बुढासुब्बा गोल्डकप चैत २६ देखि
धरान : २३औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ गतेदेखि बैखाख ३ गते सम्म आयोजना हुने भएको छ। बुधवार आयोजक धरान फुटवल क्लवले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिएको छ। प्रतियोगिता धरान १६ स्थित सुविधा सम्पन्न रंगशालामा आयोजना गरिने भएको छ।
२०५५ सालदेखि नियमित संचालन हुँदै आएको प्रतियोगिता मोफसलकै उत्कृष्ट फुटबल प्रतियोगिता मानिन्छ। गत साल कोरोना माहामारीका कारण स्थगित भएको प्रतियोगिता यसवर्ष कोरोना कम भएकाले संचालन गर्न लागिएको धरान फुटवल क्लवका अध्यक्ष किशोर राईले पत्रार सम्मेलनमा जानकारी गराए। उनले प्रतियोगिता सम्पन्न गर्नका लागि आर्थिक संकलन गर्न थालिएको समेत बताएका छन्।
अध्यक्ष राईका अनुसार प्रतियोगितामा भारतका उत्कृष्ट तीन टिम, ए डिभिजन लिग विजेता, उपविजेतासहित उत्कृष्ट तीन टिम, आयोजक धरान फुटवल क्लव र मोफसलका उत्कृष्ट अन्य दुई टीमलाई सहभागि गराईने छ।
धरान फुटवल क्लवका कोषाध्यक्ष घनश्याम बुढाथोकीले प्रतियोगिता सम्पन्न गर्न जम्मा ६६ लाख नगद खर्च लाग्ने बताए। उनले प्रतियोगिताको विजेतालाई नगद १० लाख र उपविजेतालाई पाँचलाख पुरस्कार उपलब्ध गराईने बताए। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद एकलाख ५० हजार र सर्बाधिक गोलकर्ताले नगद २० हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राईकर र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने कोषाध्यक्ष बुढाथोकीले बताएका छन्।
प्रतियोगितालाई सबैभन्दा बढी आर्थिक सहयोग धरान उपमहानगरपालिका र टुबोर्ग वियरले गर्ने भएको छ। प्रतियोगिता सम्पन्न गर्नका लागि धरान उपमहानगरले १८ लाख र १५ लाख रुपैयाँ सहयोग गर्ने क्लवका सदस्य सतिस केसीले जानकारी दिएका छन्। त्यस्तै प्रदेश १ सरकारले १० लाख र राष्ट्रिय खेलकुद परिषदले ५ लाख रुपैयाँ सहयोग गर्ने पनि उनले बताए।
कोरोना भाईरसको संक्रमण नियन्त्रणमा नआएका कारण धरान १६ स्थित रंगशालामा प्राथामकि उपचार सेवा प्रदान गर्नुका साथै भारतबाट आउने खेलाडीहरुलाई पिसिआर परिक्षण गर्ने र सबै खेलाडीको स्वास्थ्य बिमासमेत गर्ने व्यबस्था गरिएको धरान फुटवल क्लवका सदस्य हिमाल दाहालले बताएका छन्। उनले प्रतियोगिता अवलोकन गर्न आउने दर्शकहरुको सुविधाको लागि सुविधा सम्पन्न प्यारापिटसंग्ैं बाँसको अस्थायी प्यारापिट निर्माण गरि १० हजार दर्शक अटाउने गरी तयारि थालेको बताए।
प्रतिक्रिया दिनुहोस !