सोती माछाखोला सडकमा बस चल्न पाएन, ट्रक र जीपमा जोखिमपूर्ण यात्रा गर्न बाध्य
गोरखा : नेपाली सेनाले निर्माण गरेको बेनिघाट, आरुघाट, माछाखोला सडकमा शुक्रबार बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक मध्यान्ह १२ बजे सडकबाट बुढीगण्डकीमा खस्दाँ चालक त्रिपुरासुन्दरी गाउँपालिका-४ धादिङ टारीगाउँका २३ वर्षीय निराजन नेपाल र सोहि ठाउँका २० वर्षीय दिपक परियार र गोरखाको धार्चे गाउँपालिका-३ उहियाका २ वर्षीया सपना गुरुङको मृत्यु भयो ।
धार्चे-५ सिङ्लाका आशमान गुरुङ, धार्चे-३ उहियाकी शरणी गुरुङ र धार्चे-५ माछीखोलाकी अस्मिता गुरुङलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको डिएसपी प्रकाश दाहालले जानकारी दिए ।
तीनजनाको सिटमा छ जना कोचिएर बसेका कारण चालकले सन्तुलन गुमाएर दुर्घटना भएको स्थानीयको भनाइ छ । हावाडाँडादेखि माछाखोला हुँदै रुइलासम्म पुर्याउने लक्ष्यका साथ नेपाली सेनाले सडक निर्माण गरिरहेको छ ।
माछाखोलासम्मको खण्ड निर्माण सम्पन्न भएर पनि तीन वर्ष अघिदेखि ट्रक लगायतका अन्य सवारी साधन चलेपनि बस चल्न भने सेनाले अनुमति दिएको छैन । बस चलाउने अनुमति नपाउँदा सो सडकमा यात्रु चर्को भाडा तिरी जोखिम मलेर जीप तथा ट्रकमा यात्रा गर्न बाध्य छन् ।
‘माछाखोलासम्म ट्रक, जीप ट्याक्टरलगायत सबैखाले सवारी साधन चल्छन् तर बस चलाउने अनुमति दिएको छैन । आर्मीले रोक्छ’, गोरखा उद्योग वाणिज्य संघ, माछाखोला बजार इकाइका अध्यक्ष एवं माछाखोला टोल विकास संस्थाका अध्यक्ष धनकुमार गुरुङ भन्छन्, ‘त्यति १० किलोमिटरमा बस चल्न पाएको भए बढीमा एकसय रुपैयाँ भाडा तिरेर यात्रु आवतजावत गर्न पाउँथे तर जीपले चार सय ठटाउँछ । फेरि यति धेरै यात्रु कोचेर यात्रा गराउँछ कि, हेर्ने मान्छे नै डराउँछन् ।’
बस सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय, गाउँपालिकाको कार्यालय, नेपाली सेनालगायत सबै निकायसँग अनुमति माग्दा कतैबाट सुनुवाइ नभएको उनले बताए । ‘तीन वर्षदेखि नै हामीले सबै निकायमा निवेदन दिइरहेका छौँ, तर सुनुवाइ भएको छैन’, गुरुङले भने, ‘बस चलेको भए यात्रु कोचिएर यात्रा गर्नु पनि पर्दैनथ्यो, अहिलेजस्तो जोखिम पनि हुदैनथ्यो ।’
सो सडकमा बस सञ्चालनका लागि स्थानीय राजनीतिक पार्टीका नेताहरुले सक्रियता नदेखाएको सर्वसाधारणको गुनासो छ । ‘हामीले यस बिषयमा कुरा उठायौँ भने त जीप ब्यवसायी रिसाउँछन्, हाम्रो भोट घट्छ भन्छन् स्थानीय नेताहरु’, एक स्थानीयले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै भने, ‘१०-१५ जना जीप व्यवसायी रिसाए पनि सयौँ, हजारौँ गाउँले त खुसी हुन्थे तर नेताहरुले सर्वसाधारणको पिर मार्का बुझेनन्, ठूला व्यवसायीलाई खुसी बनाउनतिर मात्र लागे ।’ पाँच जनाको सिट क्षमता भएको सो सडकमा रातोप्लेट (निजी नम्बरप्लेट)का जीपले २० जनासम्म कोचेर यात्रा गर्ने उनले बताए ।
सो सडकमा बस सञ्चालनको अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयमा पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘गत पुस १ गते पनि गाउँले निवेदन दिन आउनु भएको थियो । मैले उहाँहरुको माग उल्लेख गरेर गृहमन्त्रालयमा अनुमतिका लागि पत्राचार गरेको थिए’, प्रजिअ आचार्यले भने, ‘गृहले भौतिक पूर्वाधार मन्त्रालयमा पत्राचार गरेकोसम्म जानकारी मलाई प्राप्त भएको छ । त्यहाँबाट कता के के भइरहेको छ, मलाई पनि जानकारी छैन ।’
प्रतिक्रिया दिनुहोस !