राजविराजलाई मेयर कप
विराटनगर : प्रथम टीट्वेन्टी मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि राजविराज नगरपालिकाले जितेको छ। विराटनगर महानगरपालिका–१९ स्थित वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा जनकपुर उपमहानगरपालिकालाई १० रनले निराश बनाउँदै राजविराजले उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ९७ रनको योगफल बनाएको थियो। राजविराजका विवेक यादवले २१ र पूर्व अन्तर्राष्ट्रिय खेलाडी मेहबुब आलमले १४ रन बनाए। जनकपुरका साइमन रोयले तीन विकेट लिए। उनले चार ओभर बलिङ गर्दै नौ रन मात्रै खर्चिए।
जवाफी ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ८७ रनमै समेटियो। जनकपुरका विशाल सुसबैनले सर्वाधिक ३३ रन बनाए। राजविराजका विकास दास र विवेक यादवले सटिक बलिङ गर्दै जनकपुरलाई धराशयी बनाएका थिए। विकासले चार ओभरमा २२ खर्चिएर तीन विकेट लिए। यस्तै विवेकले चार ओभरमा १६ खर्चेर दुई विकेट हात पारे। विवेक प्लेयर अफ दी म्याच घोषित भए।
राजविराजले उपाधिसँगै एक लाख रूपैयाँ नगद पुरस्कार पायो। उपविजेतामा खुम्चिएको जनकपुरले ५१ हजार रुपैयाँमै चित्त बुझायो। प्रतियोगितामा राजविराजका विकास दास उत्कृष्ट ब्याट्सम्यान, राजविराजकै अनिल यादव उत्कृष्ट बलर र जनकपुरका हरिशंकर साह प्लेयर अफ दी सिरिज घोषित भए।
विराटनगर महानगरपालिकाको आयोजना र होराइजन क्रिकेट क्लबको संयोजनमा गत २२ गतेदेखि प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा प्रदेश १ का विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका, मेची नगरपालिका र मधेस प्रदेशका वीरगञ्ज महानगरपालिका, जनकपुर उपमहानगरपालिका एवं राजविराज नगरपालिका गरेर ६ वटा टोलीले सहभागिता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस !