नेपाली कांग्रेसले समाजवाद छाडेको छैन : डा पोखरेल
स्याङ्जा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा गोबिन्दराज पोखरेलले नेपाली कांग्रेसले वीपीको समाजवादको सिद्धान्तलाई नै अवलम्बन गर्दै आएको बताए।
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिद्धारा मंगलबार सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै डा पोखरेलले भने, ‘त्यतिबेला वीपीले भनेका समाजवादको पद चिन्हहरु समयानुकुलन परिवर्तन भएका हुन भन्दै वीपीको समाजवादलाई कांग्रेसले छाडेका भन्न मिल्दैन।’
उनले भने, ‘हिजो वीपीले हलो जोतेको मान्छे, दुहुनो गाईको परिकल्पना गर्नु नै किसानमुखी अर्थनीति हो। अहिले हलो नभई ट्याक्टर जोत्ने प्रचलन छ। जुन वीपीले २००७ सालमा कृषिमा सुधार ल्याएर गरिवी निवारण गर्न सकिने कुरा बताएका थिए। उनले २०१७ सालमा कृषिमा आधारित औधोगिक विकासको आवश्यकता ठाने।’ त्यतीबेलाका सोच अहिलेसम्म सान्दर्भिक छ। जुन कालान्तरसम्म रहिरहनेछ। अहिले १ लाख ८० हजार हेक्टर कृषि योग्य जमिन बर्षेनी घटिरहेको छ भन्दै कृषिमा रुपान्तरण गर्न जरुरी रहेको उनको भनाई छ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका डा पोखरेलले नजिकिदै गरेको स्थानीय निर्वाचनमा सृजनशीलता, उद्यमशीलता, दुरदृष्ट्रि र सबैलाई समेट्न सक्ने नेतृत्व छनौट गर्न सुझाव दिए।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति राजु थापा, बाग्लुङका महासमिति सदस्य एवं प्रशिक्षक डिल्लीराम सुवेदी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, जिल्ला उपसभापति केदार काफले, पुतलीबजार नगर सभापति सुरजकुमार अधिकारी र सचिव महादेव श्रेष्ठलगायतले आउँदो स्थानीय निर्वाचनमा जिल्लाका ९७ वडा, ११ पालिकामा नेपाली कांग्रेसलाई विजयी गराउनेगरी काम गर्ने प्रतिवद्धता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस !