अंगकोर वाटबाट इतिहास खोतल्दा
खमेर साम्राज्यताका कम्बोडियाको समाजमा हिन्दू धार्मिक परम्पराको गहिरो प्रभाव र अंगकोर वाट निर्माण पछाडिको ऐतिहासिक तथ्य के होला ? जिज्ञासा बढ्नु स्वाभाविक हो ।
दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडिया भन्नासाथ पूर्वीय इतिहासको महत्त्वपूर्ण कालखण्ड अंगकोर सभ्यता बुझिन्छ। अझ कुनै समय कम्पुचिया भनेर चिनिएको ‘पोल पोट युग’ भोगेको देश भनेर बुझ्नु सही हुनेछ। तर पोल पोटले सन् ७० को दशकमा कम्बोडिया देशको नाम परिवर्तन गरेर ‘एकदलीय लोकतान्त्रिक कम्पुचिया’मा परिणत गर्नुअघिको उपनिवेशको अत्याचार र पोल पोटको शासनकालमा घटेको रक्तपातपूर्ण इतिहास छ। त्यसलाई नजिकबाट नियाल्दा २०औं शताब्दीमा एसियामा सबैभन्दा पीडादायी अनुभव गरेको मुलुक भनेर कम्बोडियालाई भन्दा हुन्छ होला। जीवनमा दुःख छ, दुःखको कारण छ र कारणको निवारण छ। यही बुद्ध दर्शनको मूलभूत सत्यलाई आस्थाका दृष्टिले बहुसंख्यकले मार्गदर्शनका रूपमा अँगालेको पाइन्छ। बौद्ध धर्मावलम्बीको यो मुलुकको हिंसात्मक विगत भने त्यो देशको पछिल्लो ऐतिहासिक विडम्बना थियो। जसको प्रमुख कारण विदेशी उपनिवेश शक्तिहरू थिए।
सन् २००९ मा थाइल्यान्ड जाने क्रममा नजिकैको देश कम्बोडियास्थित अंगकोर वाटसम्म पुग्ने योजना बन्यो। बर्सेनि हजारौंं नेपालीको आकर्षक भ्रमण गन्तव्य बन्दै गरेको थाइल्यान्डको राजधानी बैंककबाट बसमा करिब चार सय किलोमिटरको दूरीमा अंगकोर वाट पुगिन्छ। कम्बोडिया प्रवेश गर्न नेपालीका लागि अनअराइभल भिसाको प्रावधान छ। क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो हिन्दू मन्दिर भनेर दाबी गरिएको छ, अंगकोर वाट। यो कम्बोडियाका लागि यति महत्त्वपूर्ण छ कि गर्वका साथ आफ्नो झन्डामा अंकित गरेको छ। सामान्यतया हिन्दू धर्मसित जोडिएका ऐतिहासिक महत्त्वका मठ र मन्दिरहरू बहुसंख्यक हिन्दू धर्मावलम्बीको देश भारत वा नेपाल भनेर संसारभरि परिचित छ। तर पनि दक्षिणपूर्वी एसियाली देश कम्बोडिया जहाँं ९५ प्रतिशत जनसंख्या बौद्धधर्मी छन्। त्यहाँ कसरी भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो। उत्तर खोज्ने काम पहिलो पटक कम्बोडिया पुग्दा र अंगकोर वाटको आँगन टेक्दा गरेको थिएँ।
ईस्वी ११५० ताका ३० वर्ष लगाएर हिन्दू मन्दिरका रूपमा निर्माण गरिएको अंगकोर वाट विश्वको ठूलो धार्मिक स्मारकमध्ये एक हो। कम्बोडियाको आधिकारिक खमेर भाषामा अंगकोरको अर्थ राजधानी र वाटको अर्थ मन्दिर भएकाले यो ठाउँलाई मन्दिरहरूको राजधानी मानिन्छ। मूल रूपमा हिन्दू देवता विष्णुलाई समर्पित गरेर निर्माण गरिएको अंगकोर वाट ३२ सय रोपनी क्षेत्रफलमा फैलिएको छ। आधुनिक कम्बोडिया इतिहासको कुनै कालखण्डमा हिन्दू र बौद्ध सभ्यतामा आधारित खमेर साम्राज्यको एउटा अंग थियो। ईश्वीको नवौं शताब्दीमा उदाएको खमेर राज्यको राजधानी अहिले अंगकोर वाट रहेकै स्थानमा थियो। जसको साम्राज्यलाई विश्व इतिहासमा रोमन र ग्रिस साम्राज्यसित तुलना गरेर हेर्ने गरिन्छ।
हिन्दू राजा जयवर्मन दोस्रोले दक्षिणपूर्वी एसियाभरि छरिएर रहेका खमेर सभ्यताहरूलाई एकीकरण गरी आफूलाई आधिकारिक रूपमै हिन्दू चक्रवर्ती सम्राट् घोषणा गरे। खमेर साम्राज्यको स्थापना गरेको केही सय वर्षपछि अंगकोर वाटको निर्माण भएको थियो। ऐतिहासिक समयक्रमको कोणबाट अंगकोर वाटको यो विशाल स्मारकमा उभिएर हेर्दा न्युयोर्क सहरको जन्म पनि भएको थिएन भने लन्डन एउटा सानो गाउँ थियो। खमेर साम्राज्यताका कम्बोडियाको समाजमा हिन्दू धार्मिक परम्पराको गहिरो प्रभाव र अंगकोर वाट निर्माण पछाडिको ऐतिहासिक तथ्य के होला ? जिज्ञासा बढ्यो। कुनै समय दक्षिण एसिया र विशेषगरी नेपाल र भारतसितको वाणिज्य र व्यापारिक सम्बन्ध र प्रभावका कारण थियो भन्ने बुझिन्छ।
अझ आफ्नो अधिनायकवादी शासनकालमा करिब २० लाख कम्बोडियाली नागरिकको हत्या गरेर रक्तपातपूर्ण इतिहास रचेका थिए पोल पोटले। देशको नाम नै फेरेर पुरानै खमेर वैभवमा पुर्याउने धोको लिएर कम्बोडियालाई उनले केही समय कम्पुचिया पनि बनाउन सफल भए। कम्पुचिया नाम संस्कृत शब्द कम्बुज देशबाट आएको मान्यता रहेछ जुन मल्लकालीन समयमा नेपाल र भारतबाट व्यापार गर्न कम्बोडिया पुगेका व्यापारीले राखेका रहेछन्। अंगकोर वाट पुग्दा पूर्वीय सभ्यता र संस्कारको यत्रो विशाल ऐतिहासिक विरासत बोकेको मुलुकका जनताले
कसरी पोल पोटजस्तो
व्यक्तिलाई भाग्य र भविष्य निर्माताका रूपमा स्विकारे ? जसको ९५ प्रतिशत जनसंख्याले बुद्धलाई आध्यात्मिक मार्गदर्शक मान्यो। सन् १९७६ देखि १९७९ सम्म कम्बोडियाको प्रधानमन्त्रीको रूपमा शासन गरेका पोल पोट राष्ट्रवादी छवि बनाएका ऐतिहासिक पात्र हुन्। कम्बोडियाको सम्पन्न किसान परिवारमा जन्मिएका उनको वास्तविक नाम सलोथ सार थियो। उनले सानै उमेरमा बौद्ध भिक्षु भएर केही समय बिताए। भिक्षु सलोथ सारले कम्बोडियाकै एउटा फ्रान्सेली क्याथोलिक प्राथमिक विद्यालयमा औपचारिक शिक्षा पनि प्राप्त गरे र युवा उमेरमा उच्च शिक्षा हासिल गर्न फ्रान्स पुगे। फ्रान्स छँदै साम्यवादी अभियानसित जोडिएका सलोथ सार स्वदेश फर्किए। त्यसपछि भने कम्बोडियामा फ्रान्सको उपनिवेश शासनविरुद्ध लडिरहेको खमेर क्रान्तिकारी पार्टी (खमेर रुज) सित आबद्ध भएका थिए। सलोथ सार खमेर रुजसित आबद्ध भएपछि पोल पोटका नामले विश्वभर चिनिन थाले।
राजधानी नोम पेन्हमा बौद्ध भिक्षु भएका पोटले शक्तिमा पुगेर कम्बोडियालाई नेतृत्व प्रदान गर्दै गर्दा नरसंहार मच्चाए। बौद्ध दर्शनलाई नै त्यहाँको समाजबाट नामेट पार्नेतिर लागे। उनले हाँकेको खमेर रुजले बौद्ध दर्शनलाई प्रतिक्रियावादीहरूको धर्म भनी घोषणा मात्र गरेन। बौद्ध दर्शनका अनुयायीलाई संविधानमा अन्य धर्मलाई दिइएको सैद्धान्तिक अधिकार दिनसमेत अस्वीकार गर्यो। कुनै पनि राजनीतिक दर्शनलाई आफूअनुकूल मोड्न र महत्त्वाकांक्षाअनुसार हाँक्न खोज्दाको बीभत्स परिणाम पोटको ‘किलिंग फिल्ड्सहरू’ मा बिसर्जन हुन्छ। यही यथार्थको दृष्टान्त आधुनिक कम्बोडिया हो। पूर्वीय सभ्यताको उज्यालो वैभव अंगकोर वाटको पृष्ठभूमिमा कम्बोडियाले केही दशकअघि मात्रै भोगेको हो। दर्दनाक त्यो कालखण्डमा पोटले रचेको किलिंग फिल्ड्स जहाँं दुई लाख कम्बोडियालीको हत्या गरिएको थियो।
प्रत्येक वर्ष २५ लाखभन्दा बढी पर्यटक अंगकोर वाट पुग्छन्। लाखौंं पर्यटक राजधानी नोम पेन्ह नजिकैको ‘किलिङ फिल्ड्स’ पुग्दा रहेछन्। कम्बोडियाका हिन्दू राजा सूर्यवर्मन दोस्रोको शासनकालमा ३० वर्ष लगाएर निर्माण सम्पन्न भएको अंगकोर वाट ईश्वीको १४औं शताब्दीमा आएर बौद्ध मन्दिरमा परिणत भयो। कम्बोडियाको खमेर हिन्दू साम्राज्यबाट बौद्ध राज्यमा परिवर्तनको ऐतिहासिक यात्रा पनि कम रोचक भने छैन। खमेर साम्राज्यले हिन्दू धर्मलाई कम्बोडियाको राजधर्मको रूपमा अँगालेको थियो। खमेर हिन्दू मन्दिरहरूमा शिव र विष्णु सबैभन्दा पुजिने देवतामा गनिन्थे। हिन्दू धर्मका महत्त्वपूर्ण त्रिमूर्ति विष्णु, शिव र ब्रह्मामध्ये विरलै पाइने ब्रह्माको चित्रण गरिएको कला कृतिहरू पनि अंगकोर वाटमा भेटाइन्छ। खमेर साम्राज्यमा हिन्दू धर्मको महत्त्व कति थियो भन्ने कोणबाट यो आस्थामा समर्पित अंगकोर वाटलाई हेर्दा हुन्छ।
अंगकोर वाटको अर्को रोचक पक्ष हामीले चिन्दै आएकोभन्दा फरक खमेर संस्करणका भगवान् गणेश र हनुमान साथै हिन्दू ग्रन्थ रामायणका दृश्यहरू भित्ताहरूमा देख्न पाइन्छन्। अझै पनि परम्परागत प्रदर्शनहरूमा अति लोकप्रिय मानिने रामायणलाई कम्बोडियामा रेमकर भनिँदो रहेछ। संसारकै सबैभन्दा महत्त्वपूर्ण धार्मिक स्मारक (जुन हिन्दू मन्दिरका रूपमा निर्माण गरिएको थियो) मानिने अंगकोर वाटमा ईश्वी पाँचौं शताब्दीदेखि नै प्रमुख आस्थाका रूपमा महायान बौद्ध धर्म थियो। जुन बौद्ध धर्मको एउटा प्रमुख अंग मानिन्छ।
कम्बोडियाको संविधानले आधिकारिक रूपमै कम्बोडियालाई बौद्ध राज्य घोषणा गरेको छ। तथापि राजधानी नोम पेन्हको राजदरबार र सरकारी भवनदेखि धार्मिक स्थलहरूमा हिन्दू देवी–देवताका मूर्ति र चित्रण प्रशस्तै भेटिन्छन्। नोम पेन्हपछिको सबैभन्दा ठूलो सहर बतामबांग जाँदा र अंगकोर वाट नजिकैका ठाउँंहरूमा ससाना मन्दिरहरू नेपालको डँडेलधुराको अजयमेरु किल्ला र दैलेखको दुल्लु दरबारसँगैका मन्दिर मिल्दाजुल्दा भेटिए। तिनका आकार र बनावटका दुरुस्तै पाएँ।
कुनै समय अहिलेको कम्बोडियासहित थाइल्यान्ड, लाओस र भियतनासम्म एकछत्र शासन गरेको खमेर साम्राज्यका अन्तिम राजा जयवर्मन सातौंले थेरवाद बौद्ध धर्मलाई अँगालेका थिए। सोही कारण त्यसयता कम्बोडियामा थेरवाद बौद्ध धर्मलाई मुख्य आस्थाका रूपमा अभ्यास गरिन्छ। यिनै जयवर्मन सातौंले छोरालाई बौद्ध भिक्षुका रूपमा थेरवाद बौद्ध धर्मको अध्ययन गर्न १० वर्षका लागि श्रीलंका पठाए। जसका कारण कम्बोडियामा हिन्दू धर्मबाट बौद्ध धर्म अँगाल्ने क्रमिक परिवर्तनको सुरु भएको मानिँदो रहेछ।
खमेर साम्राज्यको महिमाजनक विगतदेखि ९० वर्षको फ्रान्सको उपनिवेश र दोस्रो विश्वयुद्धका समयमा केही वर्षसम्म जापानको अधीन रहँदासम्म कम्बोडियाले अनगिन्ती उतार–चढाव बेहोर्यो। सन् १९५३ को स्वतन्त्रतापछि भने केही समयका लागि शान्ति र समृद्धिको अनुभव गर्यो। छिमेकी मुलुक भियतनाममा अमेरिकी हस्तक्षेप र अमेरिका–भियतनाम भीषण युद्धका कारण नराम्रोसित प्रभावित पनि भयो। पोटले रातारात साम्यवादमा पुग्न सकिने भनेर देखाएको सपनालाई पछ्याउन खोज्दा नागरिक सबैभन्दा बढी प्रताडित भए। अमेरिकाले सन् ६० र ७० को दशकमा छिमेकी मुलुक भियतनाम माथि गरेको आक्रमणमा पनि त्यही अवस्था भयो।
खमेर साम्राज्य २१औं शताब्दीसम्म आइपुग्दा कम्बोडिया देश घरभित्र पोल पोटको महत्त्वाकांक्षा र भौगोलिक अवस्थितिका कारण शक्ति राष्ट्रहरूको द्वन्द्वमा छटपटाइरहेको जस्तो देखिन्छ। त्यैपनि, जस्तोसुकै पीडामा पनि हामी नेपालीजस्तै निश्चल मुस्कानले पीडा लुकाउन सक्ने क्षमतामा देखिन्छन् कम्बोडियाली। जो पूर्वीय सभ्यताको त्यो विशाल स्मारकमा बीसौं लाख पाहुनालाई स्वागत गरिरहेका भेटिन्छन्। गहिरो पीडाभित्र लुकेको त्यो मुस्कान नै कम्बोडियाको महानता हो।