ड्रागनले जमिनको सदुपयोग

ड्रागनले जमिनको सदुपयोग

धनकुटा : धनकुटामा ड्रागन फलको व्यावसायिक खेती गर्ने किसानको संंख्या बढेको छ। सिँचाइ कम भएको, रुखो जमिनमा पनि बिरुवा सहजै हुर्कने र उत्पादनसमेत राम्रो हुने भएकाले ग्रामीण तथा सहरी क्षेत्रका किसान ड्रागनमा आकर्षित भएका हुन्। यसमा लगानी र मेहनत पनि कम लाग्ने किसान अमर याखाले सुनाए। उनले धनकुटा नगरपालिका–८ पिप्लेस्थित १२ रोपनी रुखो बारीमा ६ सयभन्दा बढी ड्रागनका बिरुवा लगाएका छन्।

‘अधिकांंश बिरुवाले गत वर्षदेखि नै फल दिन थालेका छन्। केही हुर्किरहेका छन्,’ याखाले भने, ‘गत सिजन फल बिक्रीबाट तीन लाख र विरुवा बिक्रीबाट आठ लाख रुपैयाँ आम्दानी गर्न सफल भएँ।’ 

ड्रागन खेतीका लागि सुक्खा क्षेत्र उपयुक्त छ। फलको भन्दा बिरुवाको माग अत्यधिक आउने थालेको उनले बताए। बिरुवा प्रतिगोटा २ सय ५० देखि ३ सय ५० रुपैयाँमा बिक्री हुने गरेको छ। काभ्रे, तेह्रथुम, भोजपुर, पाँचथरलगायतका जिल्लाबाट माग धेरै आएको याखा सुनाउँछन्। 

साँगुरीगढी गाउँपालिका–१ सिम्लेटोलका रामप्रसाद लिम्बूले पनि आठ रोपनीमा ड्रागन रोपेका छन्। २०७२ सालमा गोलभेँडा छाडेर ड्रागन खेतीमा लागेका हुन्। तीन सय पक्की पोलमा हुर्कदै गरेका आठ सय विरुवाले यस वर्षदेखि फल दिने उनले सुनाए।  ‘पोसिलो फलफूलभित्र पर्ने सिउडी प्रजातिको यो फल र बिरुवाको माग बजारमा अत्यधिक छ,’ लिम्बूले भने, ‘जिब्रोमै झुन्डिने स्वाद र बढ्दो बजार मागका कारण यसमा लागेका हुँ।’ 

जिल्लामा ड्रागन किसानको संख्या दिनप्रतिदिन बढिरहेको छ। बहुउपयोगी फलका रूपमा चिनिएको यसको कोपिला, फूल र फल सबै उपयोगी हुन्छ। फुलेको तीन दिनमा झर्ने र करिब ४० दिनमा फल पाकेर खान योग्य हुन्छ। ड्रागन प्रतिकिलो आठ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। अत्यधिक माग रहेकोले धान्न हम्मेहम्मे परेको याखा बताउँछन्। ड्रागन खेती सम्भाव्यताबारे पुस्तक लेखिसकेका जीवनप्रसाद राई रुखोपाखो बारीमा समेत खेती गर्न सकिने भएकाले किसानले धेरै फाइदा लिन सक्ने बताउँछन्। 

ड्रागनले रोपेको तीन वर्षदेखि फल दिन थाल्छ। वयस्क बिरुवाले एक सिजनमा कम्तीमा २० किलो फल दिन्छ। ड्रागन फल नेपालका बजारमा भर्खरै परिचित हुन थालेको हो। आन्तरिक बजार धेरै ठूलो रहेको विज्ञहरू बताउँछन्। केही वर्ष अघि मात्रै नेपाल भित्रिएको यो फललाई धेरै नेपालीले चाख्न पाएका छैनन्।

धनकुटामा ड्रागन खेती गर्ने किसान हजार हाराहारी रहेको तथ्यांक छ। एक किसानले ५० देखि १ हजारसम्म बिरुवा रोपेका छन्। केही वर्षअघि धनकुटा नगरपालिकाले सुक्खा क्षेत्र ८ नं. वडालाई ड्रागन फुड पकेट क्षेत्र  घोषणा गरेको थियो। त्यहाँका किसानलाई सहुलियत दरमा विरुवा र खेतीसम्बन्धी परामर्शसमेत दिएको धनकुटाका मेयर चिन्तन तामाङले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.