विद्यालयमा ‘भोलिको समाज’
![विद्यालयमा ‘भोलिको समाज’](https://annapurnapost.prixacdn.net/media/albums/school_20190422061128_dEUm5wryCq.jpg)
जीवनका लागि आवश्यक तथा उपयोगी बानी निर्माणको सबैभन्दा महत्त्वपूर्ण समय प्रारम्भिक उमेर हो। भाषिक सीप, सोचाइको तरिका, अन्य व्यक्तिसँगको अन्तरक्रिया, समाज र भौतिक संसारलाई हेर्ने दृष्टिकोण विकास गर्ने भनेको पनि प्रारम्भिक उमेरमै हो। देशव्यापी रूपमा तीनचार प्रतिशतबाहेक अन्य बालबालिका विद्यालयमा भर्ना भएका छन्। प्रायः बालबालिकाले अधिकांश समय विद्यालयमा बिताइरहेका छन्। अर्थात् विद्यालयका कक्षाकोठाहरूमा भोलिको समाज निर्माण हुँदैछ। देशका जनशक्ति मात्र होइन, भविष्यको सामाजिक सोचको निर्माण पनि विद्यालयका कक्षाकोठामा निर्माण हुँदैछ। सामाजिक समृद्धि भनेको समाजका सदस्यका रूपमा रहेका सम्पूर्ण नागरिकको सोच, चिन्तन, दृष्टिकोण र क्षमताकोे योग हो।
शिक्षकले सिकाएका कुराहरू विद्यार्थीले निकै महत्त्वपूर्ण र अकाट्य मान्दछन्। विद्यालयका कक्षाकोठामा निर्माण भएको ज्ञान, सीप, धारणा घरका अभिभावकले सिकाएको भन्दा धेरै दरिलो हुने गर्दछ। समाजमा रहेका बिकृति हटाउन पनि विद्यालयका कक्षाकोठादेखि प्रयास थाल्नुपर्छ। लैङ्गिक विभेदविरुद्ध सार्वजनिक स्थानमा खरो भाषण गर्ने, लेख लेख्ने व्यक्तिको पनि घरपरिवारमा पनि खाना पकाउने, भाडा माझ्ने, कपडा धुने, करेसाबारीमा काम गर्ने कार्य महिलाको जिम्मामा छाडिएको हुन्छ। दिउँसो उत्तिकै बौद्धिक तथा शारीरक काम गरेर घरमा फर्केका महिला–पुरुषको जोडी घर पुगेपछि काम भने महिला एक्लैले गर्नुपर्ने हुन्छ। छोराछोरीमा समानताका कुरा गर्नेले पनि छोरीलाई सानै उमेरदेखि समाजले बनाइदिएका घेरामा सीमित राखेको देखिन्छ। बौद्धिक तथा क्षमताविकासका लागि सीमित लगानी गर्नुपर्ने भयो भने पहिलो प्राथमिकता छोरालाई दिइन्छ। विद्यालयमा समेत वनभोज र अन्य कार्यक्रममा खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने कार्य आइपरे महिलाशिक्षक र छात्रा खटुन् भन्ने अपेक्षा पुरुषशिक्षकहरूको हुन्छ।
महिलाशिक्षक तथा छात्रा पनि फुर्किदै त्यस्ता कार्यमा लाग्ने गर्छन्। बौद्धिक कार्य, शारीरिक विकास हुने खालका खेल खेल्नु पर्यो भने पुरुषशिक्षक अगाडि बढ्छन्। यस्ता कार्यले कलिला बालबालिकामा महिलालाई कमजोर रूपमा लिइनु विकल्प नभएको प्रणाली हो भन्ने सोच निर्माण हुन्छ। शिक्षण सिकाइमा समेत शिक्षकद्धारा जानेर नजानेर समाजमा महिलालाई गरिने व्यवहारको बिम्ब प्रयोग गरिन्छ। केटी भएर पनि भाले हुने, केटाहरू भएर पनि पोथीको व्यवहार गर्ने पोथी बास्यो, विचार राख्ने महिलालाई उत्ताउलीजस्ता शब्दको प्रयोग गरिन्छ। दक्ष महिला पेशाकर्मी तथा विज्ञको सेवा र विज्ञतालाई समेत कम आँकलन गरिन्छ। हरेक शिक्षण सिकाइका कार्यहरू, हाउभाउ, संकेतमा शिक्षकले महिलापुरुष समान हुन् भन्ने धारणालाई व्यावहारिक रूप दिन प्रयत्न गर्ने हो भने समाजमा लैङ्गिक समानता स्थापित गर्न सम्भव हुन्छ। समाजमा जातीय विभेद, उचनिच र छुवाछुत जस्ता विकृति छँदैछन्। सिकाइको थलो विद्यालयमा समेत जातीय विभेद देखिन्छ।
शिक्षकले कुनै दलित बालबालिकाको कमीकमजोरी भएमा दलित भएका कारण, फलानो जात भएका कारण भन्ने व्याख्या गर्ने, होच्याउने खालका शब्दहरू प्रयोग गर्ने गरेको भेटिन्छ। व्यवहार, संकेत र हाउभाउले दलित र पछाडि परेका जातिप्रति नकारात्मक व्यवहार गर्ने गरिन्छ। दलित र पछाडि पारिएको समुदायका धेरै बालबालिकाले विद्यालय छाड्नुको कारण खोज्ने क्रममा विद्यालयमा शिक्षक, कर्मचारी र माथिल्लो जाति भनिने सहपाठीबाट गरिने, हेला, अपहेलना, असमान व्यवहार प्रमुख कारण पाइन्छ। दलित विद्यार्थीलाई सिकाइमा उत्पे्ररणा जगाउने, उत्साहित गर्नेभन्दा निरुत्साहित गर्ने कार्य गरिन्छ। परिणाम सिकाइ उपलब्धि कमजोर हुन्छ। तल्लो तहको कमजोर उपलब्धिले माथिल्लो कक्षाको सिकाइलाई सहयोग नगर्ने हुनाले तह पूरा नगरी विद्यालय छाड्नुपर्ने बाध्यता हुन्छ। जातीय विभेद र छुवाछुतको अन्त गर्न विद्यालयमा जातीय
विभेदविरुद्ध आवाज उठाउन सक्ने सीप र क्षमता विकास गर्नुपर्छ। प्रदेश नं. २ का जिल्लामा दलित पछाडि परेका समुदायलाई सशक्तीकरण गर्न पनि ती समुदायका सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने, टिकाउने र समान व्यवहार सिकाउने हो भने बढी उपलब्धिपूर्ण हुनसक्छ।
सुदुर पश्चिमका पहाडमा रहेको छाउपडी तथा रजस्वलामा छुवाछुत प्रथा निकै चर्चाको विषय बनाइएको छ। छाउपडी झुपडीहरू भत्काएर छाउपडी प्रथा हटाउने प्रयास प्रभावकारी हुन सक्दैन। मान्छेले अपनाउने व्यवहार भनेका उसको सोचाइ र विचारका परिणाम हुन्। सोचमा परिवर्तन नगरी बल, धाकधम्कीको प्रयोगले मान्छेको व्यवहारमा परिवर्तन गर्न सम्भव हुँदैन। सोचमा परिवर्तन गर्न बुझाइ र स्वअनुभूतिको आश्यकता पर्छ। जहिलेसम्म विद्यालयहरूले छाउपडी प्रथाविरुद्ध, रजस्वलाका कारण र स्वास्थ्य सम्बन्धमा बालबालिकालाई सचेत पार्ने कार्य र सरसफाइलाई व्यवस्थापन गर्ने व्यावहारिक सीप प्रदान गर्दैन तबसम्म सुदूरपश्चिमको छाउपडी प्रथा समाप्त हुँदैन। न त काठमाडौंका हरेक घरमा रजस्वलामा छुवाछुत बार्ने प्रचलन हटाउन सकिन्छ।
आर्थिकरूपमा विपन्न, श्रम गरेर खानुपर्ने, आयआर्जनको स्रोत कमजोर भएका परिवारप्रति गरिने हेयको व्यवहार अर्को सामाजिक विकृति हो। त्यस्ता व्यक्ति परिवालाई अपमानित गर्ने शब्दको प्रयोग र व्यवहार प्रदर्शन, श्रम शोषणजस्ता कार्य सकेसम्म छिटो रोकिनु पर्दछ। यसका लागि विद्यालयहरूले विद्यार्थीलाई श्रम गरेर खाने, पसिना बगाउने, इमान्दार व्यक्तिप्रति सम्मानित व्यवहार गर्ने, सकारात्मक दृष्टिले हेर्ने, आवश्यक भएमा सहयोग गर्ने बानी र सीपको विकासले यस्तो विकृति सजिलै हटाउन सकिन्छ। अपांगता भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने र पूर्वजन्मको कमाइ, पापको परिणाम, ईश्वरले दिएको श्राप हो भन्ने जस्ता गलत सोचमा परिवर्तन आवश्यकता छ। मानव बेचविखन, बालविवाह, लागूपदार्थ दुव्र्यसन, धुम्रपान, बालमजदुर, दाइजो प्रथा, भ्रष्टचार, जुवातास, फजुल खर्च, अन्धविश्वास, धामीझाँक्री, बोक्सीप्रथाजस्ता विकृति हटाउन र समाजलाई सभ्य बनाउन शिक्षक–विद्यार्थीले धेरै कार्य गर्न सक्छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)