बुटारमा नेपालकै पहिलो ‘ड्याम टु टर्वाइन’ प्रविधियुक्त जलविद्युत आयोजना बन्दै
गोरखा : गोरखाको गण्डकी गाउँपालिका-१ बुटारमा नेपालमै पहिलो ‘ड्याम्म टु टर्वाईन’ प्रविधिको जलविद्युत आयोजना निर्माण कार्य सुरु भएको छ। ब्लु इनर्जी कम्पनीले त्रिशुली नदीमा एकसय मेगावाटको सुपर त्रिशुली जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको हो।
‘आयोजनास्थल पृथ्वीराजमार्ग भन्दा पारिपट्टि पर्छ। त्यसैले विभिन्न उपकरण त्रिशुलीपारि तार्न बेलिब्रिज निर्माणको काम हामीले सुरु गरिसकेका छौँ’, हाईड्रो कम्पनीका प्रोजेक्ट म्यानेजर निरञ्जन रेग्मीले भने, ‘आयोजनाको निर्माण सुरु गर्नुअघि गर्नुपर्ने डिपिआर, ईआई, पिपिए, आयोजना सुरु गर्नु अघिको प्राविधिक नापजाँचको सबै गरिसक्यौँ। अब बेलिब्रिज बनेपछि भौतिक निर्माणको काम थाल्नेछौँ।’ चिनियाँ हुवावे कम्पनीले उक्त आयोजना निर्माण गर्ने जिम्मा लिएको छ।
ड्याम टु टर्बाइन नेपालमै नयाँ प्रविधिको पहिलो आयोजना भएको दावी गर्दै उनले कम लागतमा निर्माण हुने बताएका छन्। ‘एकसय मेगावाटको आयोजना जम्मा १६ अर्व नेपाली रुपैयाँमा यो निर्माण सक्ने लक्ष्य छ’, उनले भने, ‘नेपालमा चलन चल्तीमा आएका अन्य आयोजना हुन्थ्यो भने यो क्षमताको आयोजना बन्न करिब २० देखि २५ अर्ब लाग्थ्यो।’
पाँच वर्षभित्र सिध्याउने गरी निर्माण सुरु हुन लागेको आयोजनाले जनाएको छ। उत्पादित विद्युत तनहूँको मार्किचोकस्थित सबस्टेशनमा जोडी नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईनमा समावेश गरिनेछ।
पानी जम्मा हुने बाँधको १४ दशमलव ५ मिटर उचाई हुनेछ भने ९२ मिटर लम्बाई हुनेछ। यसका लागि आयोजनाले ४० रोपनी जग्गा खरिद गरिसकेको छ भने डुबानमा पर्ने र पावरहाउस निर्माणका लागि अझै करिब २० रोपनी खरिद गर्ने प्रक्रिया रहेको छ।
ड्यामबाट सिधै टर्वाइनमा पानी खसालेर विद्युत उत्पादन गर्ने प्रविधि ‘ड्याम टु टर्वाइन’ प्रविधि हो। पानी जम्मा हुने ड्यामबाट ६५ मिटर दुरीमा पावर हाउस बन्नेछ। पानी सिधै टर्वाइनमा पठाइने भएकाले पानी पठाउन सुरुङ, पाइपलाइन आवश्यकता पर्दैन। ‘पानी जहाँबाट संकलन गरिन्छ, त्यहाँ नै पुन पावरहाउबाट झर्छ’, आयोजनाका प्रमुख रेग्मीले भने।
यो प्रविधिमा आयोजना बनेपछि आयोजनास्थलभन्दा तलको जलाधार क्षेत्रमा सुख्खा लाग्दैन।
ड्याम टु टर्बाइन आयोजना भन्दा अन्य प्रकृतिको आयोजनामा भने सुरुङमार्फत लामो दुरीसम्म पानी लैजादा पावरहाउससम्मको क्षेत्र सुख्खा हुने गर्छ। त्रिशुलीमा बन्न लागेको अयोजनाको पाइपलाईन बिछ्याउनु नपर्ने भएकाले बातावरणीय दृष्टिकोणले पनि प्रभावकारी हुने दावी निर्माण कम्पनीको छ। पृथ्वी राजमार्गको छेवैमा बन्न लागेको उक्त आयोजना नेपालमै परीक्षण आयोजनाको रुपमा पनि रहने दावी निर्माण कम्पनीको छ।
प्रतिक्रिया दिनुहोस !