पल शाहको बयान सकियो, आदेश आउन एक साता लाग्ने
![पल शाहको बयान सकियो, आदेश आउन एक साता लाग्ने](https://annapurnapost.prixacdn.net/media/albums/pal-shaha_20220317134917_CEvuwSaFAc.jpg)
तनहुँ : नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा मुद्दा दर्ता भएपछि नायक पल शाह (पूर्णविक्रम शाह)ले मंगलबार बयान दिएका छन्।
सरकारी वकिल कार्यालयले मंगलबार शाह विरुद्ध १२ देखि १४ बर्षको कैद सजाय माग गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। लगत्तै शाहसँग बयान लिइएको अदालतले जनाएको छ।
दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म शाहको बयान लिइएको नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शिवदत्त ढकालले जानकारी दिए। ढकालकाअनुसार शाहले बयानमा आरोप अस्वीकार गरेका छन्।
मतियारको रुपमा पक्राउ परेका शाहका म्यानेजर कृष्णप्रसाद जोशीसँग बुधबार बयान लिइने छ। ढकालले बयान सकिएपछि थुनछेक बहस सुरु हुने बताए।
'शाहसँगको बयान सकियो। उनका म्यानेजर जोशीँग भोलि बयान लिइनेछ,' उनले भने, 'प्रतिवादीको तर्फबाट ५/६ जना वकिलहरु बहस गर्न आउने कुरा छ। जाहेरवालाले पनि सरकारी वकिलसँगै अरु वकिल पनि राख्न सक्छ। महिला अधिवक्ताहरुले बहस गर्ने चर्चा छ। आदेश आउन एक हप्ता लाग्न सक्छ।'
दुवै पक्षका वकिलहरुको बहस सकिएपछि शाहलाई तारेख, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे अदालतले आदेश दिनेछ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)