गाँजासहित एक भारतीय पक्राउ, चारजना फरार
ढल्केवर(धनुषा) : धनुषाबाट लागुऔषध गाँजासहित एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनीका २२ वर्षीया विजय कुमार महतो रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
शनिबार साँझ ७ बजे बिआर ३२के ९१२७ नम्बरको स्कार्पियोमा सवार पाँचजना व्यक्तिहरु संकास्पद रुपमा महोत्तरीको बर्दिवासबाट ढल्केवरतर्फ आइरहेको भन्ने विशेष सूचनाको आधारमा इप्रको टोलीले चेकजाँच गरिएको थियो ।
पाँचजना सवार रहेको उक्त स्कार्पियोलाई ढल्केवर चेकप्वाइन्टमा चेकजाँचका लागि रोक्न खोज्दा नरोकी जनकपुरतर्फ भाग्न खोज्ने क्रममा प्रहरी टोलीले पछ्याएपछि उनीहरुले गाडीबाटै गाँजा भएको प्लाष्टिकको बोरा फालेर भाग्न खोज्दा स्कार्पियो पुलमा ठोकिएर दुर्घटना भएको प्रहरी निरीक्षक सुवेदीले जनाए ।
उनका अनुसार दुर्घटना हुनसाथ गाडीमा सवार पाँचैजना भागेका थिए। उनीहरुलाई खोजतलास गर्ने क्रममा उखु घारीबाट महतोलाई पक्राउ गरिएको प्रहरी निरीक्षक सुवेदीले जनाए । गाडीमा सवार अन्य व्यक्तिहरु फरार रहेको उनले बताए ।
प्रहरी निरीक्षक सुवेदीका अनुसार गाडीबाट फालेको बोराबाट साढे १९ केजी गाँजा बरामद भएको हो । उनीहरु सवार गाडी समेत प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !