आफ्नो समीक्षा गर्दै माओवादी सम्मेलन
![आफ्नो समीक्षा गर्दै माओवादी सम्मेलन](https://annapurnapost.prixacdn.net/media/albums/maoist-p-1st-general-convention_20211223021308_9GIMKoDP9P.jpg)
काठमाडौं : माओवादी केन्द्रले आसन्न राष्ट्रिय सम्मेलनमा आफ्नो पार्टीको बारेमा ‘गम्भीर’ समीक्षा गर्ने भएको छ। पहिलो संविधानसभा निर्वाचनमा प्राप्त जनमतदेखि एमालेसँगको एकता भंग भएपछिको अवस्थाबारे छलफलको तयारी रहेको उसले जनाएको छ।
‘०६४ सालको ठूलो पार्टी कसरी सानो भयौं ?’, प्रवक्ता कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलनमा भने, ‘सानो पार्टी हँुदा र पार्टी एकता गर्दा भोगेका समस्याको समीक्षा हुनेछ। यो विचार निर्माण गर्ने सम्मेलन हो।’ समीक्षाको मोडेलबारे भने अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन तयार भएपछि तय हुने प्रवक्ता महराको भनाइ थियो।
०६४ सालको ठूलो पार्टी कसरी सानो भयौं ? समीक्षा हुनेछ।
कृष्णबहादुर महरा, प्रवक्ता, माओवादी केन्द्र
महराले पार्टीलाई कसरी नयाँ क्रान्तिकारी बनाउने भनेर छलफल हुने बताए। ‘अरूले जस्ता पार्टी बनाएका छन् हामीले त्यस्तो बनाएर हुँदैन’, महराले भने, ‘क्रान्तिका बाँकी कार्यभार पूरा गर्न कसरी क्रान्तिकारी पार्टी बनाउने भनेर पनि छलफल गर्छौं।’
माओवादी फरक किसिमको पार्टी निर्माणमा जुट्ने उनले बताए। ‘कसरी नेपाली जनताको रूपान्तरणको सपनालाई पूरा गर्न सक्छौं भन्नेमा केन्द्रित हुनेछौं’, उनले भने।
उनले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनको तयारीबारे जानकारी दिएका थिए। यो सम्मेलन पार्टी र विचार निर्माणमा केन्द्रित हुने उनको भनाइ थियो। भने, ‘सम्मेलनमा दुईवटा विषयमा छलफल हुन्छ। पहिलो, पार्टी निर्माण र दोस्रो विचार निर्माण हो।’
विचार र पार्टी कस्तो बनाउने भन्ने तय भएपछि मात्र नेतृत्वको कुरा आउने उनले सुनाए। उनका अनुसार सम्मेलनमा पार्टीका नेता, कार्यकर्ता मात्रै सहभागी हुनेछन्। स्वदेशबाट र विदेशबाट कोही पनि पाहुना नबोलाइने जनाइएको छ। १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने भएका छन्। केही हिमाली जिल्लाबाहेक वडा र प्रदेश सम्मेलन सम्पन्न भइसकेको माओवादीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)