हिमपहिरोबारे पूर्वसूचना खै ?

हिमपहिरोबारे पूर्वसूचना खै ?

काठमाडौं : वन तथा वातावरण मन्त्रालयले हालै जलवायु परिवर्तनका कारण हिमपहिरोको जोखिम बढ्दै गएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो। ‘जलवायु संकटासन्नता तथा जोखिम विश्लेषण र अनुकूलनका उपायको पहिचान’ अध्ययन प्रतिवेदनले हिमपहिरो तथा हिमताल विस्फोटको घटना बढ्दै गएको देखाएको छ। तर, आइतबार मुस्ताङमा गएको हिमपहिरोबारे पूर्वसूचना कतैबाट पनि सार्वजनिक भएन।

मुस्ताङको हिमपहिरो जलवायुका कारण बेमौसमी घटना भएको प्रतिवेदन अध्ययनकर्ता रेगन सापकोटा बताउँछन्। ‘सरकारी प्रतिवेदनले जलवायुका कारण चरम बेमौसमी घटना बढेको बताएको छ,’ सापकोटाले भने, ‘यो चरम मौसमी घटना हो।’ सोलुखुम्बु, कास्की, मनाङ र डोल्पामा हिमपहिरोको जोखिम उच्च रहेको प्रतिवेदनले जनाएको छ। 

जलवायुमा आएको उतारचढावको असर हिमताल विस्फोटनमा देखिएको, हिमतालको आकार, गहिराइ, लम्बाइ बढेको प्रतिवेदनले बताउँछ। ती तालहरू विस्फोट हुँदा अत्यधिक धनजनको क्षति हुनुको साथै तल्लो तटीय क्षेत्रका बासिन्दालाई थप सतर्क हुनुपर्ने सापकोटाले बताए। 

‘विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजनाः २०७५’ ले पनि यस्ता जोखिम टार्न पूर्वसूचना प्रणालीमा उचित लगानी गर्नुपर्ने सुझाएको थियो। उतm कार्ययोजनामा २०७१ असोज २८ गते अन्नपूर्ण र धौलागिरि वरपरको क्षेत्रमा हिमपातसँगै शृखंलावद्ध हिमपहिरो गएको उल्लेख छ। त्यतिबेला बंगालको खाडीबाट उत्पन्न भएको ‘हुदहुद’ नामको तुफानले गर्दा आँधी आएको थियो। हिमपात र हिमपहिरोको कारण २१जना पदयात्रीसहित कम्तीमा ४३ व्यक्तिको मृत्यु भएको थियो। 

यस्ता घटनाबाट धनजनको क्षति रोक्न सरकारले उचित अध्ययन, अनुसन्धानमा लगानी गर्न र स्थानीयलाई पूर्वसूचना दिने प्रणाली अत्यन्त आवश्यक रहेको विज्ञको तर्क छ। हिमाली क्षेत्रमा अध्ययन, अनुसन्धान आवश्यक रहेको काठमाडौं विश्वविद्यालयमा जलवायु जोखिम अनुसन्धान केन्द्रका हिमनदी तथा क्रायोस्फियर विज्ञ डा. रीजनभतm कायस्थको भनाइ छ। 

नेपालमा बारम्बार हिमपहिरो जाने गरेको छ। अन्नपूर्ण क्षेत्रमा पहिरो जाँदा पर्यटकको मृत्यु भएको छ।  सगरमाथा आधार शिविर, लाङटाङ, मनास्लुलगायतका क्षेत्रमा हिमपहिरो अत्यधिक जाने गरेको छ। हिमपहिरो हिमतालमा खसे झनै ठूलो जोखिम हुने कायस्थ बताउँछन्। 

नेपालमा ४७ वटा हिमतालहरू फुटेर जोखिम बढाउन सक्ने अध्ययनहरूले देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को अध्ययनअनुसार यसै शताब्दीको अन्त्यसम्ममा हिमालहरूको एक तिहाइ हिउँ हराउने वैज्ञानिकहरूको चेतावनी छ। सन् १९७१–२०१४ को अध्ययन गर्दा नेपालको हिमाली क्षेत्रमा प्रत्येक शताब्दीमा ०.०२ देखि ०.५६ डिग्री तापक्रम बढेको देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.