नेपाली नक्कली रुपैयाँसहित दुई भारतीय पक्राउ
मलंगवा : सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ८ स्थित भन्सार नाकाबाट नेपाली नक्कली रुपैयाँसहित दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सीतामढी जिल्ला सोनवर्षा ग्रामपंचायत वडा नं. १ बस्ने ४८ वर्षीय प्रमोदकुमार र सोही ग्रामपञ्चायत वडा नं. ६ चिलराका ३७ वर्षीय आशीषकुमार रहेको सशस्त्र प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट प्रहरीले एक हजारका नोट एक सय ४७ ओटा र खुल्ला नक्कली १ सय ४७ रुपैयाँ र भारतीय ४७ हजार ५ सय ६० रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बि आर ३९ वाइ ४१३९ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई गोरखकाली भन्सार नाकाबाट पक्राउ गरिएको हो।
गोप्य सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण कलिबासी र सुरक्षा बेश क्याम्प मलंगवाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।