मछिन्द्रलाई हराउँदै हेटौंडाको पिप्ले क्लबले जित्यो राजर्षि जनक कपको उपाधि

मलंगवा: सर्लाहीको बागमतीमा जारी छैठौं राजर्षि जनक कप फुटवलको उपाधि साबिक विजेता पिप्ले फुटबल क्लब हेटौंडाले जितेको छ। स्व. सन्तोष श्रेष्ठ समृति खेल मैदानमा आइतबार भएको फाइनल खेलमा लिग विजेता मछिन्द्र फुटबल क्लब काठमाडौंलाई पराजित गर्दै पिप्लेले उपाधि चुमेको हो। निर्धारित समयसम्म कुनै टिमले गोल नगरेपछि खेल ट्राइबेकरमा पुगेको थियो।
ट्रइबेकरमा पनि दुबै टिमले बराबर ३-३ गोल गरेका थिए। ट्राइबेकरमा मछिन्द्रका लागि राष्ट्रिय स्टाइकर विमल घर्ती मगर र देवेन्द्र तमाङ्गको बल पिप्लेका गोल किपर अशोक बरालले उत्कृष्ट बचाउ गरेका थिए। त्यसैगरी पिप्लेका कुलदीप कार्कीले प्रहार गरेको बल पोष्ट बाहिर गएको थियो भने विदेशी खेलाडी मार्टिनले प्रहार गरेको बल मछिन्द्रको गोल किपर विशाल श्रेष्ठले बचाउ गरेपछि ट्रइबेकर पनि बराबरीमा पुगेका थिए। सडेन डेथमा मछिन्द्रका छिरिङ गुरुङले प्रहार गरेको बल क्रसबारमा ठोक्किएपछि पिप्ले दोस्रो पटक उपाधि चुम्न सफल भएका छन्।
जीतसँगै पिप्लेले जनककपको साथै नगद रु १० लाखसमेत हात पारेको छ। उपविजेता बनेका मछिन्द्रले नगद रु ५ लाख पायो।
प्रतियोगिताको उदीयमान खेलाडी बागमतीका विमल घिसिङ भए। घिसिङले २ सय सीसीका मोटरसाइकल पाए। त्यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी पिप्लेका रुपक लामा भएका छन्। लामाले ५१ हजार प्राप्त गरे। बेस्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ भए। बेस्ट प्रशिक्षक पिप्लेका सुविन घिमिरे भए भने बेस्ट स्टाइकर मछिन्द्रका विमल घर्ती मगर भए। बेस्ट मिडफिल्डर मछिन्द्रकै सुजल श्रेष्ठ भए भने बेस्ट डिफेन्डर बागमतीका अमर श्रेष्ठ भए। हरेक विधाका उत्कृष्ट खेलाडीले जनही २५-२५ हजार पाए।
प्रतिक्रिया दिनुहोस !
