‘कानुन व्यवसायीको निष्पक्ष भूमिका अपरिहार्य’
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान र कानुनको भावनालाई आत्मसात गर्दै कानुन व्यवसायीले निष्पक्ष भूमिका खेल्न सके मात्र लोकतान्त्रिक गणतन्त्रका आधारभूत संरचनाहरू बलिया र दीर्घजीवि हुने बताएकी छन्।
काठमाडौंमा आइतबार सुरु भएको १५औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन, २०७८ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कानुन व्यवसायीको लक्ष्य सुन्दर समाज निर्माण गर्ने भएकाले सधै देश, जनता र समाजलाई केन्द्रबिन्दुमा राखेर कानुनको वकालत र विकास गर्नुपर्ने बताइन्। नेपाली जनताको निरन्तर चाहनाको विषय स्वच्छ न्याय, सक्षम प्रशासनको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले न्याय प्रणालीलाई सुदृढ तुल्याउनका लागि आवश्यक पर्ने राय सुझाव प्रदान गर्न यो सम्मेलन सफल हुने अपेक्षा गरेकोे बताइन। उनले भनिन्, ‘संविधानमा मौलिक हकको व्यवस्था भएर मात्र हुँदैन। कार्यान्वयन पनि अपरिहार्य छ। ढिलो न्याय पाउनु भनेको न्याय नपाए सरह हो। निर्दोषले सजाय पाउनु अझ ठूलो अन्याय हो। सबै पक्षले न्याय निरुपण प्रक्रियालाई प्रभावकारी तुल्याउन ध्यान दिनुपर्छ।’ राष्ट्रपति भण्डारीले न्यायपालिकामा हुने विकृति एवं विसंगतिलाई निर्मूल गर्न समय समयमा विभिन्न निकायबाट दिइएका निष्कर्षलाई कार्यान्वयन गर्नुपर्ने बताइन्। ‘दक्ष कानुन व्यवसायीको योगदानसहित न्यायपालिकाबाट आउने व्याख्या तथा प्रतिपादित सिद्धान्तले संविधानवाद र लोकतान्त्रिक संस्थाहरूलाई समृद्ध बनाउँदै लैजान्छन्।’ उनले भनिन्।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाले नागरिकप्रतिको जवाफदेहिता र उत्तरदायित्वको भावनाका साथ कार्य गर्न सक्नुपर्ने बताए।
महान्यायाधिवक्ता खम्मबहादुर खातीले कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाले आफ्नो काम कर्तव्य सीमाभित्र रहेर गर्नुपर्ने बताए। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीले व्यावसायिक मर्यादा कायम राख्नुका साथै न्यायपालिकाको समग्र सुधारका लागि प्रतिबद्धता जनाउनुपर्ने बताए।
नेपाल बार एसोसिएसनसका पूर्व अध्यक्ष शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा कठघरामा रहेको र संसदमा राजनीतिक मत, बाझिनसक्ने भएकोले म्यान्डेट दिनुपर्ने बताए।
कानुनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ सुरु भएको राष्ट्रिय सम्मेलन मंगलबारसम्म चल्नेछ।
वरिष्ठ अधिवक्ता भण्डारीलाई अभिनन्दन
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई कानुन वाङ्मय शताब्दी पुरुष उपाधिबाट अभिनन्दन गरिएको छ। उनलाई राष्ट्रपति भण्डारीले अभिनन्दनपत्र प्रदान गरेकी थिइन्। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले खादा, माला र दोसल्ला ओढाएर सम्मान गरे।
कानुन व्यवसायलाई मर्यादित र संस्थागत गर्न गरेको योगदानको उच्च सम्मान गर्दै भण्डारीलाई बग्गीमा राखी रथारोहणसमेत गरिएको थियो। ९५ वर्षीय भण्डारी कानुन व्यवसायीका रुपमा सक्रिय छन्।
प्रतिक्रिया दिनुहोस !