गोरखाका विद्यार्थी जुटे आलुखेतीतिर
गोरखा : पालुङ्टार नगरपालिका-९ को त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीे आलुखेती तर्फ लागेका छन् । स्थानीय एक किसानको १० रोपनी खेत भाडामा लिएर आलु खेती गरेको विद्यालयका प्रधानाध्यापक गणेश सेढाईले जानकारी दिए ।
सो विद्यालयले यसै वर्षदेखि कृषि प्राविधिक विषयको पनि पठनपाठन सुरु गरेको छ । प्रयोगात्मक, व्यवहारिक तथा व्यवसायिक सिकाइतर्फ प्रेरित गर्न विद्यार्थीलाई आलुखेतीमा लगाइएको प्रधानाध्यापक सेढाईले जानकारी दिए । विद्यार्थीलाई प्रयोगात्मक रुपमा खेती गराउन विद्यालयले स्थानीय किसानको १० रोपनी खेत दुईलाख रुपैयाँ भाडा तिरेर पाँच वर्षका लागि भाडामा लिएको छ ।
‘कक्षा नौका विद्यार्थीको नेतृत्वमा १० रोपनी जग्गामा छ सय किलोग्राम स्थानीय जातको अर्गानिक आलु लगायौ’, प्रधानाध्यापक सेढाईले भने, ‘उनीहरुलाई स्थानीय थानीमाई किसान समूह, स्थानीय अभिभावकहरु, विद्यालय व्यवस्थापन समितिले पनि साथ र सहयोग गरेका थिए ।’ स्थानीय बगुवा खेत भाडामा लिएर आलुखेती गरिएको हो ।
कृषि पढाइको प्रयोगात्मक सीप पनि बढ्ने, विद्यार्थीलाई खेती प्रणालीमा आकर्षण पनि गराउने र विद्यालयलाई धेरथोर आम्दानी पनि हुने हुनाले आलुखेती गरिएको विद्यालयको भनाइ रहेकोछ । ‘यस वर्षदेखि विद्यालयमा कृषि प्राविधिक(बाली विज्ञान) पठनपाठन सुरु भएको छ’, प्रधानाध्यापक सेढाईले भने, ‘प्रयोगात्मक परियोजनाका लागि बगुवाको १० रोपनी खेत पाँच वर्षका लागि दुई लाख रुपैयाँमा भाडामा लिएका छौँ । आलु बेचेको आम्दानीको २५ प्रतिशत विद्यार्थीलाई नै दिन्छौ ।’ आलुजस्तै सिजन अनुसारका अन्य कृषि बाली खेती पनि गर्दै जाने लक्ष्य रहेको उनले बताए ।
कमाउँदै सिक्दै गर्ने कार्यलाई सरकारले पनि प्रोत्साहन गर्ने कार्यक्रम रहेकाले यसलाई निरन्तरता दिँदै जाने विद्यालयको योजना रहेको उनले बताए । यसले नगरपालिकाले अवलम्बन गरेको ‘समृद्ध पालुङ्टार, सुखी पालुङ्टार’ नारालाई साकार पार्न सहयोगी भूमिका निर्वाह गर्ने प्रधानाध्यापक सेढाईले विश्वास ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस !