दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक

दुई प्रसारणलाइनबाट हात झिक्दै विश्व बैंक

काठमाडौं : समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ। विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन्। 

उक्त निकाय यही कात्तिक १४ गतेदेखि आयोजनाको ऋण लगानीकर्ताबाट बाहिरिन लागेको विद्युत् प्राधिकरणका प्रसारणलाइन प्रमुख दीर्घायु श्रेष्ठले बताए। श्रेष्ठका अनुसार आयोजनाको पछिल्लो म्याद यही कात्तिक १४ गते सक्किने हुँदा उसले पुनः निरन्तरता नदिने भएको हो। 

विश्व बैंकले करिब १ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण दिएको थियो। यी दुई आयोजनाको कुल लागत करिब ८ अर्ब रुपैयाँ छ। सरकारको लगानी हालसम्म ४ अर्ब रुपैयाँ भइसकेको छ। आयोजनामा लगानी जुटाउने तयारी भइरहेको प्राधिकरण स्रोत बताउँछ।

४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनको प्रगति क्रमशः ६५ र ८५ प्रतिशत मात्रै छ। विश्व बैंकसँगको सम्झौताअनुसार ठेक्का लागेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपथ्र्यो। हेटौंडा–ढल्केवर–इनरुवा सन् २०११ मा र हेटौँडा–भरतपुर–बर्दाघाट सन् २००८ देखि ठेक्का लागेका आयोजना हुन्। तर, एक दशक बितिसक्दा पनि काम सक्नुको साटो अझै ढिलाइ भएको कारण देखाउँदै विश्व बैंकले हात झिकेको प्राधिकरण स्रोत बताउँछ। यो अवधिमा यी आयोजनामा दुई नयाँ ठेकेदार आइसकेका छन्।

electricity nepal

प्राधिकरणले हालै जारी गरेको विज्ञप्तिमा ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचना निर्माण भइसकेको उल्लेख छ। ट्रान्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ। २२०/१३२/३३ केभी सबस्टेसनका उपकरण जडान भइसकेको विज्ञप्तिमा जनाइएको छ। 

मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि यी प्रसारणलाइन नेपालको विद्युत् वितरणको मेरुदण्डका रूपमा हेरिएको छ। निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् आपूर्ति गर्ने प्रसारण प्रणालीका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बन्नेछ। सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिनेछ। त्यस क्षेत्रको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ। 

यस्तै, ढल्केवर इनरुवा प्रसारणलाइन निर्माण नभएसम्म माथिल्लो तामाकोसीको ४५६ मेगावाट काठमाडौं आपूर्ति हुन सक्ने देखिँदैन। किनभने माथिल्लो तामाकोसीबाट खिम्ती–तामाकोसी–काठमाडौं ४०० केभीमार्फत काठमाडौं ल्याउने वा खिम्ती–ढल्केबर २२० केभीमार्फत ढल्केवर सबस्टेसनमा जोडेर हेटौंडा–ढल्केवर–इनरुवामार्फत वितरण गर्ने प्राधिकरणको योजना छ।

तर, हेटौंडा–इनरुवा ठेक्का लागेको १० वर्षमा पनि काम सकिने देखिँदैन। प्राधिकरण स्रोतका अनुसार यो प्रसारणलाइनको काम सक्न अझै दुई वर्ष लाग्छ। सन् २०२१ भित्र टावर निर्माण गरी २०२२ सम्ममा तार तान्ने काम सम्पन्न गरी चार्ज गर्न सकिने जनाइएको छ। २ सय ८८ किलोमिटर प्रसारण लाइनका लागि ७ सय ९२ वटा टावर बनाउनुपर्छ। यसमध्ये ६ सय ५९ वटाको जग हालिएको छ। ६ सय ३३ वटा खडा गरिएको छ। पछिल्लो समय स्थानीयको अवरोधका कारण बाँकी टावरको निर्माण हुन नसकेको प्राधिकरण स्रोत बताउँछ। 

मकवानपुरका हटिया, थानाभर्‍याङ, सर्लाहीको जियाजोर, लहानको पडैया, सप्तरीको वीरेन्द्र बजारलगायत ठाउँमा अवरोध छ। सबै टावर खडा गरिसकेपछि ठेकेदारले बल्ल तार तान्न सुरु गर्नेछ। 

हेटौंडा–इनरुवाको पहिलो ठेक्का सन् २०११ मा चिनियाँ कम्पनी सिसिपीजीले पाएको थियो। तर, सन् २०१६ मा उक्त कम्पनी भागेपछि २ वर्षसम्म काम रोकिएको थियो। त्यसपछि सन् २०१८ मा भारतीय कम्पनी टेलमस इलेक्ट्रोनिकले ठेक्का पाएको हो। 

हेटौंडा–भरतपुर बर्दाघाटको ठेक्का सन् २००८ मा सिसिपीजीले नै पाएको थियो। उसले छाडेपछि अर्को चिनियाँ कम्पनी ह्याङटन नै ठेक्का लिएर काम गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.