कांग्रेस बन्ला त समावेशी ?

कांग्रेस बन्ला त समावेशी ?

काठमाडौं : कांग्रेसको केन्द्रीय पदाधिकारीको संख्या १४ छ। महिलाका लागि एक मात्र पद (सहमहामन्त्री) मा आरक्षणको व्यवस्था छ। ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसकै महिला नेतृहरू सक्रिय भएर लागेका छन्। 

पार्टीको केन्द्रीय समिति समावेशी बनाउनुपर्छ भन्ने लडाइँमा विधान बनाउँदादेखि नै आफूहरू सक्रिय बन्दै आएको नेतृ महालक्ष्मी डीना उपाध्याय बताउँछिन्। संख्या थपेर भए पनि पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने उनको माग छ। संस्थापन शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्रीको आकांक्षी रहेकी उपाध्यायले पार्टीलाई समावेशी बनाउन महिलाको संख्या बढनुपर्ने बताइन्। ‘बरु उपसभापति दिए म लड्न तयार छु।

केन्द्रीय सदस्यमा फेरि लड्दिनँ,’ उनले भनिन्। सहमहामन्त्रीमा महिलातर्फका अन्य आकांक्षीमा डीला संग्रौला र पुष्पा भुषाल पनि छन्। कांग्रेसमा उपसभापति र महामन्त्री पदमा महिला आकांक्षी देखिएका छैनन्। यद्यपि, पार्टी सभापतिमा भने करिब एक महिनाअघि नेतृ सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी थिइन्। उनले उम्मेदवारी फिर्ता लिए नलिएको विषयमा औपचारिक जानकारी आएको छैन। सभापतिको उम्मेदबार टुंग्याउने विषयमा भइरहेका भेटघाट र छलफलमा नेतृ कोइरालाको उपस्थिति देखिएको छैन। 

संस्थापनइतर समूहबाट सहमहामन्त्रीमा सरिता प्रसाईं र रत्न शेरचन आकांक्षी छन्। ‘हाम्रो समूहमा सिनियर नेताहरू धेरै हुनुहुन्छ,’ प्रसाईंले भनिन्, ‘कोषाध्यक्षको उम्मेदवारमा पनि महिला ल्याउने प्रयास गर्दैछौं।’ यसपटकको महाधिवेशन प्रतिनिधिमा धेरै महिला जितेर आएका छन्। अर्को महाधिवेशनमा पदाधिकारीमा पनि धेरै महिला आउन सक्ने उनको भनाइ छ।

कांग्रेस पदाधिकारीमा महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने केन्द्रीय सदस्य महेन्द्र यादवले बताए। देउवा पक्षबाटै सहमहामन्त्रीका आकांक्षी यादवले विधानले गरेको व्यवस्थाअनुसार सहमहामन्त्री र केन्द्रीय सदस्यमा क्लस्टर तोकिएकाले समावेशी हुने देखिए पनि पदाधिकारीमा पनि समावेशी बनाइनुपर्ने माग उठेको बताए। 

३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसकै महिला नेतृहरू सक्रिय भएर लागेका छन्। 

सहमहामन्त्रीका अन्य आकांक्षीमा दलितबाट मीन विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातितर्फ बहादुरसिंह लामा, सीता गुरुङ, भीष्मराज आङ्गदम्बे र चीनकाजी श्रेष्ठ छन्। त्यसैगरी पिछडा वर्गबाट जीवनबहादुर शाही, थारूबाट रामजनम चौधरी, पार्वता डीसी चौधरी, गोपाल दहित, योगेन्द्र चौधरी र मुस्लिमबाट फर्मुला मन्सुर पनि आकांक्षी रहेको कांग्रेसका एक नेताले जानकारी दिए।
पार्टीभित्र आपसी समझदारी र नेताहरूको निर्णयलाई आफूले स्वीकार्ने सहमहामन्त्रीका आकांक्षी योगेन्द्र चौधरीले बताए। यद्यपि, उपसभापति पद दुइटा भएकाले एउटा महिलाका लागि छुट्याउनुपर्ने चौधरीले बताए। उपसभापतिमा थारू समुदायका विजयकुमार गच्छदार आकांक्षी छन्। 

देउवा पक्षबाट महामन्त्रीमा बालकृष्ण खाँण, प्रकाशशरण महत र एनपी साउदले दाबी गरेका छन्। महामन्त्रीमा दाबी गर्दै आएका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई भने पार्टी सभापति देउवाले सहमहामन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन्। यता संस्थापनइतर समूहबाट भने गगन थापा, मिनेन्द्र रिजाललगायतका नेताले महामन्त्रीमा दाबी गरेका छन्।  

मंसिर २४–२७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले १४ जनाको पदाधिकारीसहित १६७ जनाको केन्द्रीय समिति बनाउनेछ। महाधिवेशनबाट एक सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री चयन हुनेछन्। कांग्रेसको संशोधित विधानअनुसार सहमहामन्त्रीहरू विभिन्न क्लस्टरबाट उम्मेदवार बन्नेछन्। जसमा महिलाबाट १, आदिवासी जनजातिबाट १, दलितबाट १, मधेशीबाट १, खसआर्यबाट १, थारूबाट १, मुस्लिमबाट १ र पिछडिएको क्षेत्रबाट १ छन्। तर, ती सबै उम्मेदवारलाई  केन्द्रीय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने व्यवस्था छ। कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन हुँदैन। महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्यमध्येबाट सभापतिले सिफारिस गरेका व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था रहेकोे छ।

१४औं महाधिवेशनबाट कम्तीमा १० वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिले थप ३३ जना केन्द्रीय समिति मनोनयन गने व्यवस्था विधानमा छ।  केन्द्रीय समितिमा महिलाबाट प्रत्यक्ष निर्वाचित ९, प्रत्येक प्रदेशबाट १ महिलासहित ३ जना रहने गरी २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातिबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेसीबाट ४ महिलासहित ९ जना, थारूबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ गरी ५४ जना केन्द्रीय सदस्य चुनिने छन्। यसैगरी अपांगता भएकाबाट १ र अल्पसंख्यक समूहबाट १ केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.