किन रोज्यो माओवादीले भूल सुधार ?
![किन रोज्यो माओवादीले भूल सुधार ?](https://annapurnapost.prixacdn.net/media/albums/maoist-voncention_20211227003520_oWCRbxUR1z.jpg)
काठमाडौं : माओवादी अध्यक्ष पुष्पकमल दाहालको चिन्ता र चासो छ– ‘पार्टी कसरी बिग्रियो, अब कसरी उँभो लगाउने ?’
झन्डै ३३ वर्ष एकछत्र नेतृत्व गरेका दाहालले पहिलो पटक ‘आत्मालोचना’सहितको राजनीतिक दस्तावेज आठौं राष्ट्रिय महाधिवेशनमा पेस गरेका छन्। दाहालले आफ्ना कतिपय पूर्ववत् निर्णय प्रक्रियामा आत्मालोचना नै गरेका छन्। ‘सामूहिक’भन्दा आफ्नो मनोगत निर्णयले पार्टीमा काम गरेको निष्कर्ष उनले निकालेका छन्।
‘राजनीतिक पार्टीहरू आमरूपमा सिद्धान्तबाट निर्देशित हुनुपर्ने हो,’ नेता राम कार्कीे भन्छन्, ‘कुनै पनि दल सिद्धान्तबाट निर्देशित भएनन्। कम्युनिस्ट पार्टीहरू कांग्रेस र राप्रपाभन्दा भिन्न देखिएनन्।’
कुनै पनि दल सिद्धान्तबाट निर्देशित भएनन्। कम्युनिस्ट पार्टीहरू कांग्रेस र राप्रपाभन्दा भिन्न देखिएनन्।
– राम कार्की
आफूलाई धुरी चढाउने प्रवृत्ति हावी भयो। सामूहिक स्वार्थ र नेतृत्वमा नलैजाने हो भने पार्टीलाई उँभो लगाउन कठिन हुन्छ।
– जयपुरी घर्ती
दाहालले पनि माओवादी र अन्य पार्टीमा खासै भिन्नता देखिन छाडेको स्वीकार गरेका छन्। ‘कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति नेता÷कार्यकर्तामा बढ्दै गएको’ प्रतिवेदनमा उल्लेख छ।
‘पार्टीमा आत्मकेन्द्रितवाद बढेका कारण यो अवस्था सिर्जना भएको हो। आफूलाई धुरी चढाउने प्रवृत्ति भयो। सामूहिक स्वार्थभन्दा पनि व्यक्तिगत रूपमा सोचियो’, नेतृ जयपुरी घर्ती मगर भन्छिन्। सामूहिक स्वार्थ र नेतृत्वमा नलैजाने हो भने पार्टीलाई उँभो लगाउन कठिन हुने उनको तर्क छ।
सांसद रामनारायण बिडारी संविधानसभा चुनावमा भाग लिइसकेपछि पनि माओवादीको दिमागमा विद्रोह नै कायम रहेकाले पार्टीलाई ठूलो क्षति पुगेको बताउँछन्। ‘संविधानसभाबाट राम्रो संविधान निर्माण हुन सकेन’, बिडारीको विश्लेषण छ, ‘त्यही संविधानलाई टेकेर जनवादी क्रान्तिसहित समाजवादबाट साम्यवादतिर जाने नीति पार्टीको थियो। त्यो कार्य सम्पन्न गर्न सकिएन। त्यसकारण रामबहादुर थापा एकातिर, मोहन वैद्य अर्कोतिर लाग्नुभयो। दोस्रो संविधानसभापछि डा. बाबुराम भट्टराईले पार्टी छोड्नुभयो, नेत्रविक्रम चन्दले अर्को पार्टी खोल्नुभयो।’
पार्टीका केन्द्रीय सल्लाहकार ठाकुरप्रसाद चापागाईं जनमतको कदर गर्न नसक्दा पार्टीलाई ठूलो क्षति पुगेको बताउँछन्। ‘२०६४ सालमा जनताले एक खालको भावमा हामीलाई ठूलो पार्टी बनाए’, चापागाईं भन्छन्, ‘जनताको विश्वासलाई बचाउन सकेनौं। जनताको मनोभावना अनुरूप गर्न सकेनौं।’
ज्यानको बाजी थापेर युद्धमा होमिएका युवाहरूलाई स्वदेशमै राख्न नसक्नु माओवादीको अर्को गल्ती भएको उनको भनाइ छ। ‘देशमा रोजगारीको अवस्था सिर्जना गरेर युवालाई उत्पादनसँग जोड्न नसक्नु मुख्य कमजोरी हो’, उनी भन्छन्।
पार्टी बिग्रेकोमा कार्यकर्ता पनि नेताजस्तै चिन्तित छन्। पार्टीको १ नम्बर प्रदेश कमिटी सदस्य मुन्नी मेहता दलित, मधेसी, आदिवासी जनजाति, महिलाका मुद्दालाई समेट्न नसक्नु प्रमुख कमजोरी भएको बताउँछिन्। ‘पार्टीमा आफ्नैको खुट्टा तान्ने प्रवृत्ति हावी भयो,’ मेहता भन्छिन्। संखुवासभाका महाधिवेशन प्रतिनिधि बाबुराम राई अध्यक्षले नै आत्मालोचना गरिसकेकाले व्यवहारमा लागू हुनुपर्ने बताउँछन्। ‘क्रान्तिबाट क्रान्ति सिक्ने कुरा, युद्धबाट युद्ध लड्ने क्रममा केही समस्या र सीमाहरू थियो,’ उनी भन्छन्, ‘केही ठाउँमा माओवादी चुक्यो पनि।’
सर्लाहीकी माया बलका अनुसार नेताहरूमा विलासिताको लोभकै कारण पार्टी बिग्रेको हो। ‘जनताको घरमा गयो भने अहिले नेताहरूलाई भात पनि दिँदैनन्’, उनी भन्छिन्। वीरगन्जका बाबुराम कौसिक खुला राजनीतिक परिवेशमा आए पनि पुँजीपतिहरूको दबदबाले पार्टीमा विचलन ल्याएको बताउँछन्।
२ नम्बर प्रदेशसभा सदस्य रामकुमार यादव भन्छन्, ‘नेताहरू र जनयुद्धको आधारभूमिलाई पार्टीले व्यवस्थित गर्न सकेन। प्रचण्ड (दाहाल)ले आफ्नो टाउकोमा आफैं आगो लगाएर समीक्षा गर्नुभएको छ। यो नै पार्टी सुधारको ठूलो पक्ष हो।’
सर्लाहीकी महाधिवेशन प्रतिनिधि सरस्वती मिश्र दलाल पुँजीपतिले पार्टीमा धक्का पु¥याएको बताउँछिन्। ‘दलाल पुँजीपति वर्गबाट पार्टी नटाढिएसम्म उँभो लाग्न सक्दैन,’ उनी भन्छिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)