उद्योग वाणिज्य संघका सदस्य समेत रहेका स्थानीय व्यवसायी गणेशकुमार महतोको बुझाइ छ।

इलाका प्रहरी कार्यालय ढल्केबर मातहतमा ६ वटा प्रहरी चौकी छ। त्यस अन्तर्गत लालगढ प्रहरी चौकी, अस्थाई प्रहरी पोस्ट बडहरी, इलाका प्रहरी कार्यालय यज्ञभूमी, इलाका प्रहरी कार्यालय भरतपुर विरेन्द्र बजार, प्रहरी चौकी पोर्ताहा र प्रहरी चौकी चिसापानी रहेको छ। इप्रका ढल्केवर र त्यस मातहतका प्रहरी चौकीमा गरी जम्मा १०९ जना प्रहरीको दरबन्दी छ। तर हाल ८७ जना मात्र कार्यरत रहेको ढल्केवरका प्रहरी निरिक्षक सुवेदी बताउँछन्। दरबन्दी अनुसारको प्रहरी नहुँदा थप समस्या भएको उनको भनाइ छ।

मिथिला नगरपालिकाकी उपमेयर ताराकुमारी बस्नेतले नगरको शान्ति सुरक्षाप्रति स्थानीय सरकार गम्भीर रहेको बताइन्। ‘शान्ति सुरक्षाको सवालमा स्थानीय प्रशासनसँग हाम्रो निरन्तर समन्वय भइरहेको छ। स्थानीय सरकार मौन बसेको छैन। हामी पनि चिन्तित छौं’, उपमेयर बस्नेत भन्छिन्, ‘अपराध नियन्त्रण तथा प्रहरीलाई सहयोगका लागि नगरमा सिसी क्यामरा, ठुलाठुला बत्ति लगाउने योजना बनाएका छौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.