१० वर्षमा मुलुकले समृद्धिको गति लिन्छ : शाक्य
स्याङ्जा : सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यले अबका १० वर्षमा मुलुकमा समृद्धिसहित सकारात्मक परिवर्तन हुने बताएका छन्। उनले धेरै युवापंक्ति अहिले मुलुकमै केही गर्नुपर्छ भनेर लागीपरेको बताए।
पुतलीबजार नगरपालिका ११ स्थित करेण्डाडास्थित रोड साइड क्याफेमा मंगलबार आयोजित सकारात्मक सोच अभियन्ताबीच भेटघाट कार्यक्रममा बोल्दै उनले अबको पुस्ता धेरै जानेबुझेका र ब्यवहारिक भएकाले आउँदा दिनमा मुलुकमा विकास र सम्मृद्धीले गति लिने बताए।
‘मुलुक बिगारेको म बाटै हो। राजाले पनि होइन र कुनै नेताले पनि बिगारेका होइनन्। जबसम्म हामी सुनको थाली लिएर माग्न हिड्छौ, तबसम्म हामी परजीवी बनिरहनेछौं।’ उनले भने, ‘सकारात्मक सोच लिएर अघि बढौं समृद्ध मुलुक निर्माण कार्य आफैंबाट सुरु गरौं।’
अब तपाईं हामीले नचाहेर पनि परिवर्तन अवश्य हुन्छ। आशावादी छु। अबको १० वर्षमा मुलुकले कोल्टे फेर्नेछ उनले भने। उनले थपे, ‘हिजो जस्तो आज छैन। नेपाली जनता बुझ्ने भएका छन्। पढेका छन्। विदेश पुगेका छन्। सूचना र प्रबिधिले विश्वलाई एउटै गाउँ बनाएको छ। सबैले देख्नेगरी विकासका काम भएको देख्न चाहन्छन।’
सोही कार्यक्रममा सकारात्मक सोचका अर्का अभियन्ता राजेन्द्रकुमार श्रेष्ठले ५ जनाबाट सुरु गरेको अभियान विश्वका ८० मुलुकमा पुगेको र झण्डै ५ लाखभन्दा बढी सदस्य रहेको बताए।
जिल्ला समन्वय समितिमा प्रमुख सीता सुन्दास, भीरकोट नगरपालिका प्रमुख छायाराम खनाल, सोही वडाका उद्योग ब्यवसायी पृथ्वीप्रसाद अर्याल, पुतलीबजार नगरपालिका ५ का सुरेश रेग्मी लगायतले जुनसुकै कार्यका लागि पनि सकारात्मक सोचबाट सुरुवात गर्नु जरुरी रहेको बताए।
कार्यक्रम सकारात्मक सोच सम्बन्धी रुची राख्ने युवाहरुको उल्लेख्य सहभागीता थियो। कार्यक्रमको संयोजन सकारात्मक सोच स्याङ्जाका अभियन्ता कृष्णजंग केसीले गरेका थिए। सकारात्मक सोच पुस्तकबाट प्रेरित भएर केसीले कर्ण शाक्यलाई आर्दश मान्दै आफनै घरमा उत्पादित कफीबाट क्याफे हाउस संचालन गरेका छन्।
प्रतिक्रिया दिनुहोस !