कखरा सिक्दै हजुरआमाहरू

कखरा सिक्दै हजुरआमाहरू

गोरखा : गोरखा सदरमुकामकी ७० वर्षीया विष्णुमायाँ गुरुङ कक्षा १ मा पढ्छिन्। सदरमुकामकै बालमन्दिर माध्यमिक विद्यालयमा पढ्ने उनी अहिले कखरा भन्न र लेख्न सक्ने भइन्। भन्छिन्, ‘हेरीहेरी पढ्न सक्ने भएको छु। नहेरिकन जान्ने हुन केही समय लाग्ला, स्कुलमा जति पढ्यो–पढ्यो। घरमा पढ्न पाएको छैन।’ गुरुङसँगै पढ्छन् अन्य ६ जना वृद्धा। उनीहरू नेपाली र अग्रेजी वर्णमाला अक्षर पढ्न र लेख्न सक्ने भएका छन्। 

६१ वर्षीया आशमाया गुरुङलाई नेपालीका अक्षरभन्दा अंग्रेजीका अक्षर सजिलो लाग्छन्। भन्छिन्, ‘एबीसीडी त जम्मै नहेरिकन लेख्न सक्छु। क,ख,ग, घ,चाहिँ अल्लि गाह्रो लाग्छ।’ नजानेको कतिपय कुराहरूसँगै पढ्ने नातिनातिनासित सोध्ने गरेको उनी बताउँछिन्। यो उमेरमा विस्तारै अक्षर चिन्न र सग्ला अक्षर लेख्न सकेकोमा उनीहरूको मुहारमा खुसी देखिन्थ्यो। अनाथ र सर्वसाधारण बालबालिका मात्र पढ्ने बालमन्दिरमा यो वर्षदेखि वृद्धाहरू पनि भर्ना भएर पढिरहेका छन्। विभिन्न ग्रामीण भेगबाट आएका छ जना ज्येष्ठ महिला यहाँ पढ्न थालेका हुन्। उमेरमा पढ्न नपाएको र प्रौढ शिक्षाबाट पनि बञ्चित भएपछि बुढेसकालमा पढ्न थालेको उनीहरूको भनाइ छ। 

‘हाम्रो पालामा विद्यालय थिएन। सानोमा पढ्न पाइएन। प्रौढ पढ्ने बेलामा घरको कामले फुर्सद भएन। अहिले कालो अक्षर भैंसी बराबर भयो’, आरुघाट गाउँपालिका १ माझगाउँकी ७० वर्षकी विष्णुमाया गुरुङ भन्छिन्। अहिले उनको पनाती कक्षा ५ मा पढ्छन्। ‘म अक्षर चिन्ने रहरले १ कक्षामा भर्ना भएर पढ्न आएको हुँ। अक्षर चिनेपछि थप कक्षा पढ्न उमेरले पनि समस्या हुने हो कि भन्ने चिन्ता भने छ,’ उनले भनिन्।

सोही ठाउँ बस्ने अर्की ५६ वर्षकी विष्णुमाया गुरुङलाई श्रीमान्ले त्यागेपछि पढेर प्रगति गर्ने इच्छा जाग्यो। ‘घरको अवस्था सामान्य भएर सानोमा पढ्न पाइएन। सानैमा बिहे गर्नुपर्‍यो। बिहे गरेको केही वर्षपछि बुढाले अर्की ल्याए’, पीडा सुनाउँदै उनले भनिन्, ‘दुई चार पैसा कमाउन खाडीतिर गएँ। १० वर्षभन्दा धेरै त्यहाँ बसेँ। अक्षर नचिन्दा यति नि दुःख भएन। त्यही इखले पढ्न थालेको हुँ।’ नपढे केही गर्न नसकिने रहेछ भनेर पढ्न थालेको उनले बताइन्। बालमन्दिरमा सुरुमा दुई मात्रै भर्ना भएका थिए। उनीहरू पढ्न थालेको खबर पाएपछि भर्ना हुनेको संख्या बढिरहेको छ। ‘अहिले ७० वर्षकी विष्णुमाया गुरुङ, ५६ वर्षकी विष्णुमाया गुरुङ, ६१ वर्षकी आशमाया गुरुङ, ३७ वर्षकी आइतमाया घले, ४५ वर्षकी मंगलीमाया गुरुङ, ४० वर्षकी सेतीमाया गुरुङ, ३२ वर्षकी छिनीमाया गुरुङ, ३० वर्षकी सरिता गुरुङ भर्ना भएर पढेका छन्’, विद्यालयका प्रधानाध्यापक शिव थापा भन्छन्।

नगरपालिकाको शिक्षा शाखासँग समन्वय गरी उनीहरूलाई थप सेवा सुविधाका साथ पढाउने योजना रहेको उनले बताए। पूर्वाधारको अभावमा उनीहरू बालबालिका बस्ने सानो कुर्सीमा अटेसमटेस भएर बस्नु परेको छ। बालबालिकासँगै सौचालय जानुपर्दा असजिलो लाग्ने गरेको उनीहरूको गुनासो छ।

साक्षर जिल्ला घोषणा गरिसकेकाले पढ्नबाट बञ्चित भएकालाई समेट्ने अर्को कार्यक्रम नहुँदा उनीहरू नाति पनातिसित बसेर पढ्नु परेको हो। ‘छुटेकालाई फेरि समेटेर पढाउने खालको कुनै कार्यक्रम प्रदेश सरकारबाट पनि आएको छैन’, गोरखा नगरपालिकाका नगर शिक्षा अधिकारी चन्द्रबहादुर खड्का भन्छन्, ‘साक्षर जिल्ला घोषणा नभएका जिल्लामा अनौपचारिक कक्षा चल्छ। साक्षर भइसकेका जिल्लामा साक्षरोत्तर कार्यक्रम गर्ने योजना थियो तर कोभिडका कारण प्रभावकारी हुन सकेको छैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.