वृद्धभत्ता प्रतिगामी कि अग्रगामी ?

वृद्धभत्ता प्रतिगामी कि अग्रगामी ?

२८ प्रतिशत सन्तानले बाबुआमाको जीवनयापनमा सहयोग नगर्दा त्यस्ता ज्येष्ठ नागरिकको जीवनयापन भगवान् भरोसामा छ।


‘जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३’ मा ६० वर्ष उमेर पूरा गरेको नागरिकलाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरिएको छ। ज्येष्ठ नागरिक हुनु भनेको नै वृद्ध हुनुचाहिँ होइन। उमेरले ज्येष्ठ नागरिक हुनु र शरीरले वृद्ध हुनुमा फरक छ। ज्येष्ठ नागरिक भएरै पनि स्वस्थ र तन्दुरुस्त हुञ्जेल सक्रिय र क्रियाशील हुन सकिन्छ। सक्रिय र क्रियाशील व्यक्तिलाई बूढो भनेर होच्याउनु उचित होइन। 

रिटायर्ड (अवकाश) हुँदैमा सबैजना टायर (थकित) हुन्छन् भन्ने छैन। उमेर हदका कारण जागिरे जीवनबाट अवकाश पाएर पनि निरन्तर सक्रिय व्यक्तित्वहरू समाजमा प्रशस्त भेटिन्छन्। आफ्नै पेशा–व्यवसायमा निरन्तर सक्रिय र क्रियाशील ज्येष्ठ नागरिक पनि प्रशस्त भेटिन्छन्। त्यसैले उमेरले वृद्ध हुँदैमा सक्रिय र क्रियाशील हुनै सकिँदैन भन्ने मान्यता सही होइन। यद्यपि यस्तो सक्रियता कसैका लागि ऐच्छिक हुन्छ भने कसैका लागि बाध्यात्मक। नेपालजस्तो गरिब देशमा भने धेरै ज्येष्ठ नागरिकको सक्रियता बाध्यताकै रूपमा छ। 

उमेरले १०२ वर्षका सत्यमोहन जोशी अझै सिर्जनामा सक्रिय छन्। विभिन्न साहित्यिक, सांस्कृतिक तथा सामाजिक सभा–समारोहमा सहभागी भइरहेका छन्। डा. गौरीशंकरलाल दास ९७ वर्षको उमेरमा मानवअधिकार क्षेत्रमा सक्रिय छन्। ९१ वर्षीया भद्रकुमारी घले सिर्जना र समाजसेवामा सक्रिय छिन्। ९४ वर्षीय भैरव रिसाल अझै पनि लेखन तथा रेडियो कार्यक्रम सञ्चालनमा सक्रिय छन्।

खोज्ने हो भने हाम्रो समाजमा वृद्धावस्थामा पनि सक्रिय जीवन बिताइरहेका ज्येष्ठ नागरिक प्रशस्तै भेट्न सकिन्छ। तर कमजोर स्वास्थ्यका कारण त्यस्तो सक्रियता देखाए पनि जीवननिर्वाहका लागि पर्याप्त आम्दानी गर्ने अवसर छैन। अर्कोतिर आर्थिक क्रियाकलापमा क्रियाशील हुन नसकेका वा भएर पनि पर्याप्त आम्दानी गर्न नसकेका ज्येष्ठ नागरिकको जीवनयापन कठिन र असुरक्षित समेत छ। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले ६०–६४ वर्ष उमेर समूहका ६७.३ प्रतिशत र ६५ वर्ष र सोभभन्दा माथिका ५८.७ प्रतिशत जनसंख्या आर्थिक दृष्टिकोणले सक्रिय रहेको देखाएको छ। तुलनात्मकरूपमा ग्रामीण क्षेत्रका ६०–६४ वर्ष उमेर समूहका ५८.३ र ६० वर्ष र सोभन्दा माथिका ४६.१ प्रतिशत जनसंख्या आर्थिक दृष्टिकोणले सक्रिय देखिन्छन्। सहरी क्षेत्रका सोही उमेर समूहका क्रमशः ४७.५ र ३९.० प्रतिशत जनसंख्या आर्थिक दृष्टिकोणले सक्रिय देखिन्छन्।
बढ्दो उमेर र घट्दो स्वास्थ्य अवस्थाका कारण निष्क्रिय जीवन बिताउने र आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकको सामाजिक सुरक्षालाई ध्यानमा राखेर राज्यले आर्थिक वर्ष २०५१÷५२ देखि ज्येष्ठ नागरिक भत्ता वितरण गर्दै आएको छ। गरिबीले पिल्सिएका घरपरिवारका ज्येष्ठ नागरिकको जीवनयापनलाई केही हदसम्म सुरक्षित र मर्यादित बनाउने र ज्येष्ठ नागरिकको सम्मान गर्ने उद्देश्यले वृद्धभत्ताको सुरुवात गरियो। वृद्धभत्ता हाल मासिक चार हजार रुपैयाँ छ। कतिपय अर्थविदहरूले वृद्धभत्तालाई अनुत्पादक खर्च भन्ने गरेका छन्। तर शक्तिको आडमा राज्यको ढुकुटीबाट हुने फजुल खर्चलाई अनुत्पादक र प्रतिगामी भन्ने आँट कसैले गर्न सकेका छैनन्। वृद्धभत्ता प्रतिगामी हो भने देशका नेताले गर्ने भ्रष्टाचार र उनीहरूको देश तथा विदेशमा उपचारका लागि दिइने करोडौंको आर्थिक सहायताचाहिँ अग्रगामी हो कि ?

हो, वृद्धभत्ताको आवश्यकता परेका र नपरेका सबैलाई यो भत्ता वितरण भइरहेको छ। वृद्धभत्ता आवश्यक नपर्ने वर्ग वा राज्यबाट दोहोरो सुविधा लिइरहेका वर्गको पहिचान गरी तिनलाई वृद्धभत्ता दिन रोक लगाउनु भने वाञ्छनीय हुनेछ। वृद्धभत्तालाई प्रतिगामी देख्नेहरूले कुन कार्यलाई चाहिँ अग्रगामी देखेका छन् ? राज्यले नागरिकबाट कर असुल गर्छ भने नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्नु र उसलाई सेवा र सुविधा प्रदान गर्नु राज्यको अपरिहार्य दायित्व हो।

संसारका विकसित भनिएका देशहरूले यस्तो दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्दै आएका छन्। त्यसैले त्यहाँका ज्येष्ठ नागरिकहरूको जीवन सुरक्षित छ र मर्यादित पनि छ। हामीकहाँ पनि त्यस्तो गर्ने प्रयत्न राज्यले गर्नुलाई प्रतिगामी कदम देख्नु कि त अतिज्ञान हो कि त अल्पज्ञान हो। वृद्धभत्तालाई प्रतिगामी भन्नु अत्यन्तै अव्यवहारिक सोच हो।

नेपालमा ७० जिल्लाका ६० वर्षभन्दा माथिका ८ हजार ६ सय २६ जना ज्येष्ठ नागरिकसँग अन्तर्वार्ता लिएर गरिएको ‘नेपाल एजिङ सर्भे २०१४’ अनुसार ७२ प्रतिशत सन्तानले बाबुआमाको जीवन निर्वाहमा सहयोग गरेको पाइएको छ। बाँकी २८ प्रतिशत सन्तानले बाबुआमाको जीवनयापनमा सहयोग नगर्दा त्यस्ता ज्येष्ठ नागरिकको जीवनयापन भगवान् भरोसामा छ। यसै पनि गरिबीले पिल्सिएका छन् ज्येष्ठ नागरिक।

घरपरिवारको समेत सहयोग नपाउँदा उनीहरूको जीवनयापन अत्यन्तै कष्टकर रहेको सहजै अनुमान गर्न सकिन्छ। बेसहारा भएर सहारा खोज्दै सरकारी तथा निजी वृद्धाश्रमहरूमा पुग्ने ज्येष्ठ नागरिक अनगिन्ती छन् र सबैले त्यहाँ आश्रय पाउन पनि सकेका छैनन्। बेसहारा सबै ज्येष्ठ नागरिकलाई सहारा दिने क्षमता न सरकारी वृद्धाश्रममा छ, न त निजीमा नै। यो तथ्यले पनि वृद्धभत्ताको आवश्यकतालाई पुष्टि गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.