‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने पार्टी र नेता चाहिएको छ
![‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने पार्टी र नेता चाहिएको छ](https://annapurnapost.prixacdn.net/media/albums/surendra-pandey_20211126045946_tz8xfGWWWd.jpg)
सबैलाई समेट्ने शैली र परिचालन गर्ने रणनीतिकै कारण कम्युनिष्ट आन्दोलनको मुल प्रवाह एमाले बनेको बताउँछन्, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे। पार्टी विभाजन र सत्ता बहिर्गमनपछिको दशौं महाधिवेशनले सहमतिको नेतृत्व चयन गर्र्नुपर्ने पाण्डेको भनाई छ। कम्युनिष्ट आन्दोलन र एमालेको दशौं महाधिवेशनबारे स्थायी कमिटी सदस्य पाण्डेसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी :
एमाले १० औं महाधिवेशनको संघारमा छ। कम्युनिष्ट आन्दोलनको ईतिहास कस्तो रहयो ?
कम्युनिष्ट पार्टीको पाँचौं महाधिवेशन भन्दा अगाडिका महाधिवेशनहरू भूमिगत शैलीमा भए। पहिलो महाधिवेशन काठमाडौंमा २०१० सालमा भयो। दोस्रो २०१४ सालमा र तेस्रो २०१९ सालमा भयो। त्यसपछि पार्टीहरू टुटफुट भए। २०२७/२८ सालपछि झापा आन्दोलन हु्ँदै एउटा नयाँ कोर्ष सुरु गर्यौं, पार्टी पुनगर्ठनको। त्यो पुनर्गठनबाट माले, मार्क्सवाद हुँदै बहुदल आइसकेपछि माले मार्क्सवादीको एकता गर्यौं। यसमा अनेकौं समूह जोडिँदै त्यो नेकपा र नेपाल कम्युनिष्ट आन्दोलन मूल प्रवाहमा आयो। पाँचौं महाधिवेशन २०४९ सालमा गर्यौं। पाँचौं, छैठौं, सातौं, आठौं र नवौं महाधिवेशन पार्टी खुला भएरपछि गर्यौ। ती राजकीय क्षेत्रमा पनि हस्तक्षेप गर्न थालेपछिका अधिवेशन छन् भने त्यसभन्दा अघिका क्रान्तिमा विजय प्राप्त गर्न प्रयासका लागि गरिएका अधिवेशन हुन।
अघिल्ला अधिवेशनहरूले नेपालको आधार सृजना गरेकै कारण नेपालको कम्युनिष्ट आन्दोलनलाई फराकिलो, व्यापक र सुदृढ बनाएकै कारण हामी विजयतर्फ छौं। अगाडि नै हाम्रो आन्दोलन कमजोर भएको भए सायद यता आउँदैन थियौं। यद्यपि त्यसभित्र अनेकौं उतार चढाव भए। पार्टी अन्तरसंघर्षबाट गुज्रिए पनि अन्तिममा नेपाल कम्युनिष्ट आन्दोलन सुदृढ, बलशाली र व्यापक बन्यो।
कम्युनिष्ट आन्दोलनमा दुर्घटना पनि भए नि ?
यसबीचमा केही दुर्घटना भए। २०५४ सालमा विभाजित भयो। अहिले पनि केही हिस्सा टुक्रिएर गएका छन्। तर पनि यो व्यापकताको मूल नेतृत्व/मूल लिगेसी चाहिँ नेकपा एमाले हो। त्यसो हुनाले नेकपा एमालेको काँधमा लामोसम्म शक्ति छ। त्यसलाई एउटा मूल प्रवाहमा समेट्ने त्यो क्षमता सामथ्र्य दृष्टिकोण राख्ने पार्टी नेकपा एमाले हो। त्यसैले पनि दसौं महाधिवेशन विशेष तवरले हुँदैछ।
१०औं महाधिवेशनका चुनौती के हुन् ?
नेकपा विभाजन भएको र स्वयं एमालेको पनि एउटा हिस्सा अलग भएको स्थितिमा यो महाधिवेशन हुंदैछ। यसकारण पनि यो महाधिवेशनमा चुनौति पनि छ। चुनौति के भने जसरी नेकपा एमाले विगतदेखि यो मूल प्रवाहका रूपमा मूलशक्तिका रूपमा व्यापक रूपले अगाडि बढ्यो। त्यसको एउटा कारण यसको नेतृत्वले सबैलाई समेट्ने र व्यापक ढंगले सही नीति र नेतृत्वले सबैलाई आफूभित्र समाहित गरेर लैजाने किसिमको भूमिका खेल्यो।
त्यसैले यो पार्टी यहाँ आइपुगेको हो। माओवादीले हामी जम्मै एकजुट गर्छौं भनेर लाग्यो त्यो पनि भएन। त्यो छिन्नभिन्न किन हुँदैछन् भन्दा एमालेको एउटा विचारको सहीपना दोस्रो नेतृत्वले लिएको सहीपना। पार्टीभित्र सबैलाई सही ढंगले समेट्ने शैली र परिचालन गर्ने योजना रणनीति भएकै कारण एमाले पार्टी अगाडि बढ्यो। मूल पार्टीका रूपमा आएको छ।
महाधिवेशन पछाडिका सम्भावना के देख्नुहुन्छ ?
अहिले नै पनि एमालेविरुद्ध एउटा गठबन्धन छ। यो सरकार र यो गठबन्धन कायम रहन्छ कि रहँदैन आफ्नो ठाउँमा होला। तर, एमाले एक्लै प्रतिस्पर्धा गर्न र चुनौती दिन तयार छ। तर, गठबन्धन भएकाले एमालेको भावी यात्रामा के प्रभाव पर्छ भन्ने कुरा हेलचेक्र्याइँ गर्ने वा केही गर्न सक्दैन भन्ने सोच्नु हुँदैन। परास्त गर्नुपर्छ। यसकारण यी चुनावहरू हाम्रा परीक्षाका घडी हुन्।
कुनै पनि पार्टीको अवस्था के हो भनेर जाँच्ने कुरा भनेकै चुनावमा कति सिट ल्याउँछ भन्ने नै हो। कुन दल सानो, कुन ठूलो भन्ने कुरा बोलेर हुँदैन। २०६४ सालमा सबैभन्दा ठूलो पार्टी भनेर माओवादी आयो। २०७० को चुनावमा स्वाठ्ठै खुम्चिएर तेस्रो पार्टी भयो,त्यो पनि धेरै सानो आकारमा। त्यसैले एमालेको हैसियत के हो भन्ने कुरा चुनावले निर्धारण गर्दछ। त्यो बेला वा परीक्षामा हाम्रो पार्टी एमाले एक नम्बर हुनुपर्यो। बोलेझैं परिणाम ल्याएर तथ्यबाटै पुष्टि गर्छौं। तब नेकपा एमालेलार्ई कसैले रोक्न र छेक्न सक्दैन।
यो महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाउन सम्भव देख्नुहुन्छ ?
महाधिवेशनमा पनि सकभर नेतृत्व चयनमा सर्वसम्मत हुन्छ नै। केन्द्रीय सदस्यमा भने चुनाव हुन पनि सक्छ। केन्द्रीय सदस्यमा पनि कतिपयमा सर्वसम्मत हुनसक्छ। जस्तो मजदुरमा। चुनाव नै लड्नुपर्ने भयो भने पनि प्यानलबाट होइन, व्यक्तिगत क्षमताका आधारमा हुनेछ। अब हलले केन्द्रीय सदस्य पनि सर्वसम्मत नै गरौं भन्यो भने पनि इन्कार गर्नुपर्ने कारण हुँदैन। तर, आकांक्षीहरूको अहिलेको भीड हेर्दा केन्द्रीय कमिटिमा चाहिँ चुनाव हुनसक्ने देखेको छु।
अध्यक्ष पदमा चाहिँ केपी शर्मा ओली निर्विकल्प हो ?
मैले त्यस्तै सम्भावना देखिरहेको छु। किन भन्दा विभाजित भयौं नेकपा रहेन, एमालेभित्रको पनि एउटा हिस्सा गयो। अब यो सबै प्रक्रियालाई एकतावद्ध गर्नुछ। अरू धेरै मान्छेलाई पनि यसमा गोलबन्द गर्नुछ। त्यसैले पनि अध्यक्ष अर्थात् मूल नेतृत्व विवादमा नपरेर सर्वसम्मत हुनसक्दा पार्टीलाई एकजुट गर्न बल पुग्छ। उहाँ स्वतः भएपछि अरूलाई पनि उहाँले ल तिमीहरू पनि क्षमताका आधारमा आउनुपर्छ। यो तेरो मेरो भन्ने सकियो। त्यसैले सहमति र एकतामा जान मद्दत गर्छ। भीम रावलको चर्चा बाहिर आएको छ। अध्यक्षले बोलाएर कुरा गर्नुपर्छ। उहाँले आफ्नो भूमिकालाई पनि कहाँ कसरी हुन्छ भन्ने अस्पष्ट हुँदा यस्तो भएको हो। सल्लाह भए समाधान निस्किहाल्छ।
नेकपा र एमाले पनि चोइटियो, मुख्य दोष कसको ?
यसको समीक्षा त पछि गरौंला तर विभिन्न व्यक्तिहरू हामी सबैका भूमिका छन्। एमालेलाई एकतावद्ध बनाऔं अथवा नेकपा फुटे पनि एमाले फुट्न नदिऔं भनेर कार्यदलमा बसेर अत्यन्तै मिहिनेत गर्नेमध्येको एक म पनि हुँ। कार्यदलमा दुईतिरका पाँच पाँच जना थियौं कार्यदलमा। दसैजना एक ठाउँमा बसेर पहल र प्रयास गर्यौं। अन्तमा माधव नेपालजी पार्टी विभाजन गरेर जानुभयो। सबैभन्दा बढी दोष उहाँकै देखिन्छ।
कुन दल सानो कुन ठूलो भन्ने कुरा बोलेर हुँदैन। बोलेर वा कुराले आफूले आफूलाई ठूला छौं भनौंला तर नतिजाले भनेन भने त जनताले पत्याउँदैनन्।
विभाजनको दोष विभाजन गर्नेमाथि नै लाग्छ। विभाजनका कारण वा घटनाहरूको विकास कसरी हुँदै आयो र विन्दूमा पुग्यो भन्नेमा पछि पनि समीक्षा गरौंला। समीक्षा जितेको मुडमा मात्र हुँदैन रहेछ, शान्त वा हारेको बेला पनि हुनसक्छ। पूर्वाग्रहहरूबाट मुक्त भएर मात्र यस्तो कुराको समीक्षा गर्नुपर्छ।
सहमतिमा एमालेको नेतृत्व कस्तो आउला ? महासचिव पदमा आकांक्षी देखिनुभएको छ नि ?
अध्यक्षमा सर्वसम्मत हुने कुरा भनिहालें। गठबन्धनले स्वाभाविक रूपमा हाम्राविरुद्ध काम गर्छ। नभए आफ्नो पक्षको काम गर्ला। उ सुदृढ हुँदा एमाले कमजोर होला। यो चुनौती वा अप्ठ्यारोका बीचमा काम गर्नुपर्ने भएकाले सर्वसम्मत वा मिलेरै जानु उपयुक्त हुने देख्छु। मान्छेले इच्छा जाहेर गर्ने कुरालाई त म इन्कार गर्दिनँ। राम्रै कुरा हो। बुर्जुवा समाजमा इच्छा पनि व्यक्त गर्नुपर्छ। पुरानो स्कुलबाट आएँ, अरूले भन्दिने जमाना थियो। अहिले आफ्नोबारे आफैंले भन्नुपर्ने समय छ। यो पुँजीवादी समाजमा। अध्यक्षको कुर्सीमा बस्ने मान्छेले नै यो भूमिकामा यसरी गरौं भनेर जानुपर्छ। ६ भोटले हारेको थिएँ। मैले त महासचिव वा त्योभन्दा माथि नै उठ्नुपर्ने होला। अहिले पनि विभिन्न पदका लागि डिजर्भिङ मान्छे को हो ? कसलाई दिँदा पार्टीलाई फाइदा हुन्छ त्यसमा आधारित भएर मुद्दा अघि सार्नेलाई अध्यक्षले नै मिलाएर अघि बढ्नु उपयुक्त होला।
एमाले मुद्दामा आधारित नेतृत्व चयनमा अघि बढेको देखिन्छ। तपाईंका मुद्दा के के छन् ?
अबको पार्टी भनेको तेस्रो पुस्ता पार्टी हो। पहिलो एजेन्डा, २००६ सालमा राजनीतिक स्वतन्त्रता थिएन। बोल्ने, लेख्ने, संगठन गर्ने काममा पनि जेल जाने, फाँसीमा चढ्नुपर्ने र मारिने अवस्था थियो। हुनत गाँस, बास र कपासका कुरा हुन्थे। राजनीतिक स्वतन्त्रता नै त्यसबेलाको मूल एजेन्डा हुन्थ्यो पार्टीहरूको। २०४६ सालपछि त्यो एजेन्डा पूरा भयो। पार्टी खोल्न कसैले डर मान्नुपर्ने अवस्था छैन। अब नयाँ एजेन्डा अघि सर्ने अवस्था आयो। चुनाव लडेर बाहुन क्षेत्री त आए तर समावेशीको आवाज उठ्यो। शिक्षा, स्वास्थ्य सबै ठाउँमा बाहुन क्षेत्रीकै बोलवाला भयो। महिला भएनन्, जनजाति भएनन्, दलित वा पिछडिएका क्षेत्रको प्रतिनिधित्व भएन।
हाम्रो पार्टी एमाले एक नम्बर हुनुपर्यो। बोलेझैं परिणाम ल्याएर तथ्यबाटै पुष्टि गर्छौं तब नेकपा एमालेलार्ई कसैले रोक्न र छेक्न सक्दैन।
माओवादीले त यही मुद्दालाई चर्काएर आन्दोलन नै गर्यो। विभिन्न पार्टी र संगठनहरूले पनि यो काम गरे। देशले ठूलो द्वन्द्वको सामना पनि गर्नुपर्यो। २०६४ सालको संविधान सभाबाट यी मुद्दाहरूलाई सम्बोधन गर्ने गरी तयारी गर्यौं। २०७२ को संविधानले ती मुद्दा पनि सम्बोधन गर्यो। दोस्रो पुस्ताको त्यो एजेन्डा पनि सम्बोधन भयो। यी दुई एजेन्डाका लागि अब लड्नुपर्ने, बन्दुक बोक्नुपर्ने अवस्था रहेन। तेस्रो एजेन्डा भनेको अब हाम्रै समयमा नेपाललाई धनी बनाउने। समृद्ध नेपाल र सुखी नेपाली बनाउने। अब त सुखी र समृद्ध बनाउने पार्टी र नेता देशलाई चाहिएको छ। नेता हुनेसँग त्यो मार्गचित्र हुनुपर्छ। जस्तो पालिकामा पुग्नेले समग्र रूपमा आमूल परिवर्तन ल्याउने खालको नेता हुनुपर्छ। नत्र त्यो गुणस्तर भएका कार्यकर्ता अब हामीले तयार पार्नुपर्छ। यसरी पार्टी निर्माण गर्नुपर्छ।
त्यसो भए अब कसरी अघि बढ्नु हुन्छ ?
आज हामी कस्तो विन्दुमा छौं त्यो पनि जान्नुपर्छ। विकासको अवस्था कस्तो छ भने हिजोको भन्दा पृथक ठाउँमा उभिएका छौं, विश्वव्यापी रूपमा हेर्ने हो भने। १९औं शताब्दीको पुँजीवाद कस्तो रहेछ भन्दा माल बनाएर बेच्न हिँड्थे। कामदारमाथि चरम शोषण हुन्थ्यो, मुनाफा साहुले नै अत्यधिक लिन्थ्यो। मार्क्सले त्यसैविरुद्धमा आधारित भएर कम्युनिस्ट घोषणा पत्र लेखे। मजदुरमाथि गरिएको त्यो एउटा शंखघोष थियो। २०औं मा आएपछि के भयो भने पुँजीवाद अर्को चरणमा प्रवेश गर्यो। सामान बोकेर हिँड्न झन्झट मान्न थाल्यो। त्यही कलकारखाना खोल्छु, त्यहीका मजदुर परिचालन गर्छु त्यही बेच्छु र पैसा लिएर फर्किन्छु। वित्तीय पुँजीवाद सुरु भयो। अहिलेको २१औं शताब्दी चाहिँ नलेज क्यापिटलिज्म छ ज्ञानमा आधारित पुँजीवाद। इन्टरनेट इकोनोमीले सिर्जना गरेको नयाँ अर्थव्यवस्था विश्वमा आउँदैछ, त्यो अर्थव्यवस्थाले कयौं क्षेत्रको रोजगारी पनि जाँदैछ र धनी–गरिबीचको अन्तर पनि बढ्दै छ। हिजो प्रकृति दोहन गरेर र बेचेर कमाउँथे आज मानव ज्ञान र अनुभव बेचेर कमाउन थाल्यो। यो नयाँ युग जानेनौं भने पनि अब हामी कोही पनि अगाडि बढ्न सक्दैनौं। यो खालको नीति पार्टीले बनाउन सकेन भने अब पछि पर्छौं। हामी कसरी फड्को मार्ने भन्ने योजना भएन भने अब हुँदैन। यान्त्रिक र पुराना कुराहरूले अब कोही अगाडि जान सक्दैन। मेरा मुद्दा यिनैमा केन्द्रित हुनेछन्।
एमालेले कसरी ल्याउँछ समाजवाद ?
अमूर्त ढंगले समाजवाद,समाजवाद भनेर मात्र समाजवाद आउँदैन। जनताले बुझ्ने भाषामा काम हुनुपर्छ। रुसमा गरिब किसानका छोराछोरीलाई शिक्षा दिइयो, कोही डाक्टर, इन्जिनियर कोही पाइलट, प्रोफेसर आदि बनेर देशको सेवा गर्न थाले। उनीहरूको जीवन र वर्ग नै परिवर्तन भयो। पहिलो, शिक्षाले चाँडै परिवर्तन गर्छ। सरकारले बालबालिकालाई निशुल्क तर गुणस्तरीय शिक्षा दिनुपर्छ। दोस्रो, मान्छे बाँच्न चाहन्छ। सरकारले आधारभूत स्वास्थ्य दिनुपर्छ, बाँकी बिमाबाट हुनुपर्छ। तेस्रो, सबैलाई आवास। जग्गा दिन सकिँदैन तर घर त जति पनि अग्लो बनाएर सबैलाई आवास दिन सकिन्छ। चौथो, बुढेसकाल भएपछि मानिसलाई पेन्सन, सुरक्षा र हेरचाह चाहिन्छ।
एमाले देशको प्रमुख शक्ति हो। त्यसैले चुनावमा जाने र नयाँ ढंगले सरकार बनाउने छ। एमाले अहिले प्रतिपक्षमा भए पनि देश चलाउन तयार छ, सक्षम छ।
समाजवादका खास कुरा यी हुन्। यसमा एमालेले काम गर्छ। कृषिमा रूपान्तरण गर्नुछ। पूर्वाधारहरू बनाऔं। यत्ति भयो भने त देश समृद्धिको बाटोमा हिँड्छ नि त। पूर्व–पश्चिम राजमार्गले १० लाख मान्छेलाई रोजगारी दिएको रहेछ। यस्ता राजमार्ग पूर्वदेखि पश्चिमसम्म पाँचवटा बनाइदिने हो भने ५० लाखले रोजगारी पाउने भए। राजमार्गसँगै होटल, रेस्टुरेन्ट, उद्योग, गाडी चलाएर वा सामान बेचेर खान्छन्। उत्तर–दक्षिण करिडोरहरू बन्दैछन् त्यहाँ सम्भावना बढेर जान्छन्।
एमाले महाधिवेशनपछि एमाले राजनीतिलाई कसरी आँकलन गर्नुहुन्छ ?
एमाले देशको प्रमुख शक्ति हो। त्यो राजनीतिक शक्ति भएकाले चुनावमा जाने र नयाँ ढंगले सरकार बनाउने। एमाले प्रतिपक्षमा भए पनि देश चलाउन कुनै पनि बेला जिम्मेवारी आउने भएकाले ल्याउन र आए बोकेर हिँड्न सक्ने गरी सक्षम हुनुपर्छ। महाधिवेशनपछिको जिम्मेवारी पनि त्यही हुन्छ।
नेतृत्व महाधिवेशनले के कस्ता गाँठा फुकाउनु पर्ला ?
पार्टीभित्रका विभिन्न मनोविज्ञान र मनोबलहरूलाई एउटै बनाउने काम अहिले हुनुपर्छ। यो प्रयास गर्न सक्यौं र यसमा हाम्रो मनोविज्ञान ख्याल गरेर नेतृत्वलाई व्यवस्थित रूपमा छनोट गर्न सक्यौं भने महाधिवेशनको उचाई बढाउँछ। भव्य बनाउँछ र त्यसले ठूलो रूपमा पार्टी कार्यकर्तालाई पार्टी एकजुट भयो भन्ने सन्देश दिन्छ। अब पार्टी ठिक ढंगले अघि बढ्छ भन्ने भएपछि महाधिवेशनबाट जिल्ला फर्किएर गएपछि सोही ढंगले तल्ला तहहरूमा वकालत हुन्छ। अध्यक्ष ओलीले पनि मिलाएरै जाऔं भन्नुभएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)