मकै सुकाउने पर्व मनाइयो
गोरखा : नेवारी समुदायको मकै सुकाउने साँस्कृतिक पर्व बिहीबार साँझ मनाइएको छ। लोप भइसकेको यो पर्व स्थानीय ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको अग्रसरतामा बिहीबार साँझ मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए।
कात्तिक शुल्क पूर्णिमाको रात अमृत वर्षा हुने र भुटेको मकै, भटमास, बदाम, उसिनेको पिँडालु, सखरखण्डलगायतका खाद्य पदार्थ जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ ‘सकिमना पुन्ही:’ पर्व मनाइएको उनले जानकारी दिए।
श्रेष्ठका अनुसार यो पर्व ४० वर्ष अघि गोरखामा पहिलो पटक मनाइएको थियो। ‘४० वर्षदेखि मनाउन छाडिएको पर्व अहिले ब्युँताइएको हो’, अध्यक्ष श्रेष्ठले भने, ‘अब निरन्तरता दिने हाम्रो प्रयास हुनेछ।’ घरघरबाट भुटेको मकै एकै ठाउँमा जम्मा गरेर सदरमुकामको ठूलो आँगनमा मान्द्रो बिछ्याएर जुनको प्रकाश पर्ने गरी सुकाइएको थियो।
‘कात्तिक शुल्क पूर्णिमाको दिन अमृत वर्षा हुन्छ भन्ने धार्मिक मान्यता छ’, स्थानीय मोहनलाल श्रेष्ठले भने ‘यसरी सुकाएको अन्नमा चन्द्रमाबाट अमृत वर्षा हुने र यी अन्न प्रसादका रुपमा प्रयोग गरिन्छ।’ भुटेको मकैसँगै भटमास, केराउ, चनालगायतका गेडागुडी, जुनेलो, बदाम, सखरखण्डलगायत विभिन्न फलफूल पनि सँगै राखिन्छ। सुकाएका यी खानेकुरा प्रसादका रुपमा ग्रहण गर्ने प्रचलन छ।
प्रतिक्रिया दिनुहोस !