महाशिवरात्रि माहात्म्य

महाशिवरात्रि माहात्म्य

कामना पूरा होऊन् भनेर प्रहर पूजा गरिन्छ। मनमा आएका नकारात्मक प्रभाव हटाउन र कसैप्रति अनिष्ट नहोस् भनेर यो पूजा गरिन्छ। व्यत्ति वा राष्ट्रले पनि यो पूजा गर्न सक्छ।


वैदिक धर्ममा मोह, काल, सुख र शिव गरी चार रात्रिको महत्त्व विशेष ढंगले व्याख्या गरेको पाइन्छ। चारवटै रात्रिमा विभिन्न देवी–देवता विशेषको पूजा गरिँदै आएको पाइन्छ। अर्थात्, मोहरात्रिमा कृष्ण, कालरात्रिमा नवदुर्गा, सुखरात्रिमा लक्ष्मी र शिवरात्रिमा शिवको पूजाअर्चना विधिविधानका साथ गरिन्छ। शिवरात्रिलाई सबैभन्दा बढी महत्त्व दिएको पाइन्छ। त्यसैले शिवरात्रिलाई ‘महाशिवरात्रि’ भन्ने गरिएको छ। शिवरात्रिको व्रतलाई व्रतमध्येमा ‘श्रेष्ठ’ मानिन्छ। त्यसैले शिवपुराणमा ‘व्रतराज’को संज्ञा दिइएको पाइन्छ।

यसरी सुरु भयो शिवरात्रि

ब्रह्मा र विष्णुका बीचमा विवाद भयो। संघर्ष भएका अवस्थामा शत्रुता बढेको थियो। त्यसबेला ब्रह्मा र विष्णुका बीचमा तेजोमय लिंग (आगोजस्तो धपधप बल्ने) प्रकट भयो। दुवै झगडा गर्न छोडेर त्यसको फेद र टुप्पो पत्ता लगाउन हिँडे। विष्णु वराहको रूप लिएर तलतिर गए। ब्रह्मा हाँसको रूप लिएर माथितिर गए। दुवैले उक्त लिंगको टुप्पो र फेद केही पत्ता लगाउन सकेनन्। तर ब्रह्माले छल गरेर केतकी (फूल) आदिलाई झुटो साक्षी बकाई मैले टुप्पो पत्ता लगाएँ भनेर ढाँटे। विष्णुले पत्याए। त्यस अवसरमा तेजोमय लिंगबाट साकार रूपमा शिव प्रकट भए। ब्रह्मा र विष्णुका बीचको वैरभाव समाप्त गरेर शिवतत्त्वको ज्ञान दिए। त्यसपछि ब्रह्मा र विष्णुले शिवको पूजाअर्चना गरे। यही समय शिवरात्रि भएको शिव महापुराणको विद्येश्वर संहितामा वर्णन गरिएको छ।

वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभाग प्रमुख प्रा.डा. देवमणि भट्टराई नेपाल र भारतमा गरी १२ वटा ज्योतिर्लिंग रहेकोमा शिवरात्रिका लागि नेपालस्थित पशुपतिनाथलाई विशेष महत्त्वको मानिने बताउँछन्। भन्छन्, ‘१२ ज्योतिर्लिंगमध्ये नेपालको पशुपतिनाथ शिर भाग भएकाले शिवरात्रिमा विशेषगरी साधुसन्त आउने गरेका हुन्।’ महाशिवरात्रि पर्व वर्षमा एक पटक फागुन कृष्ण पक्षको चतुर्दशी तिथिमा मनाइन्छ। उक्त दिन व्रत लिएर भक्तजनले पूजाअर्चना गर्ने गर्छन्। भट्टराईका अनुसार, भगवान् शिव (पशुपतिनाथ)का नाममा व्रत (विशेष गरेर उपवास) बस्ने काम हुन्छ। यो पहिलो काम हो। दोस्रो, पूजाअर्चना हो। तेस्रो, रात्रिकालमा जागरण रहने हो। चौथोमा, जागरणसँगै प्रहर पूजा गर्ने प्रचलन छ।

महाशिवरात्रिमा चार प्रहर पूजा

महाशिवरात्रिका दिन साँझदेखि भोलिपल्ट बिहानसम्मका चार प्रहरमा भगवान् शिवको विशेष पूजाअर्चना हुन्छ। साँझ ६ बजेदेखि ९, ९ देखि १२, १२ देखि सबेरैको ३ र ३ देखि बिहान ६ बजेसम्म गरी चार प्रहर (पहर) पूजा गरिन्छ। डा. भट्टराई थप्छन्, ‘कामना पूरा होऊन् भनेर प्रहर पूजा गरिन्छ। मनमा आएका नकारात्मक प्रभाव हटाउन र कसैप्रति अनिष्ट नहोस् भनेर यो पूजा गरिन्छ। व्यक्ति, समूह, समाज वा राष्ट्रले पनि यो पूजा गर्न सक्छ। जसबाट सकारात्मक ऊर्जा प्राप्त हुन्छ।’ हरेक प्रहर पूजामा जल, दूध, कुसका टुक्रा तीनवटा, सस्र्यूं, तिल, चन्दन अक्षता फूल, दही र दूबो गरी आठ पदार्थ प्रयोग हुन्छ। उनका अनुसार हरेक प्रहरमा यी पदार्थले पूजा गरेपछि पहिलो प्रहरको पूजापछि बेलको फल राखेर अर्घ दिइन्छ। दोस्रो प्रहरको पूजापछि बिमिरो फल राखेर अर्घ दिइन्छ। तेस्रोमा प्रहर पूजा सकेपछि दारिमको फल राखेर अर्घ दिइन्छ। चौथोमा भने केरा फल राखेर अर्घ दिइन्छ।

प्रत्येक प्रहरमा फरकफरक मन्त्र जाप गर्ने प्रचलन छ। ‘ओम नम शिवाय’ ११ हजार वा सवा लाख आदि जप गर्न सकिन्छ। रुद्राभिषेक गर्न सकिन्छ। शिवमहिमा स्त्रोत्र पाठ गर्न सकिन्छ। षोडषोपचार पूजा पनि प्रहर पूजामा गर्ने गरिन्छ। भनिन्छ, भगवान् शंकर (शिव)को पूजा जानी वा नजानी व्रत लिएर जाग्राम बसेर पनि फल प्राप्त गर्न सकिन्छ। ‘प्रहर पूजा गरेपछि आफ्ना काम सिद्ध गर्न सकिन्छ। पापताप, दुःखकष्ट र दरिद्री हरण गर्न सकिन्छ’, उनी भन्छन्, ‘शिवरात्रिमा शिवको व्रत आजीवन लिनुपर्छ भनेर व्रतराज ग्रन्थमा उल्लेख छ। यो वार्षिक नित्य व्रत हो। कामना सिद्ध होस् (काम्य) भनेर कुनै पनि विशेष काम चिताई १४ वर्षमा व्रत समापन गर्न पनि सकिन्छ।’ स्वदेश–विदेशका लाखौं दर्शनार्थी आई भगवान् पशुपतिनाथमा पूजा–अर्चना गर्ने उक्त दिन (यस वर्ष फागुन १७ गते) विशेष पर्वको रूपमा महाशिवरात्रि पर्व मनाइन लागेको छ।

१६९६ सालमै शिवरात्रि मनाउनका लागि गुठीको व्यवस्था

शिवरात्रिको मध्यरातमा भगवान् पशुपतिनाथको विशेष पूजा गर्नका निमित्त १८७० सालमा गीर्वाणयुद्ध वीरविक्रम शाहदेवले गुठीको व्यवस्था गरेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापा बताउँछन्। सोही गुठीअनुरूप हालसम्म कोष मातहतको कार्यालय अमालकोट कचहरीबाट पशुपतिनाथको चार प्रहरको पूजा गरिँदै आएको छ। २०४१ सालमा प्रकाशित ‘अपांगको आकांक्षा’ मा गोविन्द टण्डनले लेखेको ‘भीम मल्लको अन्त्य’ शीर्षकको लेखमा शिवरात्रिका दिन पूजाआजा गर्न गुठी राखेको सन्दर्भमा नेपाल संवत् ७६० (विक्रम सम्बत् १६९६)मा भीम मल्लले पूर्ण मल्लको नाममा पशुपतिनाथमा बेलपत्र, फूल तथा पञ्चामृत स्नानका लागि राखेको व्यवस्थालाई पशुपतिनाथ मन्दिरमा गरिएको यस प्रकारको व्यवस्था पहिलो भएको उल्लेख गर्न सकिन्छ भनेका छन्। यसैगरी तीन वर्षपछि उनै भीम मल्लले शिवरात्रिका दिन पञ्चामृतसहित बेलपत्रले पूजा गर्न गुठी राखिदिएको पनि उनले उल्लेख गरेका छन्।

मोहरात्रिमा कृष्ण, कालरात्रिमा नवदुर्गा, सुखरात्रिमा लक्ष्मी र शिवरात्रिमा शिवको पूजाअर्चना विधिविधानका साथ गरिन्छ। शिवरात्रिलाई सबैभन्दा बढी महत्त्व दिएको पाइन्छ। त्यसैले शिवरात्रिलाई ‘महाशिवरात्रि’ भन्ने गरिएको छ।

डा. थापाका अनुसार, शिवरात्रिका अवसरमा सामवेद तथा ऋग्वेदीय पद्धतिले वाचन गरी प्रत्येक प्रहर (चार प्रहर)मा चारपटक पूजा गर्ने विधान रहेको छ। ‘शिवरात्रिका दिन चार प्रहरमा पूजा गर्ने क्रममा आराध्यदेव भगवान् पशुपतिनाथको प्रथम प्रहरमा दूधद्वारा ईशान मुहारको, द्वितीय प्रहरमा दहीद्वारा अघोर मुहारको, तेस्रो प्रहरमा घिउद्वारा वामदेव मुहारको र चौथो प्रहरमा महद्वारा सद्योजात मुहारको पूजा गर्ने चलन छ’, डा. थापा थप्छन्। यसरी पशुपतिनाथ मन्दिरमा र नेपालभर रहेका शिवालय, मठमन्दिरमा धुनी जगाई उक्त दिन विशेष पूजा गरिन्छ। शिवरात्रिको अघिल्लो दिनदेखि पशुपतिमा भक्तजनको घुइँचो लाग्ने गर्छ। भगवान् विष्णुले एकपटक भगवान् शिवलाई कुन व्रतबाट भक्तजनलाई भोग र मोक्ष एकसाथ प्रदान गर्नुहुन्छ ? भनी प्रश्न गरे। शिवले १० वटा व्रतहरूको नाम दिए। जसमा शिवरात्रिलाई अत्यधिक महत्त्व दिँदै भोग र मोक्ष चाहनेले शिवरात्रिको व्रत बस्नु योग्य छ भनी बताएको शिव महापुराणमा उल्लेख छ। जसमा शिवरात्रिलाई ‘मनुष्यको हित गर्नेवाला’ बताइएको छ। सोही पुराणमा उक्त दिन बिहानैदेखि समापन नहुञ्जेल गर्नुपर्ने पूजाका सबै विधानबारे पनि उल्लेख गरिएको पाइन्छ।

२००७ सालअघि यसरी आउँथे भारतीय
‘२००७ साल अघिसम्म शिवरात्रि एउटा यस्तो पर्व थियो जसको अवसर पारेर मात्र भारतीयहरू नेपालमा आउन सक्थे। यो चलन कहिलेदेखि चलेको हो भन्न सक्दिनँ’, डा. गोविन्द टण्डनले ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ नामक आफ्नो पुस्तकमा लेखेका छन्, ‘तर श्री ५ पृथ्वीनारायण शाहबाट देशको लोकसंस्कृतिको बचाउ तथा राष्ट्रियताको संवद्र्धनमा गरेका प्रयासहरूलाई मनन् गर्दा नेपाल एकीकरणको प्रारम्भिक काम सकेपछि नै उक्त चलन चलेको अनुमान हुन्छ।’ नेपाल सांस्कृतिक परिषद्ले २०१४ सालमा प्रकाशन र धनवज्र वज्राचार्य र ज्ञानमणि नेपालद्वारा सम्पादित ‘जयरत्नाकर नाटक’ मा उल्लेख छ, ‘राजा महाराजाबाहेक अरू तोकिएको समयसम्म यहाँ (पशुपतिनाथ) बस्थे। त्यस अवधिमा वेदान्तचर्चा चल्थ्यो। समय सकिएपछि परदेश गएनन् वा फर्की आए भने सिपाही लगाएर साधु, सन्त, जोगी धपाइन्थ्यो। यस प्रचलनको पहिलो उल्लेख १८४९ सालको माघमा लेखिएको जयरत्नाकर नाटकमा आएको पाइन्छ।’

डा. टण्डन भन्छन्, ‘२००७ सालअघि शिवरात्रिको दुई, तीन दिन अगाडिदेखि नै भारतबाट आउने भक्तजन र साधुसन्तका लागि वीरगन्ज, अमलेखगन्ज, भीमफेदी, मार्खु आदि गाउँमा आवासको निमित्त पाल, भरिया र डोलेहरूको व्यवस्था हुन्थ्यो। उनीहरूका निम्ति आवश्यक पर्ने औषधि र कम्पनी सटहीको पनि व्यवस्था हुन्थ्यो।’ यात्रुलाई अलपत्र पारे डोले, भरियालाई सजाय हुने, तिनले तोकेको भन्दा बढी ज्याला लिन नपाउने, यात्रुलाई सरुवा रोग लागे अस्पताल पुर्‍याउने र त्यहाँ कम्पाउन्डर खटाउने व्यवस्था आदि भएको उनको भनाइ छ। सडक, सवारी साधन आदिको व्यवस्था हुँदै गएपछि भारतीय भक्तजन र साधुसन्त आफ्नै पहल र प्रयासमा पशुपति आउन थालेका हुन्। जानकारका अनुसार पशुपतिनाथमा मनाइने पर्वहरूमा शिवरात्रि सबैभन्दा भव्य हुन्थ्यो। २००७ सालपछि उनीहरू शिवरात्रिबाहेक अरू बेला पनि आउन सक्ने गरी सरकारले सहज बनाइदिएको पाइन्छ। खासगरी २०११ सालमा तत्कालीन राजा त्रिभुवनको प्रयासमा बनेको कान्ति राजपथले राजधानी प्रवेशमा सहजता भएको पाइन्छ। राणा शासनको अन्त्य भएपछि नेपालमा प्रजातन्त्र आएकाले भारतीयले नेपाल आउन शिवरात्रि नै पर्खनु नपर्ने गरी नेपाल सरकारले खुला गरिदियो। त्यसपछि क्रमशः शिवरात्रिकै दिन मात्र भीड हुने क्रम घट्दै गएको पाइन्छ।

१ अर्ब ९५ करोड वर्षअघिका शिव

भगवान् श्रीपशुपतिनाथप्रतिको श्रद्धा र भक्तिका कारण महाशिवरात्रि पर्वमा टाढाटाढाबाट भक्तजनहरू आउँछन् नै। स्वामी उमेशानन्द सरस्वती त्यस्तैमध्ये एक हुन्। ३८ वर्षदेखि उनी हरेक वर्ष पशुपतिनाथको दर्शनका लागि नेपाल आउने गरेका छन्।
भारतको हरिद्वारस्थित कनखलमा जनकल्याण सेवा आश्रम सञ्चालन गरेर उनी दुःखी, दरिद्री तथा अनाथहरूको सेवामा समर्पित छन्। उनी भन्छन्, ‘भगवान् श्रीपशुपतिनाथको दर्शन र रुद्राभिषेक गर्न पाउँदा आनन्दको अनुभूति हुन्छ। अरू सेवाभाव जागृत भएर ऊर्जाशील भएको महसुस गर्दछु।’ बर्सेनि त्यो पनि निरन्तर निर्धारित मितिमै नेपाल आउन कसैलाई पनि सहज हुँदैन। ३८ वर्ष भइसक्यो, अब कहिलेसम्म आउनुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनी भन्छन्, ‘जहिलेसम्म स्वास्थ्यले साथ दिन्छ, म यसैगरी नेपाल आइरहनेछु। अनि महाशिवरात्रिका बेला भगवान् भोलेबाबा शिवको पूजाआराधनामा समर्पित रहनेछु।’ उनीजस्तै कैयौं साधु, सन्त, महात्माहरू यस्तै मनोकांक्षा लिएर शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आएका हुन्छन्।

शिवका खास भक्त भनेकै साधुसन्त हुन्। उनीहरू शिवरात्रिलाई विशेष पर्व अर्थात् उत्सवका रूपमा लिन्छन्। धुनी जगाएर जाग्राम बस्ने गर्छन्। साधु, सन्त र महात्मा सधैंभरि वैरागी नै हुन्छन् तर शिवरात्रिमा बढी प्रिय छु भन्ने भाव उनीहरूमा आउँछ। त्यसैले शिवका मठमन्दिरमा चिसोको पर्वाह नगरी धुनी बालेरै रात काट्छन्। संस्कृतिविद् डा. देवमणि भट्टराई भगवान् शंकर÷शिवका बारेमा यस्तो महिमा सुनाउँछन्। ‘सृष्टिअघि पनि शंकर हुनुहुन्थ्यो भन्ने कुरा शास्त्रहरुमा वर्णित छ। सृष्टि (सृष्टिगत वर्ष) १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २२ वर्ष पुरानो हो। यो कुरा पात्रोको प्रारम्भमै लेखिएको छ।’, उनी भन्छन्, ‘सृष्टिमा रहिरहने पनि भगवान् शंकर नै हुनुहुन्छ। पछि पनि रहिरहनु हुन्छ। त्यसैले शंकरलाई सदाशिव भनिएको हो। ब्रह्मादेखि लिएर घाँसको टुक्रासम्म पनि उहाँकै स्वरूप भएको शिवकै कारणले हो। जुन शिव महापुराणमा छ।’ पञ्चांग निर्णायक समिति, नेपालका पूर्वअध्यक्ष रामचन्द्र गौतम विभिन्न ज्योतिष शास्त्रका 
आधारमा सृष्टिगत वर्ष तय गरिएको जानकारी दिन्छन्। भन्छन्, ‘पात्रोमा सूर्य सिद्धान्तमा आधारित भएर गणना गरी लेखिन्छ। सृष्टिगत वर्ष तय गरेर झन्डै १७ सय वर्षअघिदेखि पात्रोमा उल्लेख गर्दै आएका छौं।’

शिव महापुराणमा शिवको कथन
भगवान् शिवले शिव महापुराणमा भनेका कुरा (जस्ताको तस्तै) यस्ता छन्– मेरा व्रतहरू प्रशस्त छन् जसले उपासकलाई भुक्ति र मुक्ति प्रदान गर्छन्। तीमध्ये पनि १० वटा व्रत चाहिँ मुख्य छन्। जाबालश्रुतिमा पारंगत विद्वान्हरूले दसवटै शैवव्रत बताएका छन्। ती व्रतहरूलाई द्विजहरूले सधैं यत्नपूर्वक पालना गर्नुपर्छ। प्रत्येक अष्टमी तिथिका दिन रातमा मात्र भोजन गर्नुपर्छ। त्यसमा पनि कृष्णपक्षको अष्टमीमा चाहिँ भोज नै गर्नु हुँदैन। शुक्लपक्षको एकादशीका दिन पनि भोजन गर्नु हुँदैन। कृष्णपक्षका एकादशीका दिनमा चाहिँ बेलुका मेरो पूजा गरेपछि भोजन गर्नु हुन्छ। शुक्लपक्षका त्रयोदशीमा भने राति भोजन गर्नु पर्छ तर कृष्णपक्षको त्रयोदशीमा चाहिँ मेरो उपासना गर्ने मनुष्यले भोज नै गर्नु हुँदैन। शुक्ल र कृष्ण दुवै पक्षका सम्पूर्ण सोमबार शिवको भक्ति गर्न तत्पर हुने मनुष्यले राति मात्र भोजन गर्नुपर्छ। यी व्रतहरूमा व्रतको पूर्तिका लागि यथाशक्ति शिवभक्त ब्राह्मणहरूलाई भोजन गराउनु पर्छ।

मुक्तिमार्गमा प्रवीण मनुष्यले मुक्ति प्राप्त गराउने चारवटा व्रतको पालना नियमपूर्वक गर्नुपर्छ। ती चारवटा व्रतहरू हुन्– भगवान् शिवको पूजा, रुद्रमन्त्रको जप, शिव मन्दिरमा उपवास र काशीमा मरण। यी मोक्षका सनातन मार्ग हुन्। सोमबारको अष्टमी र कृष्णपक्षको चतुर्दशी यी दुई तिथिमा गरेको व्रत– उपवासले भगवान् शिवलाई प्रसन्न बनाउँछ, यसमा अन्यथा सोच्नु पर्दैन।

यसैगरी, सोही महापुराणमा शिवले भनेका छन्– यी चार व्रतमा पनि शिवरात्रिको व्रत बढी बलवान् छ। त्यसैले भुक्ति र मुक्तिरूपी फलको चाहना गर्ने मनुष्यले शिवरात्रिको व्रत गर्नुपर्छ। मनुष्यका लागि यसभन्दा अर्को हितकारक व्रत छैन। यो व्रत सबैका लागि धर्मको उत्तम साधन हो। निष्काम अथवा सकाम भाव राख्ने सम्पूर्ण मनुष्य, वर्ण, आश्रम, स्त्री, बालक, दास, दासी र देवादि सबै देहधारीका लागि यो उत्तम व्रत हितकारक मानिएको छ। माघ महिनाको कृष्णपक्षमा शिवरात्रिको विशेष महत्त्व बताइएको छ। जुन दिन आधा रातसम्म त्यो तिथि रहन्छ, त्यसै दिन शिवरात्रिको व्रत लिनुपर्छ। शिवरात्रिले करोडौं हत्याजन्य पापलाई पनि नष्ट गर्छ।

त्यस शिवरात्रिका दिन बिहानैदेखि लिएर जुन काम गर्नु पर्छ त्यस विषयमा मन दिएर सुन्नु होस्, म प्रेमपूर्वक त्यो कुरा तपाईंलाई बताउँछु– बुद्धिमान् जनले बिहान सबेरै उठेर परम आनन्दका साथमा आलस्य नगरी स्नानादि नित्यकर्म गर्नुपर्छ। त्यसपछि शिवालयमा गएर विधिपूर्वक भगवान् शिवलाई पूजा एवं नमस्कार गरेर संकल्प गर्नु पर्छ– हे देवदेव ! महादेव ! हे नीलकण्ठ ! हजुरलाई नमस्कार छ। हे देव ! म हजुरको शिवरात्रि व्रत गर्न चाहन्छु। हे देवेश ! हजुरका प्रभावले त्यो व्रत निर्विघ्न पूर्ण बनोस्, काम आदि शत्रुहरूले मलाई पीडा नगरून्। यसरी संकल्प गरेर पूजासामग्री तयार गर्नुपर्छ। अनि शास्त्रमा प्रसिद्ध शिवलिंग भएका सुन्दर स्थानमा जानुपर्छ।

को हुन् शिव ? के हो शिवतत्त्व ?

शिव को हुन् ? हरि को हुन् ? रुद्र को हुन् अनि ब्रह्मा को हुन् ? यिनीहरूमध्ये निर्गुण को हो ? भनी ऋषिहरूले शंकाको निवारण गरिदिन आग्रह गर्छन्। जवाफमा सूतजीले भनेका थिए, निर्गुण परमात्माबाट सर्वप्रथम जसको उत्पत्ति भयो, वेद र वेदान्तका ज्ञाताहरू तिनैलाई ‘शिव’ भनिन्छ। शिवबाट पुरुषले युक्त भएकी प्रकृतिको उत्पत्ति भयो। प्रकृति र पुरुषले जलमा बसेर तपस्या गरेको मूलस्थान ‘पञ्चक्रोशी काशी’का नामले विख्यात भयो। त्यो काशी जलले व्याप्त थियो र त्यहाँको जल विश्वमै व्याप्त हुन गयो। शिव महापुराणमा उल्लेख गरिएअनुसार, नारायणका नाभी कमलबाट ब्रह्माको उत्पत्ति भयो। ब्रह्माले तपस्या गरेर जसलाई साक्षात्कार गरे उनलाई ‘विष्णु’ भनियो। ब्रह्मा र विष्णुबीच भएको विवादलाई शान्त गर्न निर्गुण शिवले जुन रूप प्रकट गरे उनै ‘महादेव’ भन्ने नामले प्रख्यात भए।

भगवान् शिव (पशुपतिनाथ)का नाममा व्रत (विशेष गरेर उपवास) बस्ने काम हुन्छ। यो पहिलो काम हो। दोस्रो, पूजाअर्चना हो। तेस्रो, रात्रिकालमा जागरण रहने हो। चौथोमा, जागरणसँगै प्रहर पूजा गर्ने प्रचलन छ।

‘शिवले ब्रह्मा र विष्णुलाई शिवतत्त्वका बारेमा बताएका थिए। जुन तेजोमय लिंगरूप प्रकट भयो। त्यो परब्रह्म स्वरूप हो तर त्यसलाई तिमीहरूले चिन्न सकेनौं। त्यसकारण म साकार रूपमा प्रकट भएँ भनेर शिवले भन्नुभएको शिव महापुराणमा छ’, संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव प्राध्यापक चेतोनाथ गौतम भन्छन्, ‘ब्रह्मतत्त्व चाहिँ साकार हुँदैन। निराकार स्वरूप ब्रह्मतत्त्व हो। शिवले म नै साकार र निराकार स्वरूपमा प्रकट भएको हुँ। ब्रह्म, विष्णु जे भने पनि मै हुँ उनले भनेका थिए।’ उनका अनुसार रुद्रसंहिताको सृष्टि खण्डको अध्याय ६ को श्लोक १८ मा जुन परब्रह्म तत्त्वको साकार रूप नै सदाशिव हो। त्यसैलाई प्राचीन र आधुनिक विद्वान्हरू ईश्वर भनेर पनि पुकार्छन्। ‘परब्रह्म तत्त्व अमूर्त हुन्छ, त्यसको मूर्त स्वरूप भनेको सदाशिव हो त्यसैलाई विद्वान्हरूले ईश्वर मानेका हुन्’, गौतम भन्छन्, ‘यहाँ ईश्वर मानिएका भगवान् शिव नै हुन्। शिवले पाँच कार्य (पञ्चकृत्य) सम्पादन गर्छन्, सृष्टि (ब्रह्माको रूपबाट संसारको सृष्टि गर्ने), स्थिति (विष्णुका रूपमा पालना गर्ने), संहार (रुद्रका रूपमा नास गर्ने), निग्रह (महेश्वरका रूपमा तिरोभाव गर्छन् अर्थात् संसारबाट बाहिर पुर्‍याउने) र अनुग्रह (शिवका रूपमा मुक्ति दिने काम)।’

शिव महापुराणको चौथो कोटिरुद्रसंहिताअन्तर्गत सगुण–निर्गुण भेद वर्णन भएको बयालिसौं अध्यायमा छ– त्रिगुणरहित शिव र विभिन्न गुणले युक्त भएका रुद्रमा सुन र सुनबाट बनेका गहनामा जस्तै वास्तविक भेद छैन। दुवैका रूप र कर्म समान छन्। अत्यन्त भयानक पराक्रम भएका रुद्र सर्वथा शिवकै स्वरूप हुन्। रुद्र त भक्तको कार्य सिद्ध गर्न र हरि एवं ब्रह्मालाई सहायता गर्न उत्पन्न भएका हुन्। रुद्रसँग मिलेर मात्र सबै प्राकृत प्राणीहरूको लय हुन्छ तर प्राकृत प्राणीसँग मिलेर रुद्रको लय हुँदैन भन्ने वेदकै वचन छ। जो रुद्रका भक्त छन् ती चाहिँ तत्काल शिवमा लीन हुन पुग्छन् र शिव नै हुन्छन्। त्यसैले रुद्रभक्तलाई शिवत्त्व प्राप्तिका लागि अर्काको अपेक्षा हुँदैन, यो सनातन श्रुतिवचन हो।

ब्रह्मादेखि लिएर तृणपर्यन्त यस संसारमा जे जति देखिन्छ, त्यो सबै एउटै शिव नै हो, नानात्वको कल्पना मिथ्या हो भनेर बयालिसौं अध्यायमा उल्लेख छ। यस्तै, सृष्टिभन्दा पहिले पनि शिवको सत्ता थियो, सृष्टिका मध्यमा पनि शिवको र सृष्टिका अन्त्यमा पनि शिवकै सत्ता बताइएको छ अनि सबै शून्य भएका अवस्थामा पनि सदाशिवकै सत्ता बाँकी रहन्छ भनी वर्णन गरिएको छ। ‘चारै अवस्थामा सत्ता हुनाले नै शिवलाई चतुर्गुण भनिएको हो। शक्तिले सम्पन्न हुनाले निर्गुण शिवलाई नै सगुणरूपमा जान्नु पर्छ। यसरी शिव सगुण र निर्गुणका भेदले दुई प्रकार हुनुहुन्छ।’, उक्त अध्यायमा वर्णन गरिएको छ।

शिवरात्रिको कथा 

गुरुद्रुहको मोक्ष प्राप्ति

प्राचीन समयमा गुरुद्रुह नाम गरेका व्याधा वनमा सिकार गरेर जीवन निर्वाह गर्दथे। उनी हत्या आदि जुनसुकै नराम्रो कर्म गर्न पनि पछि हट्दैनथिए। वनमा मृगको सिकार गर्नु र घर फर्कंदा बाटोमा हिँड्ने बटुवाहरूको धनदौलत लुट्नु उनको नित्य कार्य थियो। बाल्यकालदेखि युवावस्थासम्म कहिल्यै उनले राम्रो भन्ने काम गरेका थिएनन्।

एक दिन उनका आमाबाबु र पत्नीले आफूहरू भोकले आकुलव्याकुल भएकाले गुरुदुहलाई जहाँबाट भए पनि खानेकुरा ल्याउन आग्रह गरे। उनकी पत्नी गर्भवती थिइन्। घरका परिवारले त्यति भनेपछि उनी आफ्नो धनुषबाण उठाएर वनतिर पसे। त्यसदिन रात झमक्क परिसक्दा पनि कहीँकतै सिकार भेट्टाउन सकेनन्। नफर्कूं रात परिसक्यो, फर्कूं सिकार हात परेन। यसै रित्तो हात जानु भएन भन्ने सम्झिए।

त्यसपछि उनी एउटा तलाउको छेउमा बेलको रूखमाथि बास बस्ने र जलाशयमा पानीले तिर्खाएको जनावार आए मार्ने ध्येय राखे। उनले आफूलाई चाहिने पानी लिएर रूख चढे। जब रातको प्रथम प्रहर भयो तब तिर्खाले आकुलव्याकुल भएकी मृगिणी पानी पिउन जलाशयमा आई। त्यसलाई देख्नासाथ व्याधा खुब प्रसन्न भए। धनुषमा बाण चढाउन प्रयत्न गरेकै बेला रूखमुन्तिर रहेको शिवलिंगमा पानी र बेलपत्र झर्‍यो। त्यस दिन शिवरात्रि परेका थियो। शिवरात्रिको प्रथम प्रहरको पूजा यसरी अञ्जानमा नै सम्पन्न भयो।

प्रथम प्रहरको शिवपूजाबाट उनको समस्त पापको क्षय भयो। यत्तिकैमा आफूमाथि धनुष चढाउन ठीक परेको देखी बडो भयभीत भएर मृगिणीले व्याधालाई उनको के गर्ने इच्छा छ सोधी। व्याधाले आफ्नो घरमा सबैजना भोकै रहेको तथा उसलाई मारी परिवारको भोक शान्त पार्ने इच्छा भएको बताए। मृगिणीले एक जना मलाई मारेर यसका परिवारको भोक शान्त हुन्छ भने ठीकै छ भन्ने सम्झी। अनि व्याधालाई अहिले एकछिनका लागि छोडिदिएमा घरमा बालबच्चा र लोग्नेलाई सबै कुरा बुझाई आउने निवेदन गरी।

पहिले त व्याधाले मानेका थिएनन्। पछि मृगिणीले अनेक प्रार्थना गरेपछि छोडिदिए। उता मृगिणी घरमा गई सबै वृत्तान्त भनेर आउन खोज्छे। बालबच्चाको क्रन्दन र लोग्नेको रुवाइले उसको घरमा सन्नाटा छाउँछ। यता यस्तै घटना दोस्रो प्रहर, तेस्रो प्रहर र चौथो प्रहरमा पनि घट्छ। प्रथम प्रहरमा झैं जब धनुषमा बाण चढाउन खोज्छ तब पानी, बेलको पात रूखमुन्तिरको शिवलिंगमा पर्छ। त्यसले भगवान् शिव अत्यन्त खुसी हुनुभयो। आउने वचन दिएर गएकी मृगिणी परिवारसहित बिहानपख वचन दिएअनुसार व्याधाको आहाराको लागि उपस्थित भई।

मृगिणीको त्यो इमान्दारी देखी व्याधाको मनमा कौतुहल र सहानुभूति पैदा हुन्छ। त्यसैले उनले तिनीहरूलाई मार्नुको साटो मुक्त गरिदिए। व्याधाले पछि आत्मचिन्तन गरे र थाहा पाए कि त्यो दिन महाशिवरात्रिको दिन रहेछ। तत्पश्चात् मृग–मृगिणीले शिव दर्शन पाई मोक्षपद प्राप्त गरे। गुरुद्रुहले दिव्य शरीर पाएर दिव्यलोक शिवधाम प्राप्त गरे। यस प्रकार अञ्जानमा गुरुद्रुह जस्तो कुकर्मीले जल र बेलपत्र खसालेकोबाट त मोक्ष पाए भने अरूले प्रेमपूर्वक पूजाआजा गरेमा ज्ञानदृष्टि नपाउने कुरै छैन भन्ने भाव बुझाउन शिव महापुराणमा यो कथा दिइएको छ। शिवरात्रिमा सबैभन्दा पहिले पूजा गर्ने भक्त गुरुद्रुह हो भन्ने कुराको पनि त्यहाँ उल्लेख छ।

तस्बिर : रविन भट्टराई


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.