११ वर्षसम्म बनेन भवन

११ वर्षसम्म बनेन भवन

गोरखा : चीन सरकारले सुविधा सम्पन्न भवन बनाइदेला भनेर सिंजाली माविका शिक्षक, विद्यार्थीले आशा गरेको ११ वर्ष भयो। तर, अहिलेसम्म भवन बनेको छैन। सहिद लखन गाउँपालिका–४ ताक्लुङको सुविधासम्पन्न भवन बनाइदिने भन्दै चिनियाँ अधिकारी, परराष्ट्र र अर्थ मन्त्रालयबीच २०६७/६८ मा सम्झौता भएको थियो। तर, हालसम्म भवन निर्माण सुरु नभएको विद्यालयका प्रधानाध्यापक बलनारायण श्रेष्ठले बताए।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपाल आएको चीन सरकारको उच्चस्तरीय टोलीले हिमाली जिल्लामा चिनियाँ विद्यालय जस्तै सुविधासम्पन्न १० वटा आवासीय विद्यालय भवन बनाउने सम्झौता गरेको थियो। तीमध्ये आठौं नम्बरमा आफ्नो विद्यालय परेको प्रअ श्रेष्ठले बताए।

आशैआशमा ११ वर्ष बितेको विद्यालयको गुनासो छ। ‘यसबीचमा चिनियाँ टोली दुई पटक विद्यालयको अनुगमनमा आयो,’ उनले भने, ‘अन्तिम पटक जग्गा हेरेर गएको पनि तीन वर्ष बित्यो, त्यसपछि अत्तोपत्तो छैन।’ भवन निर्माण नहुँदा अस्थायी टहरामा पठनपाठन गराउन बाध्य भएको उनले बताए।

२०७२ को भूकम्पले विद्यालयको ११ कोठे पुरानो भवन भत्किएपछि ‘रातो स्टिकर’ टाँसेको पुरानो भवन र जस्ताले बारेको टहरोमा पढाइ भइरहेको छ। ‘भूकम्पले भत्किएका जिल्लाभरका सबै विद्यालय पुनर्निर्माण भइसके तर चीन सरकारले जिम्मा लिएको भनेर हाम्रो विद्यालय पुनर्निर्माण गर्ने दायित्व कुनै दातृ निकायले पनि लिएनन्,’ प्रअ श्रेष्ठले भने, ‘अहिले आएर न अरूले बनाउन पाए, न चीन सरकारले बनायो। भवन नहुँदा कक्षा १–८ कक्षासम्मका विद्यार्थीलाई जस्ताले बारेको टहरामा पढाउनुपर्ने बाध्यता छ। कक्षा ९ र १० का विद्यार्थी असुरक्षित भनेर रातो स्टिकर टाँसिएको पुरानै भवनमा पढ्न बाध्य छन्।’

जस्ताले बारेको टहरोभित्र जाडोमा अति चिसो र गर्मीमा धेरै गर्मी हुँदा पठनपाठनमा समस्या हुने उनले बताए। टहरामा एउटा कोठाको आवाज अर्काे कोठामा प्रस्ट सुनिन्छ। यसले पठनपाठनसमेत प्रभावित भएको उनको भनाइ छ। ‘हिउँद लागेपछि जस्ताबाट शीत चुहिन्छ। वर्षाको समयमा छाना चुहिएर कक्षाकोठाभित्रै पानी पस्छ,’ उनले भने, ‘चैत–वैशाखमा एकातिर हावाहुरीको समस्या, अर्कातिर चर्को घाम लागेपछि बसिनसक्नु गर्मी। भवन नभएर साह्रै समस्या भएको छ।’ चिनियाँ दूतावास, शिक्षा विभाग, अर्थ मन्त्रालय धाउँदाधाउँदा हैरान भएको उनले गुनासो गरे। पटकपटक विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभावकले पहल गरे पनि बेवास्ता गरेको उनको भनाइ छ।

यस वर्ष पनि भवन निर्माण सुरु हुने–नहुने अन्योल रहेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख खेमराज पौडेलले बताए। ‘यो परराष्ट्र मन्त्रलायले गरेको मन्त्रिस्तरीय सम्झौता हो। कहिले सुरु हुने–नहुनेमा हामी पनि अन्योलमा छौं,’ उनले भने, ‘मित्र राष्ट्रको सम्बन्धको कुरा छ। हामीले छेउटुप्पो भेट्न सक्ने कुरा पनि भएन।’ भवन बनाउन चाहेका जिल्लाका सबै विद्यालयले नयाँ भवन पाएको भन्दै पौडेलले सिंजाली मावि साँच्चै मर्कामा परेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.