कोभिड-१९ खोप अभियान : ९ प्रतिशतले पाएनन् खोप

कोभिड-१९ खोप अभियान : ९ प्रतिशतले पाएनन् खोप

काठमाडौं : सरकारले सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्यलाई कार्यान्वयन गर्न ‘खोज र खोप’ अभियान सुरु गरेको छ। खोपको दायरामा नआएका कुल जनसंख्याको झण्डै ९ प्रतिशतलाई लक्षित गर्दै अभियान सुरु गरिएको हो। 

सरकारले चैत मसान्तसम्म लक्षित (१२ वर्ष उमेर माथिका) सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य लिएको थियो। सचेत व्यक्तिहरूले खोप लगाइसकेकोले  पहुँच नपुगेका व्यक्तिको खोजी गर्दै खोप लगाइदिने अभियान सुरु गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन, ‘सबैको सहकार्यले चैतभित्र सबैलाई खोपको दायरामा ल्याउने  लक्ष्य छ। छुटेको जनसंख्यालाई समयमै खोप लगाउनुपर्ने चुनौती छ।’ चलायमान  र खोपको प्रभावकारिता नबुझेको जनसंख्यालाई खोप अभियानमा सामेल गराउने चुनौती रहेको उनले बताए।

मुलुकमा २०७७ माघ १४ गतेदेखि खोप अभियान सुरु गरिएको हो। हालसम्म कुल लक्षित (जनसंख्याको १२ वर्षदेखि माथिका) ६८ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्। सोही उमेर समूहका ९१ प्रतिशतले एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। १८ वर्षमाथिका ९२ दशमलव ९ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाएका छन्। पूर्ण मात्रा खोप लगाउनको संख्या ८१ दशमलव ३ प्रतिशत छ। 

डा. अधिकारी भन्छन, ‘एक मात्रा पनि खोप नलगाएको दश प्रतिशतभन्दा कम छन्। छुटेको त्यो जनसंख्यालाई खोज  र खोप भन्ने अभियानका साथ स्थानीय तहलाई परिचालन गर्दैछौं।’ सरकारले कोभिसिल्ड, भेरोसेल, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन एन्ड जोन्सन खोप प्रदान गर्दै आएको छ। समुदायमा सबैले खोप लगाएजस्तो देखिए पनि कतिपय छुटिरहेको मन्त्रालयले जनाएको छ। दोस्रो मात्रा खोप लगाउन झण्डै १० प्रतिशत जनसंख्या बाँकी  छन्। 

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलका अनुसार  खोपबाट वञ्चितलाई खोपको दायरामा ल्याउन स्थानीय तह सक्रिय हुनुपर्ने बताए। ‘सबै स्वास्थ्य संस्थामा खोपको उपलब्धता हुनुपर्छ। छुटेको जनसंख्या पत्ता लगाई खोपको पहुँचमा ल्याउन स्थानीय सरकार सक्रिय हुनुपर्ने जरुरी छ,’ पूर्वप्रमुख विशेषज्ञ डा. प्याकुरेलले भने, ‘स्थानीय तहको चुनाव नजिकिँदो छ। घरदैलोमा खटिएका राजनीतिकर्मीले खोपबाट वञ्चित समुदायलाई खोप अभियानमा  सहभागी गराउँदा खोप अभियान सतप्रतिशत पुर्‍याउन सकिन्छ।’

हालसम्म कोरोनाविरुद्ध ४ करोड ७८ लाख ८२ हजार ८ सय कुल खोप मात्रा प्राप्त भएको स्वास्थ्य सेवा विभाग, खोप शाखाले जनाएको छ। खोप अभियान सुरु भएयता ३ करोड ९३ लाख १७ हजार २ सय ७५ मात्रा खोप लगाइसकिएको छ।  जसमध्ये १ करोड ८६ लाख ९८ हजार १ सय १३ ले एक मात्रा लगाइएको छ। पूर्ण मात्रा खोप  १ करोड ८७ लाख १९ हजार १ सय २२ लगाइएको छ। त्यस्तै, अतिरिक्त मात्रा १८ लाख ३८ हजार १ सय ८३ लगाइएको खोप शाखाका प्रमुख सागर दाहालले बताए। केन्द्रीय तथ्यांक विभागका अनुसार मुलुकको कुल जनसंख्या २ करोड ९१ लख ९२ हजार ४ सय ८० छ।  कुल जनसंख्याको ७५ प्रतिशतले कम्तीमा एक मात्रा लगाएका छन्। पूर्ण मात्रा लगाउनेको संख्या झण्डै ६४ दशमलव २ प्रतिशत पुगेको छ। 

५ देखि ११ वर्ष उमेरकालाई पनि खोप 

५ देखि ११ वर्ष उमेर समूहका झण्डै ३५ लाख बालबालिका छन्। यो उमेर समूहका लागि कोरोनाविरुद्धको खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । उनले भने, ‘खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । फाइजर खोप ल्याउन लागिएको हो। तर, खोप आइपुग्ने मितिको टुंगो लागिसकेको छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.