गठबन्धनका लागि केन्द्रको मुख ताकेर नबस्न बाबुरामको आग्रह
गोरखा : स्थानीय तहको निर्वाचनका लागि केन्द्रको मुख ताकेर नबस्न जसपा नेता बाबुराम भट्टराईले आग्रह गरेका छन्। मंगलबार गोरखाका पत्रकारहरुसितको भेटमा उनले ६ वटा महानगर र ११ वटा उपमहानगरको हकमा केन्द्रले टुंग्याउने नगर र गाउँपालिकाको गठबन्धन स्थानीय आवश्यकता र औचित्य हेरी जिल्लाले टुंग्याउने भन्ने सैद्धान्तिक सहमति भएकाले केन्द्रको मुख नताक्ने उनले सुझाव दिए।
‘केन्द्रको किन मुख ताक्ने भन्या ?’ उनले भने, ‘आफ्नो तयारी जतिसके छिटो गर्नुपर्छ। स्थानीय तह विकास निर्माणसँग बढी जोडिएको हुन्छ। त्यसैले गठबन्धन गर्नैपर्छ भन्ने पनि छैन। आवश्यकता र औचित्यता हेरेर वडावडामा पनि त गर्न सकिन्छ। सके सबै मिलौँ, नसके कुनै दुई वा तीन दलमात्र मिल्दा फाइदा हुन्छ भने त्यत्ति मिल्दा पनि भइहाल्छ। सत्ता गठबन्धनका दलभन्दा बाहिर जानु पो भएन। गयो भने राजनीतिक नैतिकता रहन्न। गर्नै हुन्न भन्ने चाहिँ होइन, तर नैतिक रुपले राम्रो हुदैन।’
जसपाले आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्न मंगलबार गोरखा आएका उनले निर्वाचन सार्न ठूला दलले कुनै षड्यन्त्र नगरेको प्रष्ट पारे। ‘नत्र म यहाँ किन आउथेँ ?’, उनले भने, ‘राजनीतिक होइन, बरु संवैधानिक समस्याचाहिँ छ। मुद्दा परेको छ। अदालतले नै रोक्यो भने त हाम्रो के लाग्छ र। नत्र सबै अघि बढिसक्यो। चुनाव हुन्छ, कुनै द्विविधामा पर्नु जरुरी छैन।’
महानगरपालिकाको गठबन्धन गर्ने विषय मिलेको राम्रो सन्देश जाने भन्दै उनले नमिले पनि केही फरक नपर्ने उनको भनाइ छ। ‘महानगरको गठबन्धन मिल्न सकेको भए उपमहानगर, नगर र गाउँपालिकामा पनि सकारात्मक सन्देश जान्थ्यो, गठबन्धन गर्न पनि सजिलो हुन्थ्यो’, उनले भने, ‘भए ठिकै हुन्छ। भएनछ भने पनि ठिकै छ। नगर र गाउँपालिकामा स्थानीय आवश्यकता र औचित्यको आधारमा गठबन्धन दलभित्रै जो जससित मिल्न सक्छ, उसैसित मिलेर जाँदा हुन्छ।’
प्रतिक्रिया दिनुहोस !