चुनावी तालमेलमा नेता नै असन्तुष्ट
गोरखा : स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा गोरखाका नेता कार्यकर्ता असन्तुष्ट देखिएका छन्। चुनावी तालमेलले स्वस्थ प्रतिस्पर्धा नहुने र निषेधको राजनीतिक हुने भन्दै नेता कार्यकर्ताले
असन्तुष्टि जनाएका हुन्।
गोरखामा गठबन्धनका चारवटा पार्टी मात्र छन्। यीमध्ये पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने गरेको छ। तर, मुख्य प्रतिस्पर्धी पार्टीहरूबीच गठबन्धन भएपछि अरू पार्टीहरूमा प्रतिस्पर्धा गर्नुको औचित्य नै नभएको उनीहरूको टिप्पणी छ। गोरखाका ११ स्थानीय तहमध्ये २०७४ को निर्वाचनमा ९ पालिका कांग्रेस र दुई पालिका माओवादी केन्द्रले जितेको थियो।
माओवादीको सशस्त्र द्वन्द्वका बेला दुवै पक्षबीच ठूलो जनधनको क्षति भएकाले दुवै पक्ष एक अर्कालाई मतदान गर्न तयार देखिँदैनन्। ‘हँसिया हथौडामा भोट हाल्नुपर्छ भने भोट हाल्नै जान्न’ भन्ने कांग्रेस कार्यकर्ताको आक्रोश छ भने, ‘रूख चिह्नमा कुनै हालतमा भोट हाल्दिन्न’ भन्ने माओवादी कार्यकर्ताको आक्रोश पनि सुनिएको छ।
गोरखामा कांग्रेस र माओवादीबीचको तालमेल अस्वाभाविक रहेको कांग्रेसका जिल्ला सचिव किशोरजंग थापा तर्क गर्छन्। ‘अरू जिल्ला र गोरखा जिल्लाको अवस्था अली फरक छ। अरू जिल्लामा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन्। तर, गोरखामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी छन्’, थापा भन्छन्, ‘पहिलो र दोस्रो शक्तिबीच नै तालमेल गरेपछि न्यून संख्यामा रहेका अरू पार्टीलाई निषेध गरे जस्तो हुन्छ। त्यसैले गोरखामा तालमेल अस्वाभाविक छ।’ तालमेलले तत्कालका लागि वातावरण आफ्नो पक्षमा बने पनि प्रकारान्तरमा परिणाम प्रतिकूल हुने उनले दाबी गरे।
तालमेल राम्रो कुरा नभएको नेकपा माओवादी केन्द्रको नेता पनि स्वीकार गर्छन्। तर, प्रतिगमनविरुद्ध तालमेल गर्न बाध्य हुनु परेको नेता परशुराम रम्तेल बताउँछन्। ‘तालमेल राम्रो कुरा त हुँदै होइन तर पनि यो अलिअलि रहर, अलिअलि बाध्यता, अलिअलि स्वाभाविक, अलिअलि अस्वाभाविक हो’, केन्द्रीय सदस्य रम्तेल भन्छन्, ‘यो रणनीतिक कुरा होइन, कूटनीतिक कुरा हो। जनआन्दोलन, जनयुद्धबाट प्राप्त संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गर्नुपरेको बाध्यात्मक कदम हो।’ आफूले जित्ने ठाउँमा तालमेल गर्नुपर्दा सबैलाई दुःख लाग्ने, आफूले हार्ने ठाउँमा तालमेल गर्न पाउँदा सबैजना खुसी हुने उनले बताए।
गठबन्धनको अर्को शक्ति जनता समाजवादी पार्टी पनि तालमेलमा खुसी देखिँदैन। तालमेलले कमजोर शक्तिमाथि सिन्डिकेट लाग्ने जसपाका केन्द्रीय सदस्य गोपालबाबु श्रेष्ठ बताउँछन्। ‘चुनावी तालमेल धेरै दृष्टिकोणले बेठीक छ। अहिले तालमेल देशका लागि आवश्यक होइन, कुनै अमुक पार्टीका अमुक उम्मेदवारलाई जिताउन मात्र खोजिएको छ’, उनी भन्छन्, ‘तालमेल कसका लागि ? देशका लागि कि, जनताका लागि कि, अमुक पार्टीका अमुक उम्मेदवारका लागि कि कसका लागि ? तालमेल गरेर जितेपछिको राष्ट्रिय एजेन्डा के छ ? राष्ट्रिय एजेन्डा हो भने एजेन्डाबाहिर को छ ? कसलाई हराउनुपर्ने छ ? यी सबै कुरा प्रष्ट पार्नुपर्छ।’ प्रतिस्पर्धाबाट डराएर गर्न लागिएको चुनावी तालमेलविरुद्ध ठूलो जनमत रहेको उनले बताए।
कुन वडामा, कुन पालिकामा कुन पार्टी कति छन् भनेर पहिचान गर्न पनि बिनातालमेल चुनाव लड्नु पर्ने पार्टीका नेता, कार्यकर्ताको माग छ। नीति, सिद्धान्त, ‘आइडोलोजी’ नमिल्ने पार्टीहरूबीच हुन लागेको तालमेल स्वार्थबाट अभिप्रेरित भएकाले यसको परिणाम पनि राम्रो नहुने उनीहरूको भनाइ छ। २०७४ सालको चुनावमा गोरखामा कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल भएको थियो।
प्रतिक्रिया दिनुहोस !