‘एउटै पात्रबाट सम्पूर्ण प्रेम सम्भव छैन’
![‘एउटै पात्रबाट सम्पूर्ण प्रेम सम्भव छैन’](https://annapurnapost.prixacdn.net/media/albums/MahabharaBasanta2_20220220014140_rnbq5nmPDq.jpg)
पोखरा : पत्रकार वसन्त बस्नेतको उपन्यास महाभारा अहिले साहित्य बजारमा निकै चर्चा छ। त्यसैको चर्चा शनिबार पोखरामा पनि भयो। ‘महाभारा-पोखरा संवाद’ मा जुटे उपन्यासकार वसन्त र लेखक झलक सुवेदी। उपन्यासमाथि सर्वत्र प्रशंसा र केही टिकाटिप्पणी आइरहेको सन्दर्भ उप्काएर सुवेदीले सुरुमै सोधे-कस्तो लागिरहेको छ? वसन्तले सजिलो उत्तर दिए-'मजा लाइराछ।'
महाभारा पूर्वी नेपालको कथा हो। पत्रकारितामा सम्पादकीय नेतृत्वबाट काठमाडौंमा खरो उपस्थिति जनाइरहेका वसन्त जन्मे हुर्केको पनि पूर्वै हो। स्वाभाविक प्रश्न थियो, देशभरको रिपोर्टिङ हेर्ने, विचार विश्लेषण पस्किरहने सम्पादकले फेरि उही पूर्वैकै कथा किन लेखेको? ‘जुन ठाउँमा जन्मियो, हुर्कियो, त्यसको प्रभाव परेकै हुन्छ,’ वसन्तले भने, ‘मैले जे भोगें, जे देखें, त्यसलाई आख्यानमा किन नल्याउने भनेर।’ पूर्वका कथा कम लेखिएको उनको भनाइ थियो।
लामो समयदेखि गुम्फिरहेको कथा उपन्यासमा उतारेको वसन्तले सुनाए। माओवादी सशस्त्र संघर्षसँग जोडिएको पात्रलाई केन्द्रमा राखेर लेख्दा लेख्दै पनि उपन्यासमा त्यो पात्र ढुलमुले, माओवादी आस्थाप्रति गहिरो लगाव नभएको बनाउँदा न्याय भएन कि भन्ने झलकको सोधाइ थियो। वसन्तले भने युद्धमा सबैले हतियारले नलड्ने र सबै माओवादी प्रचण्ड नबन्ने विचार राखे। ‘त्यो युद्ध लागेका तर त्यसप्रति मतलब नभएकाहरुको पनि कथा हुन्छन्,’ उनले भने, ‘तर किताब लेख्दा यस्तो टिप्पणी आउला र जवाफ दिउँला भनेर तर लेखेको होइन।’
उपन्यासको पात्र डुक्पाजस्ता थुप्रैजनाका कथा नआएको उनको भनाइ थियो। ‘माओवादीबाट पीडित, सेनाबाट पीडितहरुको कथा त आउँछ,’ उनले भने, ‘तर डुक्पाजस्ता पनि धेरै छन्, तिनको कथा भनिएको हुँदैन, त्यस्तैको कथा भनौं भन्ने हो।’ महाभारा उपन्यासमा द्वन्द्व, घुम्ती जस्ता औजार नभएको भनेर आएका टिप्पणीप्रति आफ्नो सम्मानै रहेको बस्नेतले सुनाए।
सरल र सरस प्रस्तुत भएका उपन्यासका बस्नेतले धेरै टिकाटिप्पणीलाई आफ्नो सम्मान रहेको भन्दै उत्तरहरु फर्काउन चाहेनन्। अझ लेखक झलकले ४ धर्म र तीबीच क्लास नगर्नुपर्ने कि वा त्यस्तो बेला आइसकेको हो कि होइन भन्दै आफूलाई क्लियर नभएको भन्दै प्रश्न राख्दा क्लियर नभएको प्रश्नको उत्तर दिन सजिलो हुने बताउँदै हाँसे। ‘क्लियर नभई प्रश्न आयो भने सजिलो हुन्छ, उपन्यास जस्तो उत्तर दिन पाइन्छ, क्लियर भए त ननफिक्सनल उत्तर हुन्छ,’ उनी मुस्कुराए।
घुमीफिरी डुक्पाकै प्रसंग कोट्याउँदा वसन्तले साधारण मान्छेकै कथा अथेन्टिक हुन्छ कि भनेरै लेखेको जवाफ दिए। ‘त्यो अथेन्टिक कथा खोज्दा मेरो पात्र फ्ल्याट हुन गयो कि, तर हामीले राउन्ड क्यारेक्टर खोज्यौं कि,’ उनले भने, ‘यो जूनीमा एउटा पात्रबाट सम्पूर्ण लडाइँ लड्न सम्भव छैन, एउटै पात्रबाट सम्पूर्ण प्रेम गर्न सम्भव छैन।’
उपन्यासको मेसेजको के हो? उनले भने, ‘मेसेज दिने कुरामा भयंकर विश्वास गर्थें, अहिले गर्दिनँ।’ उनको उपन्यासमा लिम्बु जातिको पालम संस्कृति पनि छ। किशोर अवस्थामा पालम नाचियो ? झलकको प्रश्न थियो। ‘नाचियो,’ वसन्तले उत्तर फर्काए, ‘मलाई मोटामोटी आउँछ, उपन्यासमा भएका पालम मैले नै लेखेको हो, छन्दहरु मिलाउन जान्ने लेखकहरु, कविहरुको साथ लिएँ।’
उपन्यासको पात्र डुक्पा लडाइँमा गएको गयै गरेको भए के हुन्थ्यो ? अयोग्य लडाकु भएको भए के हुन्थ्यो ? भन्ने पनि सोचे पनि उसलाई उसकै अवस्थामा छाडेको वसन्तले प्रष्ट्याए। अनि भने, ‘जुन किताबमा लेखकले पात्रहरुलाई सुन्छ, त्यो किताब राम्रो हुन्छ भन्छन्।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)