बजारमा खुट्टा टेक्ने ठाउँ छैन

बजारमा खुट्टा टेक्ने ठाउँ छैन

काठमाडौं : गत वर्ष दसैंमा कोरोनाको ग्राफ उचाइमा पुगेको थियो। किनमेलका लागि बाहिर निस्कन माहोल खासै थिएन। नयाँ नानामा रमाउन नपाएर बालबालिकाहरू निराश बनेका थिए। नयाँ पहिरनमा टक्क ठाँटिएर टीका थाप्न जानेहरूलाई पोहोरको दसैं निकै खल्लो बन्यो। तर, यसवर्ष कोरोना संक्रमणको दर केही मात्रामा घटेको छ। र, प्रशासनले समेत व्यापारका लागि अनुमति दिएसँगै बजारमा व्यापक चहलपहल बढेको छ।

मुख्य गरी न्युरोड, असन, इन्द्रचोक, ठमेल, भोटाहिटी, पाटन, लगनखेल, मंगलबजार, लगायतका क्षेत्रमा भीडभाड बढेको छ। भाटभटेनी जस्ता सुपरमार्केटमा खाद्यान्नका सामग्री किन्नेहरूका भीड  छ। सडकमा सवारीको चापले घन्टौं जाम बढ्न थालेकाले हैरानी पनि बढेको छ।

तर, यस वर्ष अरू बेलाभन्दा सामानको भाउ आकासिएको व्यापारीहरूले बताएका छन्। डिल्लीबजारमा १२ वर्षदेखि कपडा पसल गर्दै आएकी सीता गौतमका अनुसार ५० प्रतिशत कपडाको मूल्य बढेर आएको छ। बालबालिका र पुरुषहरूका लागि चाहिने सामान उनले बेच्दै आएकी छन्। गौतमका अनुसार पोहोरको दसैंमा ठप्प भएको उनको पसलमा यसपटक पनि व्यापार बढेको छैन। सामानको भाउ अत्यधिक बढेकाले ग्राहकलाई बुझाउन हम्मे परेको अनुभव सुनाइन्। ‘न्युरोड, असनलगायतका क्षेत्रमा दसंै सपिङ गर्नेको भीडभाड बढेको छ। तर, डिल्लीबजारतिर हिँड्ने मान्छेको भीड र जाम मात्रै बढेको छ।’ उक्त क्षेत्रमा खासै ग्राहकहरू नपुगेको महसुस गरेकि छन्।

मध्यमवर्गीय समूहलाई महँगीले मारमा पारेको उनको ठम्याइँ छ। कोरोनाका कारण कतिपयले रोजगारीसमेत गुमाएका छन्। धेरैको आयस्रोतमा ह्रास आएको छ। तर, हुनेखाने वर्गलाई त्यसले खासै असर नगरेको बताउँदै भनिन् ‘खानेतेलको भाउ लिटरको सयौं बढेको छ। सबै सामानको भाउ त्यसैगरी बढेको छ।’

मंगलबजार, पाटन क्षेत्रमा किनमेलका लागि आउनेहरूका कारण सवारीको चाप निकै बढेको थियो। सपिङ जानेहरूका लागि पार्किङको व्यवस्था नहुँदा ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो। बेलुकाको समयमा पाटन, मंगलबजार, लगनखेल, गाभाहल, पुल्चोकलगायतका क्षेत्रमा किनमेल गर्नेको घुइँचो देखिन्छ। पाटन महापालमा कुर्ता पसल सञ्चालन गर्दै आएकी सतिष्ना श्रेष्ठले किनमेल गर्नेहरूका कारण साँझको समयमा उक्त क्षेत्र निकै अस्तव्यस्त हुने गरेको बताइन्। श्रेष्ठले भनिन्, ‘पोहोरसाल सपिङ गर्न नपाएकाले पनि यस पटक दौडधुप बढेको जस्तो देखिन्छ।’ 

उनका अनुसार यसपटक दसैंमा कपडाको मूल्य ह्वात्तै बढेको छ। महँगो भए पनि ग्राहकहरू किनमेलका निरन्तर आइरहेका छन्। श्रेष्ठका अनुसार यसपटक रातो, गुलावी रङका कुर्ताहरूको माग निकै बढेको छ। ग्राहकहरूले टे«न्डिङमा रहेको भाइरल कपडाहरू रुचाएका छन्। चुनरी प्रिन्ट, अनारकली कुर्ता भाइरल बनेका छन् र बजारमा छ्याप्छ्याप्ती पाइन्छन।

लगनखेलको मच्छिन्द्रबहालमा क्लोथ कलेक्सन सञ्चालन गरिरहेकी सुशीला महर्जनका अनुसार बजारमा चहलपहल रमाइलो खालको छ। पोहोर साल किनमेल गर्न नपाएकाहरू यसपटक होसियारीपूर्वक किनमेलका लागि निस्किएको बताइन्। ‘कोरोना घटे पनि जोखिम यथावत रहेकाले मास्क लगाएरै सपिङ गर्नेहरू आइरहन्छन्।’

बजारमा भाइरल कपडाले व्यापकता पाएको छ। टिकटक कुर्ताको माग एकदमै बढिरहेको छ। आफूले पनि ग्राहकले रुचाए अनुसारका भाइरल कुर्ता, सारी बेच्दै आएको बताइन् ।बजारमा आएको भन्दा फरक खालको सामान्य पहिरन रुचाउनेका लागि यतिबेला समस्या परेको अनुभव नखिपोट ललितपुरका सहारा राईको छ। २६ वर्षीया राईले बजारमा जताततै भाइरल लुगा मात्रै देखेकाले दिक्क लागेको बताइन्। ‘सामान्य डिजाइनका लुगा नै  पाइन्नन्। मूल्य पनि अचाक्ली बढेको रहेछ।’प्रत्येक दसैंमा नयाँ लुगा लगाएर टीका थाप्न जाने गरेपनि हिजोआज भाइरल फेसनको नाममा जबरजस्ती नचाहिने फेसन लादिए जस्तो महसुस गरेको गुनासो गरिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.