नेपाल-भारत सम्बन्ध अरुसँग तुलना गर्न मिल्दैन : भारतीय प्रधानमन्त्री मोदी
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत पुरानो मित्र भएको बताएका छन्। शनिबार हैदरावाद हाउसमा द्वीपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई देशका जनता नै सम्बन्धको उर्जा भएको बताएका हुन्।
उनले भारत नेपालको विकासका लागी जुनसुकै सहयोग गर्न तयार रहेको बताए। उनले भने, 'नेपाल र भारत पुरानो मित्र हो। प्रधानमन्त्रीको रुपमा देउवाको यो पाँचौ भारत भ्रमण हो। नेपाल र भारतको सम्बन्ध अरुसँग तुलना गर्न मिल्दैन।'
'आज प्रधानमन्त्री देउवाजी र मबीच द्वीपक्षीय छलफल भएको छ। विभिन्न विषयमा छलफल भयो। हामी सकरात्मक छौ' मोदीले भने । मोदीले उर्जा क्षेत्रमा एक अर्कालाई फाइदा हुने गरी परियोजना अगाडि बढाउन तयार रहेकोसमेत बताए। उनले भने, 'पञ्चेश्वर आयोजना अगाडि बढाउन हामी तयार छौं । यो गेम चेञ्जर आयोजना हो। नेपालको हाइड्रो पावरको विकासका लागि भारतीय कम्पनीहरु सहयोग गर्न तयार छन्।'
उनले जयनगर रेल सञ्चालन भएकाले दुई देशका जनतालाई रेल सेवाले ठूलो योगदान गर्ने दाबी गरे। उनले रामायण सर्किट, पुलिस एकेडेमी जस्ता परियोजना बनाउन सदैव भारत सरकार तयार रहेको बताए। प्रधानमन्त्री मोदीले नेपाल-भारत खुला सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न दुई मुलकका सुरक्षाकर्मीहरु एक हुनुपर्ने धारणा राखे।
प्रतिक्रिया दिनुहोस !