अस्ताइन् लता मंगेशकर

अस्ताइन् लता मंगेशकर

काठमाडौं :

फूल भन्छ फुलिरहुँ
जुन भन्छ चम्किररहुँ
मन त भन्छ सबैसँग मायामोह राखिरहुँ
बाँचुञ्जेलीलाई बाँचुञ्जेलीलाई 

करिब एक दशक अघि गायक रामकृष्ण ढकालसँग लता मंगेशकरले आवाज दिएको गीत हो, यो। गीतको शब्द आनन्द अधिकारीले लेखेका हुन् भने संगीत शिखर सन्तोषले भरेका हुन्। 
लताले ८२ वर्षको उमेरमा स्वर दिएको यो गीतमा कहिँ कतै बुढ्यौलीको संकेत देखिँदैन। 

स्वरको जादुयी छुरा चलाउने लताको स्वरमा अब भने नयाँ गीत सुन्न नपाइने भएको छ। सुनिरहुँ लाग्ने कोकिलकण्ठ स्वरकी धनी प्रख्यात भारतीय गायिका लता मंगेशकरको आइतबार बिहान निधन भएको छ। ९२ वर्षीय ‘स्वर कोकिला’ मंगेशकरको मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा निधन भएको हो। उनलाई भारतमा ‘स्वर कोकिला’  ‘दिदी’ र ‘ताई’जस्ता उपनामले बोलाइन्छ। मंगेशकरलाई गत जनवरी ८ मा कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। कोरोना र निमोनिया देखिएपछि उनको २९ दिनसम्म आईसीयूमा उपचार गरिएको थियो। 
मंगेशकरको स्वास्थ्य केही दिनअघि सुधार भएको खबर सार्वजनिक भएको थियो। हिन्दु धर्माबलम्वीले सरस्वती पञ्चमी मनाउने दिनमा नै उनको निधन भयो। सरस्वतीको उच्च बास रहेको लता मंगेशकरको सरस्वती पञ्चमीकै दिन निधन हुनुमा केही विशेष संयोग रहेको सांगीतिक क्षेत्रका व्यक्तिहरू बताउँछन्। 
संगीतकार राजु सिंह लता मंगेशकरबाट धेरै सिक्नुपर्ने बताउँछन्। ‘मुम्बई जाँदा लता मंगेशकरसँग सामान्य भेटघाट भएको थियो। उहाँसँग भेट्नु नै निकै महत्वपूर्ण हुने गथ्र्यो।  हामीले सम्मान गर्ने र सिक्ने धेरै गुणहरू भएको विश्वकै उत्कृष्ट गायिकामध्येमा पर्नुहुन्थ्यो। सम्पूर्ण संगीतकर्मीका लागि प्रेरणाका स्रोत हुनुहुन्थ्यो’, सिंह भन्छन्, ‘राम्रो स्वर भएका प्रतिभालाई कस्तो लताको जस्तो स्वर भन्ने उदाहरण दिने विशेषण नै बन्नुभयो। उहाँको विशेषता स्वर र शुद्ध उच्चारण नै हो। चरित्रसँग भिजेर गाउने व्यक्ति हो। उहाँसँग प्रेरणा लिने हो। उहाँमा सरस्वती र संस्कारकै बास थियो।’ 

‘बाँचुञ्जेलीलाई’ गीतमा लता मंगेशकरलाई स्वरमा साथ दिएका रामकृष्ण ढकालले महान स्रष्टासँग भेट हुने, कुरा गर्ने र एउटा सिंगै गीत गाउने अवसर पाउनु आफ्नो जीवनको सर्वाधिक खुसीको क्षण भएको बताए। ‘मैले उहाँ जत्तिको महान स्रष्टासँग भेट हुने, कुरा गर्ने र एउटा सिंगै गीत गाउने अवसर पाएँ। यो नै मेरो जीवनको सर्वाधिक खुसीको क्षण थियो’, उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘विश्व प्रसिद्ध गायिका आदरणीय लता दीदीलाई साक्षात् सरस्वतीको स्वरूपमा सदैव आदर सम्मान गरिएको सत्य आखिर आज श्रीपञ्चमीकै दिन उहाँ सरस्वतीकै शरणमा महाप्रस्थान गर्नुभयो र पूरा भयो। तर, उहाँको यो बिदाइ हामी सबै संगीतप्रेमी, अनुरागी र उहाँका शुभचिन्तकका निम्ति भने अत्यन्तै कहालीलाग्दो भयो।आदरणीय लता दीदी अब यो युगमा हुनुहुन्न भन्ने सोचेर केवल श्रद्धाञ्जलि लेख्न पनि मसँग रत्तिभर कुनै सामथ्र्य छैन। हात एकोहोरो कामिरहेको छ।’

चर्चित गायिका मंगेशकरले हिन्दीसँगै अन्य थुप्रै भाषामा गीत गाएकी छन्। ३० हजारभन्दा धेरै गीतमा स्वर दिएकी उनले नेपाली गीत पनि गाएकी छन्। ३६ भन्दा धेरै भाषामा गीत गाएकी लताको स्वर नेपाली भाषाका गीतहरूमा पनि सजिएको छ।

मुम्बईमा कडा सुरक्षा र सम्मानका साथ जीवन व्यथित गरिरहेकी लता सन् १९२९ सेप्टेम्बर २९ मा भारतको मध्यप्रदेशको इन्दोरमा जन्मिएकी हुन्। उनले १३ वर्षको उमेरबाट नै गीत गाउन सुरु गरेकी हुन्। सन् १९६० देखि २००० सम्म उनले भारतीय चलचित्र संगीतमा एकछत्र राज गरेकी थिइन्। यसलाई ‘लता युग’ पनि भनिन्छ। चर्चित फिल्म निर्माता, निर्देशक र कलाकार पनि उनको स्वरमा गीत रेर्कड गराउन उत्साहित हुन्थे। उनको स्वर नभएका चलचित्रका गीत अधुरो अपुरो मान्ने गरिन्थ्यो। उनको आवाज भएको एल्वम हजारौं प्रति बिक्ने गथ्र्यो। 
उनका तीन बहिनीहरू आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर पनि भारतीय गीतसंगीतमा चर्चित छन्। उनका पिता पण्डित दीनानाथ मंगेशकर पनि गायक तथा रंगकर्मी हुन्। दीनानाथले मराठी भाषाका संगीत तथा नाटक निर्माण गर्थे।  

लता मंगेशकरले स्वर दिएको नेपाली गीत ‘उसको लागि–२’ नामक एल्बममा ‘आकाशैमा तिरमिरे तारा’ बोलको गीत संग्रहित छ। महेन्द्र वीरविक्रम शाहको शब्दमा रहेको यो गीतमा संगीत हेमन्त कुमारले भरेका छन्। नेपाली फिल्म ‘माइती घर’मा रहेको शीर्ष गीतमा पनि लताको सुमधुर स्वर छ। महेन्द्र शाहकै शब्दमा रहेको ‘जुन माटोमा मेरो’ बोलको गीतमा लताले स्वर दिएकी थिइन्। उक्त गीतमा संगीत जयदेवले गरेका थिए। 

लता मंगेशकलाई सन् २००१ मा संगीतिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै भारतको सर्वोच्च ‘भारत रत्न’ प्रदान गरिएको थियो। भारतको सबैभन्दा ठूलो ‘भारत रत्न’ पाउने उनी दोस्रो गायिका हुन्। उनले पद्यभूषण तथा राष्ट्रिय अवार्डसमेत पाएकी थिइन्। 

लता मंगेशकरको निधनमा दुःख व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शोक व्यक्त गरेकी छन्। ‘धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनु भएकी भारतकी प्रख्यात गायिका लता मंगेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिंवगत लता मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु’, राष्ट्रपति भण्डारीले शोक बक्तव्यमा भनेकी छन्।

उनको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ। दुई दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरिएको छ। उनको अन्तिम सस्कार आइतबार नै राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिएको छ। उनको निधनले देशले अपूरणीय क्षति बेहोरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.