‘वार्षिक करिब ३ अर्ब क्षति’

‘वार्षिक करिब ३ अर्ब क्षति’

कविशिरोमणि लेखनाथ पौड्यालले दसैं कवितामा लेखे : 

हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा,
भवानीको भयो पूजा चल्यो आनन्दको चर्चा,
जहाँ जाउँ उतै भन्छन्,
दसैं आयो दसैं आयो।

जब बर्खा सकिन्छ। हिलो मैलो हट्छ। शरद ऋतु प्रारम्भ हुन्छ, अनि सुरु हुन्छ दसैं। तर, यो वर्ष अचम्मै भयो। दसैंको रमझम नसकिँदै आरीघोप्टे वर्षा भयो। देशभर ठूलो जनधनको क्षति भयो। सयौंको ज्यान गयो। पहाडी क्षेत्रमा अचम्मका पहिरा गए। पाकेको धान खेतमै डुब्यो। गत असारमा सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मुसलधारे पानी पर्‍यो। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना क्षतिग्रस्त भयो। त्यस्तो ठूलो पानी परेको र पहिरोबाट भएको क्षतिको घटना यसभन्दा पहिले कहिल्यै नदेखेको स्थानीयवासी बताउँछन्। हेलम्बु गाउँपालिका वडा २, किउलका चिरञ्जीवी भण्डारी भन्छन्, ‘हाम्रा हजुरबुवाका हजुरबुवालाई समेत यस्तो विपत्ति आएको थाहा थिएन रे। यो घटना अनौठो खालको भयो।’ 

आखिर, यस्ता अचम्मका प्राकृतिक घटना किन भइरहेका छन् त ? बर्खामा नपरी हिउँदमा पानी पर्ने, पानी परे पनि खण्डखण्डमा पर्ने, हिमालमा हिउँ नपर्ने, पानीका मूल सुक्दै जाने, चिसा ठाउँमा गर्मी बढदै जाने, यी सबै घटना जलवायु परिवर्तनका कारण भएका हुन्। जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि औसतमा ६ सय ४७ जनाको मृत्यु भइरहेको छ। हावापानीमा आएको परिवर्तनले यस्ता घटना भइरहेको विज्ञहरू बताउँछन्। जलवायु परिवर्तनले नेपालमात्र नभई विश्वलाई नै प्रभावित गरिरहेको छ। हाम्रो देशमा पछिल्ला दिनमा यस्ता विपद्का कारण बर्सेनि ठूलो धनजनको क्षति भइरहेको छ।

दसैंको रमझम नसकिँदै आरीघोप्टे वर्षा भयो। देशभर ठूलो जनधनको क्षति भयो। सयौंको ज्यान गयो। पहाडी क्षेत्रमा अचम्मका पहिरा गए। पाकेको धान खेतमै डुब्यो। 

वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जलवायुजन्य विपद्बाट प्रत्येक वर्ष झन्डै २ अर्ब ७७ करोड रुपैयाँ बराबरको हानिनोक्सानी भइरहेको छ। उक्त रकम मुलुकको कुल ग्रार्हस्थ्य उत्पादनको शून्य दशमलव शून्य ८ प्रतिशत हो। तर सन् २०१७÷०१८ को हानिनोक्सानी त्योभन्दा बढी अथवा झन्डै साढे ६ अर्ब रुपैयाँ बराबर छ। उक्त हानि औसतभन्दा धेरै हो। यसलाई कुल ग्रार्हस्थ्य उत्पादनको दुई दशमलव शून्य ८ प्रतिशत मानिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको प्रतिवेदन (जलवायु संकटापन्न तथा जोखिम विश्लेषण र अनुकूलनका उपायको पहिचान) मा १९७१ देखि २०१९ सम्म जलवायुजन्य हानिनोक्सानीलाई केलाएको छ। उक्त अध्ययनले जलवायुजन्य विपद्का कारण बर्सेनि औसतमा ६ सय ४७ जनाको मृत्यु भएको देखाएको छ। तर २००१ मा औसतभन्दा धेरै मृत्यु भएको छ। महामारी, पहिरो, चट्याङ, आगलागी, बाढी, भारी वर्षा र आँधीबेहरीजस्ता जलवायुजन्य विपद्का कारण १ हजार ८ सय ६६ जनाको मृत्यु भएको छ। उक्त प्रतिवेदनअनुसार बाढी, पहिरो, महामारी र आगलागी नेपालमा जलवायुसँग सम्बन्धित प्रमुख विपद्का घटना हुन्। जलवायुजन्य विपद्का कारण भएको मानवीय र आर्थिक क्षतिलाई तुलना गर्दा सबैभन्दा बढी मृत्यु महामारीबाट (५२.८ प्रतिशत) र पहिरो (१६.७ प्रतिशत) र बाढीबाट (१२.७ प्रतिशत) भएको देखिन्छ। बाढीले कुल प्रभावित जनसंख्याको करिब ७१ प्रतिशतलाई प्रभावित गरेको छ भने पहिरोले ९.५ प्रतिशतलाई र महामारीले ८.२ प्रतिशतलाई प्रभावित गरेको छ। आर्थिक क्षति आगलागीबाट सबैभन्दा बढी (५६.६ प्रतिशत) र त्यसपछि बाढी (३१ प्रतिशत) र पहिरो (३.७ प्रतिशत) बाट भएको देखिन्छ। जलवायुजन्य प्रकोपका विश्लेषणको आधारमा सुनसरी, कैलाली, मोरङ, झापा, रौतहट, बर्दिया, सर्लाही र सप्तरी जिल्लाहरू बाढीको उच्च प्रभाव क्षेत्र ‘हटस्पट’को रूपमा लिइएको छ। 

त्यस्तै धादिङ, संखुवासभा, बागलुङ, सिन्धुपाल्चोक, डोल्पा, ताप्लेजुङ, रोल्पा, मकवानपुर, म्याग्दी, लमजुङ, दोलखा, नुवाकोट, गोरखा, सोलुखुम्बु, काभ्रेपलाञ्चोक, दैलेख, दार्चुला, स्याङ्जा, पाल्पा, खोटाङ, बाजुरा, कालीकोट, कास्की, जाजरकोट, बझाङ, गुल्मी र इलाम जिल्लालाई पहिरोको उच्च जोखिममा छन्। मानवीय र आर्थिक प्रभावको आधारमा, मकवानपुर, रौतहट, बाँके, कैलाली, सिराहा, मोरङ, डोटी, चितवन, धनुषा, सर्लाही, महोत्तरी, पर्सा, सप्तरी, सुनसरी, सिन्धुपाल्चोक, दाङ, कास्की, कञ्चनपुर र झापा जिल्लालाई जलवायुजन्य विपद्को उच्च प्रभावित क्षेत्रको रूपमा चिनिएका छन्। 

गत असारमा मेलम्चीमा आएको बाढीले कम्तीमा दुई अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ। असार १ गते सिन्धुपाल्चोकमा आएको बाढीले अत्यधिक क्षति गरेको निष्कर्ष निकालेको छ। सिन्धुपाल्चोकका स्थानीय यस वर्ष मेलम्चीमा अचम्मैको घटना भएको बताउँछन्। स्थानीयवासी ६४ वर्षीया चण्डिका गजुरेल भन्छिन्, ‘अचम्म छ। पानी पर्दैन। तै पनि खोलो कहिले वारि, कहिले पारि नाच्छ।’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत जेठ २८ देखि साउन ३२ सम्म ४ सय ५१ वटा विपद्का घटना घटेको जनाएको छ।

देशका विभिन्न भेगमा १ सय ८८ पहिरो, १ सय ८२ भारी वर्षा र ८१ वटा बाढीका घटना भएका छन्। त्यसमा ७४ जनाले ज्यान गुमाइसकेका छन्। ३५ जनाको अवस्था बेपत्ता छ। ९१ जना घाइते भएका छन्। विपद्मा ८ सय ७६ घर क्षति भएको छ। ३७ सरकारी कार्यालय, १५ सामुदायिक विद्यालय, २९ झोलुंगे पुल, २७ पक्की पुल, २५ वटा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। यूकेको ग्लास्गोमा हुन लागेको २६औं जलवायु सम्मेलनमा हानिनोक्सानी र जोखिमका विषयलाई उठान गर्ने जलवायु महाशाखाले जनाएको छ। महाशाखाका प्रमुख राधा वाग्लेका अनुसार यस्ता समस्या सम्बोधन गर्न आन्तरिक बजेटले नभ्याउने भएकाले जलवायुका लागि बजेटको विषयमा कुरा उठाउन लागिएको हो। हानिनोक्सानीलाई जलवायु सम्मेलन कप २६ को छुट्टै एजेन्डाको रूपमा तयार गर्नुपर्ने बताइन्। वाग्लेका अनुसार ठूला राष्ट्रहरूले सन् २०२० देखि २०२५ सम्म वार्षिक १०० बिलियन डलर (दस करोड) सम्म सहयोग दिने प्रतिबद्धता देखाएका थिए। तर गतवर्षसम्मको तथ्यांकमा ७९ बिलियन डलर मात्रै प्रदान गरेको पाइएको छ। ‘जति पनि बजेट दिएका छन्। त्यो ऋणको रूपमा छन्’ वाग्लेले भनिन् ‘विश्व समुदायले गरेको गल्तीले हामीले क्षति भोगिरहेका छौ। ऋण होइन यसलाई सहयोगको रूपमा आउनुपर्छ भन्ने विषय उठाउने छौं।’ 

मानवजन्य तथा जलवायुका कारण मेलम्ची विपद् : इसिमोड
मेलम्चीको घटनामा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र इसिमोडले निकालेको प्रतिवेदनमा मानवजन्य तथा जलवायुजन्य गतिविधिले विपद् आएको उल्लेख छ। ठूलो वर्षाका कारण मेलम्ची र इन्द्रवतीमा पानीको बहाव बढेको छ। माथिल्लो भेगमा अत्यधिक वर्षा भएकाले महाविपत्ति ल्याएको हो। यसले फरक समुदायका मानिसलाई फरक खालको असर गरेको र विस्थापित गरेको छ। कृषिमा आश्रितलाई अत्यधिक समास्या परेको उल्लेख गरेको छ। त्यस्ता ठाउँमा जोखिमको पूर्वसूचना दिने गरेमा धेरै क्षति तथा जनधन बचाउन सकिन्छ। स्थानीय तथा सरकारी स्तरबाट नै पहल गर्नुपर्ने देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.