राहदानी लिन सकस (फोटो फिचर)
काठमाडौं: त्रिपुरेश्वर चोक नजिकै राहदानी विभाग ठूलो भवन छ। विभागको बाहिरदेखि भित्रसम्म त्यसभन्दा ठूलो भीड छ, खचाखच। उनीहरु सबै पास्पोर्ट (राहदानी) बनाउन देशका विभिन्न जिल्लाबाट आएका छन्। गर्मी बढ्दो छ। ठेलमठेल भीड थामिनसक्नु छ। २ बजे रातिदेखिको लाइन लागेर उनीहरु त्यसै थाकित छन्। लाइन मिचिने डरले उनीहरु भोको पेट भोकै छ। लाइनमा उभिएर थकित भएकाहरु लाइनमै उँग्दै छन्। कति त निद्राले लठिएर भुँइमा सुतेका छन्। राहदानी विभागको सर्भर बारम्बर डाउन हुँदा सेवाग्राही मारमा छन्। अहिले विभागले विद्युतीय राहदानी वितरण गरिहेको छ। यहाँ ५ हजार सेवाग्राही दैनिक आउँछन्। भीड थेग्न नसकेर विभागले १३ साँझसम्म अग्रिम बुकिङ सूचना निकालेर बन्द गरिएको छ।

रातिदेखि लाइन
अनलाइन फारम भर्दा अग्रिम समय दिन्छ। त्यही समयमा बाग्लुङका २७ वर्षीय समिपराज आचार्य राहादानीको प्रक्रिया पूरा गर्न विभाग पुगेका थिए। उनी बिहीबार राती ३ बजे आएर कार्यालयमा लाइन लगेका थिए।
बिहान १०:५६ बजे भीडमा भेटिएका उनी निराश देखिन्थे। उनी निकै थकित पनि। उनको अनुहारको चमक हराएको थियो। ‘ढेड महिना पहिले नै समय लिएर आएँ । रातीदेखिनै लाइन लागेर गले। अहिले त सर्भर चलेको छैन भन्छ। के गर्ने ?,’ उनले भने, ‘ सेवाप्रवाह सेवाग्राहीमैत्री भएन। सेवा दिनु ठुलो कुरो होइन्।त्यसलाई व्यवस्थित गर्नु ठूलो कुरो हो। जतिलाई सेवा दिन सकिन्छ त्यतिलाई मात्रै कार्यालयले समय दिनु पर्छ। यतिधेरै मान्छेलाई समय दिनुभएन। भित्रबाट दुई दिन अघिकैका काम हुन सकेको छैन भन्छ।’

विदेश जानुको विकल्प छैन
राहदानी विभागमा विदेश जान राहदानी लिनेहरु भीड छ। केही पढ्न त धेरै कमाउन जाने तयारीमा छन्। कञ्चनपुरका गोविन्द जोशी कोरिया पढ्न जाने तयारीमा छन्। उनी भन्छन्, ‘पढ्न जाने मौका मिल्छ भन्ने आश छ नभए पेट पाल्न विदेश जानुको विकल्प छैन।’
के गर्ने ? यहाँ रोजगारी पाइँदैन। सरकारले देशमा पढाईसंगै कमाउने अवसर दिन सकेको छैन। बाहिर जानलाई पनि कहाँ सजिलो छ र ? भन्दै दुःख पोखे, ‘रातभरी बसेर पनि पास्पोर्ट बन्दैन। यो भन्दा दुःख्द कुरो के भन्नु?’

अग्रिम समय लिएर आउँदा पनि सास्ती उनी जस्ता हजारौंलाई सास्ती छ। राती साढे ३ बजेदेखि सडकमा लाइन लागे। साढे ८ बजे विभागको गेट भित्र पस्न दियो। ‘सर्भरले काम नगर्दा लास्टै दुःख भैइरहेको छ, सहनै नसक्ने। लाइन लाग्ने तरिका नै ठीक छैन। पछि आएकाहरु बीचमा पस्छन्। आफ्नो मान्छे छ भने हालि हाल्छ। यस्तै छ ग्राहो छ। प्रहरीले पनि नमिठो वचन लगाउँछन्।’

भोकभन्दा काम प्यारो
लाइनको झन्झटको विकल्पमा अनलाई सेवाबाट सेवा दिन थालियो। तर, कहिले काँही प्राविधिक समस्या आउँदा मारामार भीड हुन्छ। विभागले थेग्नै सक्दैन।
सिन्धुलीका राजु दाहाल बुधबार साँझ काठमाडौं आए। बिहान ११ बजे भेटिएका उनी खाना खाएका थिएन। भोकै किन पनि नहोस् , टाढाबाट आउने सेवाग्राहीलाई भोक भन्दा काम नै प्यारो हुन्छ। कामका पछाडी हजारौं खर्च भएका हुन्छ।

‘ठूलै लाइन लागेको छ। भीडभाड धेरै छ, कर्मचारी थोरै छन्। फेरि त्यहीमाथि कर्मचारीहरु भन्दै छन् सर्भर डाउन छ। त्यही भएर काम हुन सकेको छैन। यसमा सरकारले ध्यान दिउस् ’, उनी भन्छन्।
राजु रोजगारीको खोजीमा मलेसिया जाने तयारीमा छ। ‘अहिले पास्पोर्ट रिन्यू गर्न आएको हुँ’,उनी सुनाउँछन्।

‘भेडाबाख्राको अवस्था बनायो’
सेवाग्राही दान बहादुर खड्का राहदानी नवीकरण गराउन कुदेको तीन दिन भयो। तर, उनको काम बनेको छैन। उनले कामका लागि धेरै दौडधुप गरिसकेका छन्।
‘तीन भयो पास्पोर्ट रिन्यू गर्न आएको। दिनै आउँदा, जाँदा र लाइन लाग्दा हैरान भएको छु। यताबाट उता घचेट्छ, उताबाट पर ’, उनी दुःख सुनाउँछन्, ‘कर तिरेर पासपोर्ट रिन्यू गर्छु भन्दा पनि सेवा लिन दुःख छ। राज्यको कुनै पनि दायित्व छैन। कर जसरी पनि लिन खोज्दै छ।तर, सेवालिन भेडाबाख्राको अवस्था बनाएर राखेको छ। ’

पीडाले उनको मन पोलेको छ। उनी आक्रोशित गरे भन्छन्, ‘राज्यलाई त हामी दोहन गर्न आएका त होइन नी। रातीदेखिनै लाइन बस्दा पनि काम भएको छैन। जनताको दुःख बारे सरकारले कुनै सुनवाई गर्दैन।’
उनको बच्चाबच्ची विदेशमा छन्। दानबहादुरको पास्पार्टको रिन्यू फेल भएको ६ महिना भयो। ‘पास्पोर्ट रिन्यू गरेर सन्तान भेट्न जाने मन छ। यहाँ आउँदा त काम हुन्छ कि हुँदैन।अवस्था बिजोगै छ’, उनी भन्छन्।

आम्म! कति ठूलो लाइन
राहदानी विभागमा सर्भर डाउन हुँदा सेवाग्राही मात्रै होइन् कर्मचारी पनि हैरान छ। भीडले कसैले बोलाएको कसैले सुन्दैन। सप्तरीबाट आएका देवकृष्ण यादव ११ः३० मा अलमलमा परेका थिए।
‘पास्पोर्टको फारम कहाँ रुजु गराउने , राजस्व कहाँ तिर्ने ?’ भीडमा भएकाहरुलाई सोध्दै थिए। तर, उनलाई सहि जवाफ पाउन सकिरहेका थिएन।

आम्म ! कति ठूलो लाइन। लाइन हेरेरै नवलपरासीका शितल अर्याल तर्सिए। उनी भाईको राहदानी बनाउन आएको थिएँ। कसरी बनाउने प्रसेस बुझन् खोज्दै थिए। तर, भीडले उनी पनिअलमलमा परेका थिए।
‘कहाँबाट राहदानी लिने प्रक्रिया सुरु हुन्छ ? यहाँ त लाइन मात्रै देखिन्छ’,उनले भने।

गर्मीले आकुलव्याकुल
लाईन लागेर थकित भएकाहरु भुँइमा सुतेका थिए। यस्तै अवस्थामा भेटिएधनुषाको सन्तलाल लामा। उनी छोरा दिपनको पास्पोर्ट लिन बिहीबार बिहानी गाउामा काठमाडौं झरेका थिए। सुरुमा त उनी कार्यालय आउनै बाटो नदेखेकाले समस्यामा परे। बल्ल कार्यालय परिसरमा आए सात बजे लाइन बस्दा घाम र गर्मीले आकुल व्याकुल भए। ‘खाना पनि खाएको छैन। रातभरी बस चढेर आएँ। थकाई पनि त्यतिकै लागेको छ। लाइनमा उभिनै नसकेर भुँमै सुतेको हुँ’, उनले पीडा सुनाए, ‘यसो कुनै ठुलो देश तिर जाँदै छोरो कामाउन जाँदछ। मान्छे हेर्नुस् न कति भीड छ। कोही यता कुदेछ , कोही थाकेर भुँइमै सुतेको छ। सेवा दिन सकिदैन भने समय किन दिएको अफिसले हामीलाई बोलायो। समय दिएर यसरी दुःख दिन त भएन न नि।’

सिटी फुक्दै प्रहरी हैरान
भद्रगोल लाइन मिलाउन नसकेर प्रहरी हैरान भएका थिए, सिटी फुक्दा, फुक्दै। १ बजे भेटिएका सेवाग्राही बाबुकाजी श्रेष्ठ लाईन नमिचियोस् भनेर आफै खटिएका थिए। सेवा नपाएर उनी निकै आक्रोसित थिए।
बिहानै देखि भोकै, प्यासै लाइनमा बस्दा कस्तो समस्या हुन्छ , त्यो हामी जस्ता भोको मान्छेलाई मात्रै थाहा हुन्छ भन्दै हेटौंडाका इन्द्रमणी न्यौपानले अन्नपूर्णकर्मीलाई प्रश्न गरे।

‘ तीन महिना अगाडि फारम भरेको थिए। बिहीबार १० बजे कार्यालयमा आएर सबै प्रक्रिया पुरा गर्न समय दिएको थियो। बिहान ८ बजेदेखि लाइनमा बसे। १० बजेपछि इन्टरनेटै हरायो। कार्यालय समयमा यत्रो मान्छे लाइनमा बसिरहेको छ। सरकारले यसमाथि ध्यान किन नदिएको ?’, उनी भन्छन्, ‘अनलाईको सिस्टम बनाएर भीड हुँदैन भन्यो तर, खै भीड त हटेन। जनताले दुःख मात्रै पाए। अनलाईनले झन लाइन बढायो। हामी सिस्टमा आयो तर, यहाँ सिस्टमनै नचले भद्रगोल भयो। काम नभएर धेरै मान्छे अलपत्र छन्।’

प्रहरीले नमिठो वचन लगाए
प्रहरीको व्यवहार देखेर आक्रोशित भए काठमाडौंका हिमांसु रावल।६ दिनदेखि उनी राहदानी लिनद कार्यालय धाइरहेका छन्। ‘बारम्बार सर्भर डाउन हुन्छ। अनलाई डेट दिदाँ आउँछौं। प्रहरीले खेदाउँछ। के भन्नु त ? लाइनले हाम्रो समय खेर गइरहेको छ ’, उनी भन्छन्।
५६वर्षीय राधा देवी पनि छोरीको पास्पोट बनाउन आएकी रहेछन्। १ बजे भेटिउकी उनी भक्तपुरको चाँगुनारायणघर भएकी हुन्।

‘म त एक पटक अष्ट्रेलिया गएर आएँ। पहिला यसरी पास्पोर्ट बनाउन जिल्लामा दुःख थिएन। भक्तपुर जिल्लामा सजिलैसंग बनाइदियो’, भुँइमा बसेकी उनले थपिान्,‘ भीड कति हो , कति। कोही कता हो, कता कोही भोकै छन्, कोही अनिद्रो छ। कतिको त काम भएको छैन।’
‘काँ, काँबाट मन्छेहरु आएका छन्। दुई दिन नभएकन पालो पाइदैन भन्छ। रातीदेखिनै पालो बस्यो। दिउँसो भएपछि कम्पुटरले काम गर्दैन भनिदिन्छ अनि आमजनतालाई भएन त हैरानी’, राधाले भनिन् , ‘बिहानैदेखि मान्छेहरु भोक भोकै आएर लाइन बसिरहेका छन्। के गरेको सरकारले ? सरकारले समय दिएर टोक्न बाँडिदिनु पर्छ।’

राहदानी पाउँदा दंग
राहदानी विभागको गेटमा भेटिएका ताप्लेजुङका पूर्ण थेबे खुसी देखिन्थें।तीन दिनको लगातार लाइन लाग्दा बल्ल उनले राहदानी पाएका थिए।
‘भत्रदेखि बाहिरसम्म धेरै मान्छे छ , दुःखको त कुरै छोड्नुस्, हातमा पास्पोर्ट आएपछि त्यो दुःख सम्झिन मन लागेको छैन’,उनी भनछन्, ‘रुजु गर्न लाइन लाग्नु पर्छ। राजश्व बुझउन पनि लाइन नलागि कामबन्दैन। फोटो खिचाउनु र राहदानी लिन पनि उस्तै लाइन। एक दिनमा काम भएन भने अर्को दिन फेरी आएर लाइन लाग्नु पर्छ। जो अगाडी आउँछ उसकै पछाडी अरु लाइन लाग्छ।’

‘भीड घटाउन जिल्लाबाट राहदानी वितरण गर्ने संख्या बढाउनुपर्छ’
- डोरनाथ अर्याल
महानिर्देशक, राहदानी विभाग
विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु राहदानी लिन आएका छन्।सन् २०१३ देखि २०१६ सम्म अत्याधिक संख्यामा यन्त्रवाचक(एमआरपी) राहदानी जारी भएको थियो। त्यसको नविकरण गर्ने समय आएको छ। हालै कोरिया, जपान लगायत मुलुकहरुमा रोजगारी खुलेका कारणले निकै भीड बढेको छ। सर्भर डाउन भएर पनि समस्या थपिएको छ।

विभागमा कर्मचारी अभाव छ। स्थायी कर्मचारीहरुको दरबन्दी खाली छ। लोकसेवाबाट पदपूर्ती हुन सकेको छैन। हाम्रो कार्यालयमा १ सय बढी कर्मचारीको दबन्दी छ। तर, अहिले ८० जना मात्रै छन्।उता जिल्ला प्रशासन कार्यालयहरुमा पनि दरबन्दी अनुसारको कर्मचारी छैन। दिन्हुँ राहदानी दिन पाँच हजार बढी सेवाग्रही आउँछन्। हाम्रो क्षमता भनेको एक हजारदेखि १२ सयसम्मलाई सेवा दिने हो। तर, हामी २ हजार ७ सम्मलाई राहदानी दिन बुकिङ खुल्ला गरेका छौं। सबै जिल्लामा सेवा नपुगेका कारणले हामी रातदिन खटेर सेवा दिइरहेका छौं।

पुरै सर्भर डाउन भएको छैन। सर्भरलाई अपग्रेड गर्दा समस्या आएको हो। थोरै संख्यामा राहदानी जारी गर्दा समस्या देखिएको थिएन। अहिले फुलफेजमा सर्भरलाई प्रयोगमा ल्याउँदा केही समस्या आएको हो। जिल्ला र विदेशस्थित नियोगबाट सेवा दिदाँ केही समस्या आउनु स्वभाविक हो। मलेसियाबाट टेक्निकल टिम आएर सर्भरमा देखिएको समस्या समाधान गर्न खटिरहेका छन्। छिटै समस्या समाधान हुन्छ। पूर्णरुपमा सर्भर बन्द भएको छैन। बेलाबेला समस्या आउनु त स्वभाविक हुन्छ, प्राविधिक कुरो हो।

राहदानी उत्पादनमा कुनै समस्या छैन। अस्ति एकदिन ६ हजार २६० राहदानी एक दिन उत्पादन गरेका थियौं।
विभागले पहिला ७ सय देखि ९ सय सम्म यन्त्रवाचक राहदानी जारी गर्थियौं। अहिले दैनिक बुकिङमात्रै २४ सय खुलाएका छौं। हामीले क्षमता भन्दा बढी राहदानी वितरण गरिरहेका छौं। बिहान ८ बजेदेखि साँझ ९ बजेसम्म सेवा दिइहरेका छौं। विभागको जनशक्ति र यन्त्रको अधिकत्म प्रयोग गरेर उच्च सेवा दिइरहेका छौं।

भीडभाड घढाउन जिल्ला प्रशासन कार्यालयमा राहदानी जारी गर्ने स्ंख्या बढाउनु पर्छ। अनि मात्रै विभागमा देखिएको भीडको व्यवस्थापन हुन्छ। भरखरै काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेका जिल्ला प्रशासन कार्यालयसंग बैठक बसेको छु। राहदानी उत्पादन र वितरणका लागि पहिले जस्तो धेरै समय लाग्दैन। यन्त्रवाचक राहदानीको समयमा एक महिनादेखि करिब २ महिनासम्म समय लाग्थ्यो। अहिले एकदेखि दुई हप्तासम्ममा जिल्लास्तरमा राहदानी वितरण गर्ने गरेका छौं। त्यसमा पनि उपत्यकामा हप्तामा दुई पटक विभागले राहदानी वितरण गर्न पठाइरहेको छ।

चैत्र ९ गतेसम्म केही हिमाली तथा पहाडी भेगमा जिल्ला बाहेक ६४ जिल्लामा विद्युतीय राहदानी वितरण भइरहेको छ। जनसंख्याको हिसाबले हामी ९० प्रतिशत जनसंख्यामा सेवाको पहुँच पु¥याइसकेका छौं। हाम्रो विदेशस्थित ३९ वटा नियोग मध्य १५ वटा नियोगबाट राहदानी वितरण भइरहेको छ। मंसिर १ गतेदेखि चैत्र ९ गतेसम्म कूल १ लाख ३५ हजार ४०१ वटा विद्युतीय राहदानी जारी भएको छ। हामी सोचेको भन्दा यो ठूलो संख्या हो।
पहिले मासिक ३५ देखि ४० हजारको संख्यामा राहदानी जारी हुन्थ्यो। अहिले त्यसको दोब्बर भएको छ। एकै महिनामा ७८ हजारसम्म राहदानी जारी गरेका छौं।




प्रतिक्रिया दिनुहोस !