किन बढ्यो गाडी भाडा ?

किन बढ्यो गाडी भाडा ?

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सार्वजनिक सवारीको भाडादर १० देखि १५ प्रतिशतसम्म बढेको छ। यातायात व्यवस्था विभागले आइतबारदेखि लागू हुनेगरी लामो दूरीका सार्वजनिक सवारीकोे नयाँ भाडादर सूची सार्वजनिक गरेको हो। अहिले बढेको भाडादर काठमाडौं उपत्यकाको भने होइन।  

सरकारले तीनवटा क्षेत्र छुट्ट्याएर भाडा समायोजन गरेको छ। लामो दूरीका बस, लामो दूरीका पहाडमा चल्ने ट्रक र लामो दूरी तराईमा चल्ने मालवाहक ट्रकको छुट्टाछुट्टै भाडादर तय गरेको छ। विभागका अनुसार सार्वजनिक यात्रुवाहक सवारी साधनको भाडादर १० प्रतिशतले वृद्धि भएको छ। यससँगै पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनको भाडादर १३ प्रतिशतले बढेको छ भने तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर १५ प्रतिशतले वृद्धि भएको छ।

मन्त्रिस्तरीय निर्णयले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भाडा बढाउन सैद्धान्तिक सहमति प्राप्त भएपछि विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको बताएको छ। विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार सबै क्षेत्रको हिसाब गरेर रुटगत भाडा सूची प्रकाशन गरिएसँगै लागू भएको छ। 

  • लामो दूरीको भाडादर १० देखि १५ प्रतिशतसम्म वृद्धि।
  • लामो दूरीका बस, पहाडमा चल्ने ट्रक र तराईमा चल्ने मालवाहक ट्रकको छुट्टाछुट्टै भाडादर तय।

विभागले छोटो, मध्यम र लामो दूरीका अन्तरप्रदेश रुटहरूमा कायम भएको सार्वजनिक यातायातको भाडादर साबिकको भन्दा १० प्रतिशतले बढेको छ। तर, विभागअन्तर्गतको सवारी परीक्षण कार्यालयबाट स्तरीय डिलक्स सवारीको रूपमा स्तर कायम भई सवारी दर्ता प्रमाणपत्र स्तर प्रमाणित भएका यात्रुवाहक सवारीको हकमा भने बढाइएको भाडामा थप २० प्रतिशत फेरि थप्न सकिने व्यवस्था गरेको छ। 

विभागको सूचीमा रहेको मुलुकभरका २ सय ८० ओटा रुटको भाडादर समायोजन भएको छ। जस्तैः २ सय ५१ किलोमिटर रहेको कलैया–तानसेन–पाल्पाको भाडा ६ सय ८३ रुपैयाँ कायम भएको छ। यसअघि ६ सय २१ रुपैयाँ थियो। यस्तै अब काँकडभिट्टा–कुनौली हुँदै राजविराजको भाडा ४ सय ६२ पुगेको छ। यसअघि ४ सय २० रुपैयाँ थियो। काठमाडौं–अत्तरिया–मार्तडी(बाजुरा) (दूरी ९४४.६ किमि)को भाडादर बढेर २ हजार ८ सय ४० रुपैयाँ पुगेको छ। यसअघि २ हजार ५ सय ८२ रुपैयाँ थियो। 

यसैगरी अन्य रुटहरूको सम्बन्धमा तराईको लामो दूरी (२५० किमिभन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनीबसको लागि यसअघि प्रतिकिमि २.४३ रुपैयाँ कायम थियो। अब प्रतिव्यक्ति प्रतिकिलोमिटर २.६७ रुपैयाँले भाडादर कायम भएको छ। यस्तै २५ किलोमिटरदेखि २५० किमिसम्मको दूरीको पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनीबसका लागि प्रतिव्यक्ति प्रतिकिलोमिटर २.७४ रुपैयाँले भाडादर कायम भएको छ। यसैगरी काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डको लागि प्रति किमी २.९४ रुपैयाँ भाडादर कायम भएको छ। 

मालवाहक सवारीका सम्बन्धमा तराईमा र पहाडी क्षेत्रमा  नयाँ भाडादर कायम भएसँगै अब प्रतिकिलोमिटर प्रतिटन ७.०७ रुपैयाँ र १३.४९ रुपैयाँले हुन आउने रकमलाई १० टनले हिसाब गरी तोकिएका रुटहरूमा भाडा कायम गर्न विभागले निर्देशन दिएको छ। यस्ता सार्वजनिक मालवाहक ट्रकको लागि मुलुकभरका विभिन्न ४७ ओटा रुटमा वृद्धि भएको भाडादर विभागले सूचीमा उल्लेख गरेको छ। 

सरकारले भाडा बढाएपछि प्रदेश सरकारले पनि मध्यम र छोटो दूरीका सवारीको भाडादर तय गर्न पाउनेछन्। काठमाडौं उपत्यकाको बस, माइक्रोलगायतको भाडा बागमती प्रदेश सरकारले तय गर्नेछ। 
विभागले अभ्यास गर्दै आएको सार्वजनिक सेवा सञ्चालनका १३ वटा सूचकको बजार मूल्यमा आधार मान्ने गरेको छ। यसमा पनि वैज्ञानिक भाडादर समायोजन प्रणालीअन्तर्गत पाँच सूचकको बजार मूल्यमा आएको परिवर्तनको आधारमा गत असार २७ गते भाडा समायोजन भएको थियो। यसपछि प्रतिलिटर १ सय ४ रुपैयाँ रहेको डिजेलको तत्कालीन  बजार मूल्य ३२.६९ प्रतिशतले वृद्धि भई चैत २ गते १ सय ३८ रुपैयाँ हुन पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा भाउ बढेसँगै नेपाल आयल निगमले प्रतिलिटर पेट्रोल १५५ रुपैयाँ र डिजेल १३८ रुपैयाँमा बिक्री गरिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.