स्विट्जरल्यान्डबाट साइकलमै
गोरखा : स्विट्जरल्यान्डकी नागरिक लरिसा जिम्मरम्यानले आफ्नो देशबाट गोरखासम्म साइकल यात्रा गरेकी छन्।
लरिसाले आफ्नो यात्रा गत अप्रिल ५ मा सुरु गरेकी थिइन्। स्विट्जरल्यान्डको हाम्रो सहाराबाट गोरखाको हाम्रो सहारासम्मको यात्रा गर्न ६ महिना लागेको उनले बताइन््। उनी १२ देश घुमेर १० दिनअघि काठमाडौं आइपुगेकी थिइन्। पाँच दिनको क्वारेन्टाइन अवधि पूरा गरी शनिबार गोरखा आइपुगेको उनले बताइन्।
‘स्विट्जरल्यान्ड, इटली, स्लोभेनिया, क्रोएसिया, मोन्टेनेग्रो, अल्बेनिया, मेसोडोनिया, बुल्गेरिया, टर्की, जर्जिया, उज्बेगिस्तान, किर्गिस्तानसम्म साइकलमै आएकी हुँ’, पत्रकार सम्मेलनमा उनले भनिन्, ‘किर्गिस्तानबाट भारत र चीन दुवै देश प्रवेश गर्न प्रतिबन्ध लगाइएकाले काठमाडौंसम्म प्लेनमा आएकी हुँ। काठमाडौंबाट गोरखासम्म ग्रामीण रुट हुँदै तीन दिन साइकल यात्रा गरेँ।’
उनी संस्थापक रहेको हाम्रो सहारा फाउन्डेसनले अनाथ बालबालिकालाई आश्रय दिने गरेको छ। यात्राका क्रममा जुटेको आर्थिक सहयोग बालबालिकाकै लागि खर्च गर्ने उनले बताइन्।
प्रतिक्रिया दिनुहोस !