नवदुर्गा भवानीको पूजा गरी मनाइयो चैतेदशैँ

नवदुर्गा भवानीको पूजा गरी मनाइयो चैतेदशैँ

काठमाडौं : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैतेदशैँ पर्व शनिबार नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन्।

चैतेदशैँका अवसरमा शनिबार बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको थियो। मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठा–मीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैतेदशैँ पर्व मनाएका छन्।

बडादशैँजस्तै चैतेदशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो। बडादशैँमा जस्तै चैतेदशैँमा पनि परिवारका सदस्यबीच जमघट हुनेगर्छ।

यस अवसरमा उपत्यकाका गुह्येश्वरी, जयबागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठमा चैतेदशैँका अवसरमा विशेषपूजा गरिएको छ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, उग्रतारा, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन्।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ। यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ। बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ। यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ।

चैतेदशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन। हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ। चैतेदशैँमा अष्टमी र नवमीलाई विशेषरूपमा मनाउने गरिन्छ। अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई रामनवमी पर्वका रूपमा मनाइन्छ।

हनुमानढोकामा दिइयो बलि 

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैतेदशैँका दिन पनि बलिसहित पूजा गर्ने गरिएको छ। हनुमानढोकाको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। यसैगरी दशैँ घरमा नौवटा बोकाको बलिसहित पूजा गरिएको उनले बताए।

चैत्र शुक्ल प्रतिपदादेखि नै हनुमानढोकास्थित दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ गरिएको छ। चैतेदशैँमा भने यो क्रम चैत्र शुक्ल अष्टमीकै दिन समापन गर्ने परम्परा रहेको छ। विसं २०६३ सम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको हनुमानढोकाको दशैँघर त्यसपछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.