स्वास्थ्यकर्मी आइसोलेसनमा, सेवा प्रवाहमा सकस

स्वास्थ्यकर्मी आइसोलेसनमा, सेवा प्रवाहमा सकस

काठमाडौं : स्वास्थ्यकर्मी नै कोरोना संक्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन्। जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ। काठमाडौं, भक्तपुर र ललितपुरका कोरोना संक्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठूलो जनशक्ति संक्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ। 

टिचिङ अस्पताल महाराजगन्जमा एक सातामा ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेका अनुसार स्वास्थ्यकर्मी संक्रमित हुँदा शल्यक्रिया लगायतका सेवा प्रवाहमा समस्या छ। डा. काफ्लेले भने, ‘बिरामीको परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो। त्यसपछि स्वास्थ्यकर्र्मीको परीक्षण गर्दा उहाँहरूमा पनि संक्रमणको पुष्टि भयो।’ शिक्षण अस्पतालमा इन्टर्नसीप गरिरहेका एमबीबीएसका विद्यार्थी, रेसिडेन्सियल चिकित्सकलगायतका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। 

निजामती कर्मचारी अस्पतालमा चिकित्सक सहित ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले  चिकित्सक, नर्स र ल्याबमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित हुँदा सर्वसाधारणको उपचारमा चुनौती थपिएको बताए। उनले भने, ‘कोरोना संक्रमित बिरामीलाई गर्दै आएको सेवा प्रवाहलाई अब निरन्तर रूपमा चुस्त ढंगले कसरी गर्ने भन्ने चुनौती बढेको छ।’ 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यका अनुसार चार दिनको अवधिमा चिकित्सकसहित २५ जना कोरोनाबाट संक्रमित भइसकेका छन्। डा. शाक्यले भने, ‘स्वास्थ्यकर्मीलाई संक्रमण हुन नदिने चुनौती थपिएको छ।’

वीर अस्पतालमा तीन दिनको अवधिमा १५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ।  भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार, नर्स र ल्याबका काम गर्ने ७ जनामा संक्रमण पुष्टि भएको छ। 

‘संक्रमित स्वास्थ्यकर्मीको अवस्था सामान्य छ,’ गौतमले भनिन्, ‘सबै जना होम आइसोलेसनमा बसिरहनुभएको छ।’ डा. गौतमले स्वास्थ्यकर्मी संक्रमित हुने क्रम बढ्दै जाँदा अस्पतालको सेवा प्रवाहमा चुनौती थपिने बताइन्। संक्रमणको तीव्रताले अस्पतालमा चिकित्सक एवं स्वास्थ्यकर्मीको अभाव खड्किन सक्ने डा. गौतमले बताइन्। टिचिङ  हस्पिटलका  कोभिड फोकल पर्सन डा. निरज बमले कोभिडबाट  स्वास्थ्यकर्मी संक्रमित हुने दर बढदै गए अस्पतालको सेवा प्रवाह नै कटौती गर्नुपर्ने हुनसक्ने बताए । 

सशस्त्र प्रहरी बल बलम्बुका डा. प्रवीन नेपालका अनुसार पछिल्लो एक सातामा चारजना संक्रमित भएका छन्। डा. नेपालले भने, ‘अस्पतालमा खटिएका नर्सिङ र प्यारामेडिक्स गरी चारजनामा संक्रमण पुष्टि भएको छ। सबै जना आइसोलेसनमा बसिरहेका छन्।’ वीरेन्द्र अस्पताल छाउनीमा कार्यरत केही स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले उपत्यकाका अस्पतालमा स्वास्थ्यकर्मी नै संक्रमित हुँदा चुनौती थपिएको बताइन्। ‘सर्वसाधारणमा संक्रमणको बढ्दो दरसँगै  स्वास्थ्यकर्मीहरू पनि संक्रमित भइरहेका छन्,’ डा. मिश्राले भनिन्, ‘स्वास्थ्य जनशक्ति संक्रमित हुँदा उपचारमा चुनौती थपिएकोे छ।’ पछिल्लो २४ घण्टामा  मुलुकभर ३ हजार ५ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ३ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.