पाल्पाका सबै एम्बुलेन्समा अक्सिजन सिलिण्डर
तानसेन : पाल्पा जिल्लाभित्र सञ्चालन भएका सबै एम्बुलेन्सहरुमा अक्सिजन सिलिण्डर सेवा सुरु गरिएकाे छ। नेपाल रेडक्रस सोसाईटी पाल्पाले अष्ट्रियन रेडक्रसको सहयोगमा वास कार्यक्रमअन्तरर्गत जिल्लाभित्र चल्ने सबै एम्बुलेन्सहरुलाई निशुल्क रुपमा अक्सिजन सिलिण्डर वितरण गरी पाल्पा जिल्लाका एम्बुलेन्सहरुलाई अक्सिजनमय बनाएको हो। पाल्पामा जिल्लाभित्र सञ्चालन हुँदै आएका २२ वटा एम्बुलेन्सहरुलाई अक्सिजन सिलिण्डर वितरण गरिएको छ।
एम्बुलेन्समा अक्सिजन सिलिण्डर नहुँदा कयौं बिरामीहरुको अवस्था गम्भिर भएको र कयौं बिरामीहरुले अकालमा ज्यान गुमाउनु परेको दुःखद परिस्थितीलाई मध्यनजर गरी जिल्ला रेडक्रस पाल्पाले जिल्लाभरी चल्ने एम्बुलेन्सहरुलाई अनिवार्य अक्सिजन राख्नुपर्ने व्यवस्था गरी निशुल्क सिलिण्डर प्रदान गरेको हो।
दम स्वाशप्रश्वास र कोभिडका बिरामीको लागी अक्सिजनले ज्यान बचाउन ठुलो मद्दत पुग्ने भएकोले एम्बुलेन्स चालकहरुलाई निशुल्क अक्सिजन सिलिण्डर प्रदान गरिएको रेडक्रस पाल्पाका सभापती बृद्धि प्रसाद शर्माले बताए। एम्बुलेन्स चालकहरुबाटै बिरामीहरुको आधा रोग ठिक हुने भएकोले, विरामीसँग गर्नुपर्ने व्यवहार वोलीचालीको साथै प्राथमिक उपचार सम्बन्धी तालिम रेडक्रस पाल्पाले प्रदान गरेको सभापती शर्माले बताए। यो अभियानबाट बिरामीले अक्सिजन प्रयोग गरेवापत अतिरिक्त शुल्क तिर्न नपर्ने, बिरामीलाई एम्बुलेन्स भाडा शुल्क बाहेक अन्य शुल्क नलाग्ने सभापती शर्माले बताए।
जिल्लाभरका एम्बुलेन्स चालकहरुलाई एकमुष्ट निशुल्क अक्सिजन सिलिण्डर प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले अबका दिनमा जिल्लाभर सञ्चालन हुने एम्बुलेन्सले अनिवार्य रुपमा अक्सिजन सिलिण्डर नियमित रुपमा प्रयोग गर्न चालकहरुलाई अनुरोध गरे। एम्बुलेन्सभित्र सिलिण्डरको प्रयोग भए नभएको समय सयममा रेडक्रसको सहयोगमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने प्रजिअ पाण्डेले बताए। पाल्पामा अहिले जिल्ला अस्पताल, मिशन अस्पताल, लुम्विनी मेडिकल कलेज र रामपुर अस्पतालमा अक्सिजन प्लान सञ्चालन भएकोले चालकले आफुलाई पायक पर्ने स्थानमा, चाहेको समयमा खाली सिलिण्डर भर्न सक्नेछन्।
जिल्लामा चल्ने सबै एम्बुलेन्सहरुमा अक्सिजन सिलिण्डर थिएनन, रेडक्रसले जिल्लाका सबै एम्बुलेन्सहरुलाई निशुल्क रुपमा अक्सिजन सहितको सिलिण्डर प्रदान गरेर बिरामीहरुको ज्यान बचाउन ठुलो सहयोग पुग्ने एम्बुलेन्स चालक शुरेस कार्कीले बताए। अबका दिनका जिल्लाका सबै एम्बुलेन्सहरुमा नियमित रुपमा अक्सिजन सिलिण्डर राखिने चालक कार्कीले बताए।
रेडक्रस पाल्पाले एम्बुलेन्स चालकहरुलाई माक्स, सेनेटाईजर, पिपिई सेटहरु समय समयमा सहयोग गर्दै आएको छ। रेडक्रस पाल्पाले तिनाउँ गाउँपालिकाको १ कचल र २ का १६ सय घरपरिवारमा सरसफाई, खानेपानी तथा कोभिड नियन्त्रण, वृद्धवृद्धाहरुलाई औषधी खरिदको लागी सहयोग गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !