गोठमा बस्नेलाई रेडियो

गोठमा बस्नेलाई रेडियो

गोरखा : सधैं गोठमा बस्ने (स्थायी) गोठालाहरूलाई देश–विदेशमा हुने गरेका घटनाबारे सुसूचित गराउने उद्देश्यले रेडियो प्रदान गरिएको छ। धार्चे गाउँपालिका–४ लाप्राकका ५० जना गोठालालाई गोठमै पुगेर सोलार जडित रेडियो वितरण गरिएको छ। 

गाउँपालिकाका प्रमुख सन्तोष गुरुङको समन्वयमा ‘हाम्रो सहारा फाउन्डेसन नेपाल’ले गोठालालाई हातहातमा गोठालामैत्री रेडियो वितरण गरेको वडाअध्यक्ष राज गुरुङले बताए। ‘गोठालाहरूलाई देश–विदेशमा भएका विभिन्न गतिविधिबारे जानकारी दिने उद्देश्यले रेडियो वितरण गरेका हौं,’ वडाअध्यक्ष गुरुङले भने, ‘गोठमा बसेर रेडियो सुन्न पाउने भएपछि गोठालाहरू निकै खुसी छन्।’ 

रेडियोमा जडित सोलार पाताले ब्याट्री फेरिरहनु नपर्ने, गोठमा विद्युत् नहुँदा पनि ब्याट्री चार्ज गर्ने सुविधा हुँदा गोठालाहरू खुसी भएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए। साथै रेडियोमा जडित बत्तीले गोठालाहरूलाई धेरै फाइदा पुग्ने उनको भनाइ छ। ‘गाउँपालिकाले गरेका विकाससम्बन्धी गतिविधिलाई गोठालाले पनि थाहा पाउन् भनेर रेडियो उपलब्ध गराइएको हो,’ उनले भने, ‘स्थानीय एफएमले जिल्लालगायत राष्ट्रिय समाचार तथा विभिन्न कार्यक्रमहरू सुनेर गोठालाहरू पनि सुसूचित होउन् भन्ने उद्देश्यले रेडियो उपलब्ध गराइएको हो।’ 

स्थायी गोठालाहरूलाई कार्यपालिका बैठकले निर्णय गरेर रेडियो वितरण गरिएको उनले बताए। ‘कोभिडका बेला विद्यालयहरू बन्द भएका छन्। इन्टरनेट सेवा नभएकाले अनलाइन कक्षा सम्भव छैन। यस्तो बेलामा गोठमै बसेर बालबालिकाले रेडियो सुनेर पढ्न पाउँछन्,’ उनले भने।

रेडियो सुन्न पाउने भएपछि गोठालाहरू झन् खुसी व्यक्त गरेका छन्। ‘समाचार पनि सुन्न पाइयो। अब मौसमबारे पनि सुन्न पाइने भइयो,’ सधैं गोठमा बस्ने ६१ वर्षीय गोठाला सदवीर गुरुङले भने, ‘खर्कमा गीत सुन्दै भेडा चराउन रमाइलो पनि हुन्छ। कोरोनाबाट कसरी बच्ने भन्ने पनि थाहा पाउन सजिलो हुने भयो। रेडियोमा लाइट पनि रहेछ त्यसले रातिको समयमा झन सजिलो हुने भयो।’ मोबाइल पनि नटिप्ने जंगलमा बसेर ताजा खबर सुन्न पाइने भयो भनेर उनीहरूको खुसीको सीमा थिएन।

स्थायी गोठालालाई रेडियो दिने गाउँपालिकाको कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले त्यसमा साझेदारी गरिएको साहारा फाउन्डेसन नेपालकी अध्यक्ष कल्पना श्रेष्ठले बताइन्। ‘भेडाबाख्रा, गाई गोरुले भरिभराउ भएको गोठमा पुगेर गोठालाको हातमा रेडियो दिन पाउँदा अत्यन्तै खुसी लागेको छ,’ श्रेष्ठले भनिन्, ‘रेडियो पाउँदा गोठालाको मुहारमा देखिएको खुसीले अत्यन्त प्रभावकारी कार्यक्रम गरेको अनुभूतिसमेत भयो।’ अरू वडाका स्थायी गोठालाहरूलाई पनि यसरी नै रेडियो दिन संस्था तत्पर रहेको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.