मेरो रिसिइबीले तीनवर्षसम्म गोरखामा ठूला योजना पारिएन : डाक्टर भट्टराई
गोरखा : जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले तीन वर्ष नेकपाको सरकार हुँदा गोरखामा एउटा पनि नयाँ योजना नदिइएको बताए। नेकपाको सरकारले आफ्नो रिसले गोरखामा ठूला योजना नदिएको आरोप उनले लगाए।
‘नेकपाको सरकार हुँदा तीन वर्ष जुन बजेट पेश भयो गोरखामा एउटा पनि ठूला योजना परेनन्’, मंगलबार जसपाद्वारा आयोजित चुनावी सभामा बोल्दै उनले भने ‘बरु उल्टै प्रस्ताव गरी पठाएको बजेट काटिएको छ।’ आफ्नो रिसिबीले नेकपाको सरकारले योजना काटेको उनको आरोप थियो। ‘बाबुराम भट्टराईको रिसले त्यसो गरिएको हो।
मैले पेश गरेको प्रस्ताव मन्त्रालयका सचिवहरुले अघि बढाएको छु भन्छन्, तर प्रधानमन्त्रीकहाँ पुगेर त्यो काटिन्छ’, उनले भने, ‘बिगत तीन वर्षको रातो किताब हेर्ने हो भने त्यो पुष्टि हुन्छ। मैले सुरु गरेको बूढीगण्डकी आयोजना, बारपाक सडक, बेनिघाट आरुघाट लार्के सडक, पन्थडिही कटहरे हर्मी सडक सबै अलपत्र पारियो।’ आफू अर्थमन्त्री, प्रधानमन्त्री हुँदा गोरखाको पूर्वाधार विकासको काम प्रसस्त अघि बढाएको तर त्यसलाई पनि पछिका सरकारले निरन्तरता नदिइएको उनले बताए।
अहिलेको मिश्रित निर्वाचन प्रणालीबाट स्थायी सरकार बनाउन गाह्रो भएको भन्दै उनले पूर्ण समानुपातिक र प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजानुपर्ने बताए।
डाक्टर भट्टराईले बैशाख ३० मै चुनाव गर्न राजनीतिक समस्या केही नभएको बताएका छन्। ‘कानुनी ढंगले अवरोध भयो भने के लाग्यो र ? राजनीतिक रुपमा संशय छैन’, उनले थपे।
सत्ता गठबन्धन भन्दा बाहिर चुनावी तालमेल गर्नु राजनीतिक नैतिकताले नदिने बताउँदै भट्टराईले स्थानीय तहमा जिल्ला र प्रदेशले समझदारी बनाउने बताए। सत्ता गठबन्धनका दलहरु बीच महानगर र उपमहानगरको भागवण्डा करिब टुङ्गिएको बताउँदै उनले पोखरा महानगर एकीकृत समाजवादीलाई दिँदा कांग्रेसका कार्यकर्ताले बिरोध गरेकाले सोको अन्तिम निर्णय आउन बाँकी रहेको बताए।
काठमाण्डौं महानगरपालिका, ललितपुर, बिराटनगर कांग्रेसले लिने, बिरगंज जसपाले लिने, माओवादीले भरतपुर र एकीकृत समाजवादीले पोखरा लिने गरी सहमति भएको उनले बताए। उप महानगरपालिका पनि सोही अनुसार सहमतिमा टुङ्गिने उनले बताए। ‘गठबन्धनका दलहरु स्थानीय निर्वाचनमा सँगै जाँदा राम्रो हुन्छ’ उनले भने। गठबन्धन भित्र जो–जो मिल्न सक्छ उनीहरु सँगै जाने उनले बताए।
प्रतिक्रिया दिनुहोस !