नेपाल आइडलमा अनेक रंग (भिडियो)
काठमाडौं :
प्रेम गर्दै पवित्रताको आभास देखायौ
शून्यताको पलहरूमा अनेकौ रंग ल्यायो।
तिम्रो रुद्र मुस्कानको रहस्य नै बुझिनँ
तिमीमा बाहेक आफ्नोपन अरूमा पाउन सकिनँ।
सक्दिनँ म जल्न यहाँ ...
एक्लै गन्तव्यमा हिँडिरहेको जीवनमा मिठो आभास लिएर कोही आउँछ नि ? अनि बदलिने गर्छ पूरै जिन्दगी। ऊबाहेक आफ्नो कोही देखिँदैन। कहीँ कतै छलकपट बाँकी छ भने पनि माफी हुने गर्छ। यस्तै मायामा डुबेर धोका पाएको अनुभूति गराउँदै नेपाल आइडल सिजन— ४ को शुक्रबारीय कार्यक्रमको दैलो उघारेका थिए अतिथि कलाकार सनुप पौडेलले।
प्रतियोगीको भेषमा कार्यक्रममा उपस्थित भएका पौडेलले नेपाल आइडललाई प्रेमिल बनाए। यसलगत्तै गाउँदै उफ्रिँदै मञ्चमा उक्लिए राजकुमार परियार। उनले भन्दै थिए ...
मस्की मस्की भुलेर जानेले
मुसुमुसु हाँसेर हेर्नेले
पागल गराइछे, घायल बनाइछे।
साँच्चिकै मनमोहक हुन्छ मन पर्नेको हेराइ, अनि छुवाइ। पागलै बनाउँछन्, घायल बनाउँछन्। राजकुमारको उत्कृष्ट प्रस्तुतिमा सबै जजहरू उठेर ताली बजाइरहेका थिए। कार्यक्रममा उपस्थित झुमिरहेका थिए। यसपछि भने अतिथि जजको रूपमा उपस्थित सुशान्त केसीले सानोसानो कुरामा बोलको गीतमा गजबको प्रस्तुति दिए। उनले सानोसानो कुरामा रिसाउने मायालाई फकाउँदै थिए भन्दै थिए ...
सानो सानो कुरामा पनि तिमी रिसाउने भए
लामो लामो झगडा गरी दिन बिताउने भए ...
सुशान्त केसी र सनुप पौडेलको उपस्थितिले कार्यक्रममा अझ बढी रौनकता छाएको थियो। कार्यक्रममा फुलबुट्टे सारी चोली लगाएर सुमधुर स्वरमा गुनगुनाउँदै उपस्थित भइन् बेनिशा पौडेल। उनले सुरिलो स्वरमा प्रस्तुति दिएकी थिइन्। यस्तै लामोलामो कपालमा नेपाल आइडलको मञ्च नै थर्किने गरी मायालुलाई बोलाउँदै थिए विश्वास उप्रेती। मायालु भेट्दा संसार भुल्ने बताउँदै उनले सुटुक्क भेट्न आउने आशयको रक गीत प्रस्तुति दिए। उनको धमाकेदार प्रस्तुति हेर्न लायकको थियो। उनले सबै जजहरूको मन जिते।
कार्यक्रममा चौथो प्रस्तुतिमा आफूलाई निकै निखारे सुरेश लामाले। उनले भन्दै थिए– तिमी जाने सिलगुढी, म जाने सिक्क्मितिर। मलाई लठ्ठ पार्यौं, घायल बनायौं बोलको गीतमा मायालुलाई पुकारिरहेका थिए रञ्जित नेपालीले। जब मायाको मात लाग्छ नि जिउन गाह्रो हुने कुरा बताइरहेका थिए नेपाली। उनको प्रस्तुतिमा गीतको मादकता देखिएको थियो।
नेपाल आइडल सिजन ४ को १६औं कार्यक्रममा प्रतियोगीहरूले उत्कृष्ट प्रस्तुति दिए। बिहीबारको नेपाल आइडलबाट गोल्डेन माइक विजेता प्रतियोगी मदन गुरुङ बाहिरिएका थिए।
उत्कृष्ट ११ बाट मदन गुरुङ बाहिरिएपछि कार्यक्रमका जजहरू नै अल्मलिएका देखिन्थे। बिहीबार कार्यक्रमको अन्तिममा मदनले सम्हालिन्छ कहिले मन बोलको गीत गाएर सबैजनालाई भावविह्वल बनाए।
हरेक हप्ता कम भोट आउने एक जना प्रतियोगी बाहिरिने गर्छन्। त्यसपछि कार्यक्रमका उत्कृष्ट १० मध्ये ५ जनाले बिहीबार प्रस्तुति दिए भने शुक्रबार अन्य ५ जनाले मञ्च तताए। हरेकको प्रस्तुति हेर्न लायकको थियो। आफूलाई अब्बल सावित गर्न अनेक कोसिस गरिरहेका थिए। प्रतियोगीहरू गीत गाउने मात्रै हैन, नाच्ने र अनुहारको एक्सप्रेसनमा पनि ख्याल गरिरहेका थिए। गीतको भावसँगै डुबिरहेका थिए। जतिजति अगाडि बढ्दै गयो कार्यक्रम उत्तिकै कडा प्रतिस्पर्धा देख्न सकिन्छ।
थियटर र पियानो राउन्डबाट बाहिरिएका प्रतिस्पर्धीमध्ये पुन एक जनाले उत्कृष्ट १० मा पुगेपछि नेपाल आइडलमा वाइल्ड कार्ड इन्टी सुरु भएको छ। जसका लागि बाहिरिएका प्रतियोगीले आफ्नो प्रस्तुति पुनः नेपाल आइडलमा माघ २५ सम्म पठाउन पाउनेछन्। जजहरूलाई उत्कृष्ट लागेको प्रस्तुतिलाई वाइल्ड कार्ड दिइनेछ। नेपाल आइडलका निर्देशक तथा प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार आगामी चैतको पहिलो हप्ता नेपाल आइडल सिजन ४ को विजेता घोषणा गरिनेछ।
प्रतिक्रिया दिनुहोस !