यस्तो होस् समाजवादको सोच
![यस्तो होस् समाजवादको सोच](https://annapurnapost.prixacdn.net/media/albums/atindra-dahal_20211229022227_h7DjMI9uLM.jpg)
प्रतिव्यक्ति क्रय क्षमतामा आधरित र मापन हुने स्वनिर्भर आर्थिक विकास समाजवादको पहिलो सर्त हुन्छ।
समाजवाद पछिल्लो विश्व राजनीतिको प्रमुख शब्द र उच्च अपेक्षासमेत हो। हाम्रोमा त प्रत्येक दलले समाजवादी आचरणको देश निर्माणको दुहाई दिँदैछन्, संविधानमा समेत समाजवाद उन्मुख भनेर उल्लेखित छ। हरेक राजनीतिक दल, अधिकांश नेताहरू, विश्वविद्यालयभित्रका शैक्षिक तथा राजनीतिक बहसपैरवी अनि वादविवाददेखि सार्वजनिक खपतका अधिकांश वक्तव्यबाजीहरूमा समाजवाद शब्दको प्रचलन बढेको छ। दलहरू यदाकदा विज्ञहरूसँग यस विषयमा देखावटी सत्संग गर्छन्। यद्यपि समाजवादको प्रस्ट खाका अनि आम नागरिकले बुझ्ने ठोस मार्गचित्र र योजनाहरू भने कसैसँग छैन।
केही प्रचलनहरू यस्ता हुन्छन् जसलाई अवधारणात्मक हिसाबमा पछि उपयुक्त र परिस्कृत शब्द दिए पनि अभ्यास चाहिँ निकै प्राचीन समयदेखि चलिआएको हुन्छ। आजकल उद्यमशीलता शब्द निकै प्रचलनमा छ तर जतिखेर उक्त शब्द नै प्रयोगमा थिएन त्यसबखत पनि समाजमा उद्यमशीलताका विभिन्न अभ्यास र आयामहरू थिए। वाणिज्य आचरण (बिजिनेस इथिक्स) शब्दको प्रयोग नहुँदा चाहिँ वाणिज्य गतिविधि पूरै आचरण र नैतिकताविहीन थिएन। परिवारसम्बन्धी कानुनमा श्रीमान् श्रीमतीले एकअर्कालाई माया गर्नुपर्छ भनेर लेखिएको हुन्छ। कानुनमा नलेखेको बेला चाहिँ माया गर्दैनथिए भन्ने होइन, वास्तवमा झन् बढी र असीम माया देखिन्थ्यो। अधिकांश सिद्घान्तहरू सोचका हिसाबमा हालसालै प्रतिपादित भए पनि त्यसका विभिन्न आयाम र अभ्यासहरू शदियौंदेखि चलिआएको हुन सक्छ। तसर्थ बहसमा आएमा हरेक आशयलगायत समाजवादलाई पनि दुवै पक्षहरू अवधारणात्मक र अभ्यासका हिसाबले विवेचना तथा विचरण गर्नुपर्छ।
शब्दहरूको विनिर्माणसम्बन्धी अध्ययनको तरिका ‘इटिमोलोजी’को आधारमा समाजवाद शब्द प्राचीन ल्याटिन शब्द ‘सोसिया’बाट आएको देखिन्छ। उक्त मूल शब्दको अर्थ सबैबीच समान हिसाबको भलाई सोचेर कुनै स्रोतसाधन र सामथ्र्यलाई विभाजन अथवा वितरण गर्नु भन्ने लाग्दछ। समाजवाद नै भनेर चाहिँ पेरे लेरग्ंस नामक लेखकले सन् १८३२ मा लेखेको पाइन्छ।
सन् १८३२ बाट लगभग १ सय १३ वर्षको अवधि सन् १९४५ सम्मलाई समाजवादको प्रारम्भिक चरण मानिन्छ, त्यसबेला समाजवाद शब्दमात्रै थियो। राजनीति, अर्थव्यवस्था, समाज, न्यायलगायतका हरेक क्षेत्रमा समाजवादी रूपान्तरण गर्नुपर्छ भन्ने भाषण र वक्तव्यबाजी देखिन्थे। बौद्घिक विलासिता र बुद्घिविलासको सस्तो विषय बनेको थियो तर कुनै खाका वा स्पष्ट योजना चाहिँ कसैसँग थिएन।
समाजवादको दोस्रो कालखण्ड सन् १९४५ पछि १९९० को अवधिसम्म हो। यो चरणमा भएका सबै संरचना र अवधारणाहरूको बर्खिलाप गर्ने, यथास्थितिलाई उन्मूलन गर्ने, विकल्प केही नभए पनि अहिले भएको चाहिँ स्वीकार्य नहुने भन्दै जसरी पनि त्यसलाई भत्काउनु पर्ने मान्यताले समाजलाई बन्धक बनायो। लेनिन, स्टालिन, हो ची मिङ, पोलपोटजस्ता शासकहरूले यथास्थितिलाई परिवर्तन गर्ने नाममा नरसंहार गरेर आफूलाई स्थापित गरे। आततायी विध्वंसलाई समाजवाद भन्ने भ्रम र भुलभुलैयामा दोस्रो चरण सकियो। समाजवादको आधुनिक चरण स्वरूप सन् १९९० पछि विकल्प र मार्गचित्रसहितको अवधारणा विकास भई अभ्याससमेत हुन थालेको छ। यसले नयाँ समाज र संस्कार निर्माणको उपाय सुझाउँछ, राजनीतिलाई कम अनि अर्थ सामाजिक सभ्यतालाई बढी प्रोत्साहित गर्छ। विभिन्न ठोस अभ्यास र कार्यनीतिसमेत प्रतिपादन भएका छन्।
अभ्यासका हिसाबले समाजवादका दुईवटा चरणहरू प्रधान देखिन्छन्। जंगली सभ्यताको समयलाई पौराणिक साम्यवाद भनेर इतिहासमा बताइए जस्तै पौराणिक समाजवाद चाहिँ बौद्ध दर्शन र बौद्ध सभ्यताका समाजहरूको अभ्यासमा भएको पाइन्छ। बुद्घका सिद्घान्त विशेषगरी ‘विनय पिटक’ र ‘जकता कथाहरू’ भित्रका सन्देशका कारण समाजको नयाँ पुनर्संरचना र पुनर्निर्माण भएको थियो भन्ने लेखिएको देखिन्छ। पछिल्लो पटक आर्थिक हिसाबले अत्यन्त सशक्त गति लिएका केही देशहरू छन्। अर्थ विश्लेषकहरू जापान, चीन, थाइल्यान्ड, भियनताम, दक्षिण कोरिया, सिंगापुर, हङकङजस्ता देशहरूको आर्थिक प्रगति बाघको हिँडाइजस्तो धेरै उफ्रने खालको भन्दै ती देशहरूलाई ‘टाइगर इकोनोमी’ भन्छन्।
अझ भियतनाम, कोरिया, चीन र ताइवानको विकासलाई त बाघको गतिले सही मापन नगर्ने भन्दै ड्रागन लम्किएजस्तो विकास भनेर ‘ड्रागन इकोनोमी’को संज्ञा दिन्छन्। आज त्यसरी दु्रत विकसित देशहरू अधिकांश बौद्ध धर्मावलम्बी भएकाले बौद्ध दर्शन र त्यतिखेरका बौद्ध सभ्यताको अनुसरण पनि एक कारण हो भन्नेमा अन्तर्राष्ट्रिय जगत्का थुप्रै अध्येता र शोधार्थीहरू सहमत हुँदैछन्। ‘सर्मन’, ‘सर्वोदय’, ‘धम्मप्रशासन’, ‘चक्रवर्ती राजा’, ‘दशविधा राजधर्म’जस्ता बौद्ध दर्शनभित्रको अभ्यासले समाजवाद विभूषित समाज निर्माण गरेको थियो।
अहिले यसको अधिकतम उत्कृष्ट र अनुपम अभ्यास चाहिँ चीनले गरेको छ। ऊ स्वयंले आपूmलाई समाजवादी लक्षमा अभिप्रेरित भनेको छ। अरू देशहरूले पनि चीन समाजवादको उत्कर्षमा पुगेको भनेर दाबा गर्ने गर्छन्। विशेषगरी सी चिङ फिङको उदयपछि चीनले जुन फड्को मार्यो त्यसले विश्व तरंगित छ। फरिद जकारियाले ‘पोस्ट अमेरिकन वल्र्ड’ पुस्तक लेखेर पहिल्यै यस्तो भविष्यवाणी गरेका थिए। सम्राट् नेपोलियन बोर्नापाटले ‘चीन सुतिरहेको सिंह हो उसलाई अहिले सुत्न देऊ, जब ऊ ब्युँझन्छ तब संसारलाई कम्प दिनेछ’ भनेर टिप्पणी गर्थे भन्ने गरिन्छ।
रोष दुषीको पुस्तक ‘द लंग गेम, गे्रट स्ट्राटेजी टु डिस्प्लेस अमेरिकन वल्ड अर्डर’ले पनि यसलाई पुस्टि गर्दछ। विशेषतः चीनले पछिल्ला दुई दशक सूचना प्रविधि, सैन्य शक्ति, अर्थशक्ति अनि अन्तर्राष्ट्रिय सम्बन्धमा बनाएको हैसियतबाट उसलाई यो सफलता मिलेको भनेर बताइएको छ। चिनियाँ कम्युनिस्ट पार्टीले दुई शताब्दी सपना, अर्धशताब्दी रणनीति तथा ३० वर्षे कार्ययोजना बनाएरै समाजवाद प्राप्तिका लागि काम गर्ने घोषणासहित सशक्त गतिविधि थालेको प्रस्ट हुँदैछ। उक्त समाजवादी सोचमा मुख्यतया तलका १० वटा सूचांकलाई निर्णायक मानिएको देखिन्छ।
एक, प्रतिव्यक्ति क्रय क्षमतामा आधरित र मापन हुने स्वनिर्भर आर्थिक विकास समाजवादको पहिलो सर्त हुन्छ। तर हामी विप्रेषण तथा वैदेशिक सहयोगलाई मुख्य आर्थिक चरित्र बनाएर धानिएका छौं। विश्व बैंकको प्रतिवेदन ‘लार्ज स्केल माइग्रेन्ट्स एन्ड रेमिट्यान्स इन् नेपाल’ले भन्छ संसारभरका लगभग २ सय ३२ मिलियन वैदेशिक कामदारबीच नेपाली पनि अधिक छन्। ताजकिस्थान र गणतन्त्र किरगिजपछि नेपाल विप्रेषणमा आधरित तेस्रो ठूलो देश हो। १५ खर्बको बजेटमा ११ खर्बभन्दा बढी रेमिट्यान्सको भूमिका छ। हाम्रा उर्वर ६० लाख शक्तिहरू अरूको देश समृद्घ बनाउन अहोरात्र विवेक, पसिना अनि श्रम खर्चंदैछन्। अर्कोतिर १९५४ मा प्रतिव्यक्ति १५.६ अमेरिकी डलर नजिक रहेको वैदेशिक सहायता आज प्रतिव्यक्ति झन्डै तीन सय डलर छ। गएको ७० वर्षमा दुई सय गुणाले बढेको वैदेशिक सहायताले बजेटको ठूलो हिस्सा ओगट्छ।
समाजवाद हाम्रो लक्ष्य हो भने दुवै बाटा छोडी हामीले आफ्नै सम्भावनाका आधारमा आर्थिक विकास खोज्नुपर्छ। व्यावसायिक कर्जा सुनिश्चित गर्नुपर्छ। कृषिको औद्योगीकरण गर्नुपर्छ। रोजगारी वितरणमा स्वदेशीलाई प्राथमिकता दिनुपर्छ। व्यावसायिक सोच र रोजगारी अभिमुखीकरणमा ज्ञान दिनुपर्छ। पर्यटनलगायत अन्य सम्भावनाका क्षेत्रको पहिचान गर्नुपर्छ। स्वदेशी वस्तुको उपभोगमा जोड दिनुपर्छ। श्रमको सम्मान गर्नुपर्छ। विभिन्न प्रकारका कलकारखानाहरू तीव्र गतिमा खोल्नुपर्छ। बहुमूल्य खनिजको उत्खनन र उपभोगमा जोड दिनुपर्छ। स्वनिर्भर आर्थिक विकास र समृद्घिको पूर्णतया स्वदेशी निर्माण तथा अभ्यास हुनुपर्छ। समाजका अरू धनी व्यक्तिको सम्पत्ति जोडेर प्रतिव्यक्ति आय होइन कि व्यक्तिसँग भएको सम्पत्तिको क्रय क्षमता हेरेर आर्थिक सूचांक मापन गर्नुपर्छ।
दोस्रो, नागरिक एकता र प्रधानता हो। हामीमा नागरिकबीच विभाजन र टकराव उच्च छ। विभिन्न बहानामा आफू÷आफू लडेर विध्वंस र विनाशउन्मुख बन्दैछौं। नेतृत्वले पनि विदेशमा गएर बसेका, अर्काको विकासलाई सघाएका रैतीलाई बढी प्राथमिकता अनि महŒवका साथ स्पेस दिन्छ। देशलाई माया गर्दै सकेको योगदान गरेर यही बसेकाहरूमाथि प्रायोजित उपेक्षा गर्दछ।
तेस्रो, हरेक गतिविधिमा वैज्ञानिक प्रगतिशीलता अनुसारको परिवर्तन र चौथो, आम मानव समाजमा सकारात्मक मनोविज्ञान निर्माण गर्नुपर्छ। अहिले यी दुवै पक्षमा उच्च ऋणात्मक अवस्था देखिन्छ। निराशा र नकरात्मकताको रेखा चुलिँदो छ। पाँच, नेतादेखि नागरिकसम्म सबैमा उच्च नौतिक आचरण र सबल सोचको निर्माण गर्न सक्नुपर्छ।
छैटौं, देशलाई आन्तरिक रूपमा सुदृढ र बाह्य रूपमा सम्मानित बनाउन प्रस्ट कार्ययोजनाहरू प्रस्तुत गर्दै त्यसको सशक्त अनुसरण हुनुपर्छ। तर नेतृत्वमा भाषणबाजीभन्दा अन्य कौशल देखिँदैन। सात, नागरिकलाई गुणस्तरीय जीवनयापनको वातावरण बनाइदिनुपर्छ। भौतिक सुविधा तथा नेतृत्वको आत्मीयता अभिवृद्घिको सूचांकले यसको प्रत्याभूति गर्दछ। आठ, सबै नागरिक तथा पेसा अनि व्यवसायकर्मीहरूमा आफ्नो कर्ममार्पmत देश निर्माणको जिम्मेवारी बोध हुनुपर्छ। काम आफ्नो तथा परिवारको जीवनयापन अनि फाइदाको लागिमात्र नभएर देशको विकासप्रति लक्षित बन्नुपर्छ। नौ, आम नेतृत्व र उच्च पदस्थदेखि स्थानीय तहसम्मका नेतामा दर्शन र जीवनको सामीप्यता हुनुपर्छ। तर हाम्रो नेतृत्वमा व्याप्त सर्वहारावादी विचारको भाषण दिएर सर्वभोगवादी विलासिताले नागरिक आकर्षण तथा विश्वास दुवै गुम्दैछ। दस, व्यक्तिगत स्वच्छन्दताको सट्टा सामूहिक तथा सामाजिक भलाइलाई हरेक क्रियाकलापको केन्द्रमा राख्नुपर्छ। ड्यानियल बेलको ‘द चाइना मोडल’ नामक पुस्तकमा चीनका यस्ता स्वरूपहरूको सविस्तार वर्णन छ।
यी दसैवटा पक्षहरूको केन्द्रमा चाहिँ विज्ञता केन्द्रित र निर्देशित राजनीति रहन्छ। विज्ञबीचको घनिभुत छलफल अनि सत्संगबाट योजना निर्माण हुनुपर्छ। राजनीतिले त्यसलाई निर्भयताका साथ लागू गर्ने आँट गर्नुपर्छ। हाम्रो वर्तमान अभ्यासमा दसैवटा सूचांकमा नकरात्मकता हाबी छ, सम्भावना कम र संशय बढी अनुभूत हुन्छ। समाजवादलाई साँच्चै सजाउने भए दस परिसूचकलाई लक्ष्य मानेर विज्ञता केन्द्रित राजनीतिको अभ्यास सुरु हुनुपर्छ, अन्यथा समाजवादको सपना केवल एक सौखिन आत्मरति बन्नेछ।
समाजवाद पछिल्लो विश्व राजनीतिको प्रमुख शब्द र उच्च अपेक्षासमेत हो। नेपालको सन्दर्भमा यद्यपि समाजवादको प्रस्ट खाका, ठोस मार्गचित्र र योजनाहरू भने कसैसँग छैन।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)