गोरखामा समताको पढाइ ठप्प
गोरखा : गोरखाको समता शिक्षा निकेतन ९ महिनादेखि बन्द छ। सय रुपैयाँमा ‘स्कुलदेखि कलेज’सम्म पढाइ गर्ने गरी उक्त विद्यालय स्थापना गरिएको हो। विद्यार्थी भर्ना शून्य भएपछि आफूले कार्यालय मात्र सञ्चालन गरेर बसेको शिक्षिका मेनुका पन्तले बताइन्। ‘वैशाखदेखि कोही पनि भर्ना हुन आएनन्’, उनले भनिन्, ‘अहिले म एक्लै स्कुलको ढोका खोलेर बसेको छु।’
कोरोना महामारीका कारण त्यतिबेला सबै विद्यालय बन्द रहे पनि साउनदेखि अरू विद्यालय खुलेका थिए। तर, व्यवस्थापनले समता सञ्चालन नगरेको हो। समता बन्द भएपछि यहाँ पढ्ने विद्यार्थीहरू नजिकका सामुदायिक तथा बोर्डिङ स्कुलमा भर्ना भएका छन्। ‘बन्द नभएको भए त यहाँको पढाइ एकदम राम्रो थियो, तर बन्द भयो,’ स्थानीय मित्र नेपाली भन्छन्।
कोरोनाले अर्थतन्त्र तहसनहस भएकोले विद्यालय सञ्चालन गर्न नसकेको समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलको भनाइ छ। ‘कोभिडले विश्वभरको अर्थतन्त्र तहसनहस बनायो। त्यसकै असरले थला परेको समता उठ्न नसकेको हो। अरू कुनै कारण छैन,’ सञ्जेलले भने, ‘अब नयाँ शैक्षिक सत्र वैशाखबाट पक्कै सुरु हुनेछ।’ लामो समय बन्द भएपछि गोरखा नगरपालिका–६ ढाँडगाउँमा अवस्थित निकेतनको टहराहरू अस्तव्यस्त छन्। बाँसका कप्टेराले बारेको र जस्तापाताले छाएको विद्यालयको झ्यालढोका ह्वाङ्गै बनेको छ। वरिपरि झाडी उम्रिएर ढाकेको छ। विद्यालयको पक्की संरचना बनाउन स्थानीय राजुबाबु श्रेष्ठले बुबा ईश्वरीप्रसाद र आमा ईश्वरीदेवीको स्मृतिमा ५ रोपनी ७ आना जग्गा दान गरेका थिए।
सो जग्गामा अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले १२ वर्षअघि संयुक्त रूपमा शिलान्यास गरेका थिए। तर, अहिलेसम्म भवन निर्माण हुन नसक्दा जस्ताको टहरोमै सञ्चालित थियो।
‘निकेतन सञ्चालन गर्न व्यवस्थापनले चरम हेलचेक्र्याइँ गरेको छ,’ जग्गादाता तथा गीतकार राजुबाबु श्रेष्ठ भन्छन्। सो जग्गा फिर्ता गरेर गुरुकूल तथा मानव सेवाआश्रमलाई दिने पहल गरिरहेको उनले बताए। उनले भने, ‘देशभरका समता शिक्षा निकेतन प्रशंसनीय रहे पनि गोरखाको व्यवस्थापनले समताको बद्नाम गरेको छ।’
प्रतिक्रिया दिनुहोस !